कमाण्डरलाई सूझाव
सम्पादकीय
दलहरु विरुद्ध जनमत बढिरहेको बेला पुराना पार्टी कांग्रेस, एमाले नै सत्ताको नेतृत्व गरिरहेका छन् । यसअघिको निर्वाचनमा अनपेक्षित परिणाम पनि आएकै हो । एमाले र कांग्रेसले ख्याल–ख्यालमा आफ्नो जनमत गुमाए । निर्वाचनका बेला पार्टी विरुद्ध जनमत पनि विपक्षमा उत्रिएको थियो । तर, जनमत बमोजिमको परिणाम प्राप्त हुन सकेन । अहिले पनि ठुलो दलको रुपमा कांग्रेस, एमाले नै रहेका छन् । सत्ताको नेतृत्व, देशको नेतृत्व उनीहरुकै हातमा छ । तर, अबको निर्वाचनमा कांग्रेस, एमालेको शक्ति के हुन्छ ? बढ्छ कि घट्छ ? यसको मुल्याङकन गर्न दलहरुले अर्को निर्वाचनसम्म पर्खनै पर्छ ।
दलहरुप्रति नागरिक दिक्क भए जस्तो अभिव्यक्ति आइरहन्छ । दलभन्दा पनि स्वतन्त्र किसिमको नेतृत्व नै ठिक हुन्छ कि भन्ने नागरिकको मनसाय प्रकट भइरहेको छ । तर, झापामा एमालेको पालिका अधिवेशनमा देखिएको उत्साहले नागरिकको विश्वास र अपेक्षा अलग देखियो । नेतृत्वका लागि भएको तीब्र प्रतिष्पर्धाले दलहरुप्रतिको विश्वास कम नभएको बुझ्न सकिन्छ । स्वतन्त्रप्रति आशा गर्नेहरु भनेको दलहरुमा निराश भएकाहरु नै हुन् । विगतमा उनीहरुले व्यक्त गर्ने विचार बिस्तारै बदलिन थालेको छ । हिजो स्वतन्त्र ठिक भन्नेहरु विचार बिहीन, लक्ष्य र उद्देश्यविहीन रहेछ भन्दै स्पष्ट बनाइरहेका छन् । यसको अर्थ, दलप्रति पूर्वाग्रह राख्नेलाई अपेक्षाकृत काम गरेर देखाउन अनिवार्य छ ।
झापाको स्थानीय तहमा एमालेले अधिवेशन सम्पन्न गरेको छ । सबै पालिकाको नेतृत्व गर्ने कमाण्डहरु तयार भएका छन् । अब, उनीहरुको जिम्मेवारी भनेको एमाले बनाउने मात्र होइन । दलहरुप्रति गुम्दै गएको विश्वासलाई फिर्ता ल्याउने पनि हो । दलहरुप्रति नागरिक निराश हुनुको कारण ठिक ढंगले जिम्मेवारी पुरा नगरेरै हो । यदि दलहरुले गुट उपगुट, समूह र सत्ताको मात्रै लढाई छोड्ने हो भने स्वतः जिम्मेवारी पुरा गर्ने ठाउँमा आइपुगिन्छ । यसैले दल भनेको नेता बन्ने ठाउँ मात्र होइन, यसले आम नागरिकको सेवा गर्ने हो, सहजीकरण गर्ने हो । आशा र संभावनाका ढोकाहरु खोल्ने हो । यसैले एमाले मात्र होइन, सबै दलका कमाण्डरहरुले नागरिकलाई भुल्याउनेहरुभन्दा राम्रो काम गरेर देखाउन सक्नुपर्छ ।