असार ७, २०८२ शनिबार

शिवसताक्षी ६ मा सार्वजनिक सुनुवाई

शिवगञ्ज । शिवसताक्षी नगरपालिका वडा नं. ६ ले सेवा प्रवाह, विकास निर्माण र वडामा संचालन भएका योजना तथा कार्यक्रमको प्रभावकारिताका विषयमा सार्वजनिक सुनवाई गरेकोे छ ।

चालु आर्थिक वर्ष ०८०-०८१ मा सम्पादन भएका विकास निर्माणको प्रभावकारीता, सेवा प्रवाहको गुनासो वा सन्तुष्टि लगायतका विषयमा गुनासो सुनुवाई गर्ने उदेश्यले वडाले आफ्नै कार्यालय परिषरमा सार्वजनिक सुनवाई कार्यक्रम बुधबार आयोजना गरेको हो । सो कार्यक्रममा २१७ जना वडाबासीको सहभागिता थियो ।

वर्षभरी गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चित गर्नका लागि वडाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले वडाबासी, जनप्रतिनिधि र वडाका कर्मचारीबिच यस्तो कार्यक्रमले सम्बन्ध सुमधुर हुने बताए । ‘वडाले संचालन गरेका हरेक योजना वडाबासीले जानकारी पाउनु उहाँहरुको अधिकार हो । उहाँहरुको अधिकारलाई यो कार्यक्रम आयोजना गरेर वडा स्वयमले सुरक्षित गरिदिएको हो, उनले भने ।

वडाबाट चालु आवमा संचालन भएका योजना र कार्यक्रमको प्रतिवेदन पनि वडा अध्यक्ष खुलालले सार्वजनिक गरेका थिए । उनले चालु खर्च तर्फको आर्थिक विकास तर्फ ७५ हजार, सामाजिक विकास तर्फ १३ लाख २५ हजार, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्रमा २ लाख, कार्यालय संचालन तथा प्रशासनिक तर्फ १ लाखको योजना तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

यस्तै पूँजीगत खर्च तर्फ आर्थिक विकास २ लाख २५ हजार, सामाजिक विकास तर्फ २ लाख २५ हजार र पूर्वाधार बिकास तर्फ ३८ लाख ५० को योजना र कार्यक्रमका बारेमा सहभागिलाई अवगत गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा कार्यक्रम अवधि भर बसेर जनताका सुझाव, गुनासो र नगर तथा वडाका सवल पक्षका बारेमा जानकारी लिएका थिए । उनले यस्तो कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीलाई थप जिम्मेवारी बनाउने बताए ।
नगर प्रमुख थोप्राले बजार अनुगमन, शिक्षामा भएका बेथिती, किसानका समस्या, स्वास्थ्य बीमा कार्यक्रममा सेवाग्राहीले पाउने औषधी लगायतका विषयमा यो कार्यक्रमबाट नगरको ध्यानाकर्षण भएको बताए ।

कार्यक्रममा सेवाग्राहीले राखेको गुनासो वा सुझावको नगर प्रमुख मेगाहाङ थोप्रा (रोसन), वडा अध्यक्ष मनोज खुलाल कार्की, प्रशासन शाखा प्रमुख डिल्ली नेपाल, कृषि शाखा प्रमुख रबिन भट्टराई, सहकारी शाखा प्रमुख बद्री दाहाल, जनआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद अधिकारी, राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख घनश्याम निरौला, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर रोक्का, प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज शिवलाल सिंह राजबंशी, दुधे आयुर्वेद औषधालयका प्रमुख कविराज राजेन्द्र प्रसाद पोख्रेल लगायतले जवाफ दिएका थिए ।

सताक्षी मिडिया प्रालिको सहकार्य रहेको सो कार्यक्रमको सहजीकरण पत्रकार विनोद सापकोटाले गरेका थिए । यसैविच सो वडा कार्यालयका निवर्तमान वडा सचिव बिमल बाँस्कोटालाई दोसल्ला, सम्मानपत्र र अविर द्धारा सम्मान गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर वडा कार्यलयमा वहाल रहँदा स्तर वृद्धि भई नगरमा राजश्व शाखा प्रमुखको रुपमा पदस्थापन भएका बास्कोटालाई नगर प्रमुख थोप्रा, वडा अध्यक्ष खुलाल, उपप्रमुख नरमाया कार्की लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा वडा सदस्य गोमा रिजालले स्वागत मन्तव्य राखेकी थिइन् ।

सताक्षी मिडियाले १ सय वडाबासीको नागरिक अभिमत संकलन गरेको थियो । सो अभिमतको परिणाम अनुसार ८२ प्रतिशत वडाबासी वडाले संचालन गरेका बिकास निर्माण, सेवा प्रवाह र संचालन भएका कार्यक्रम प्रति खुसी व्यक्त गरेका थिए । यस्तै, वडा सदस्य गंगा ताजपुरियाले वडाका नागरिकलाई छिटो र सहि सूचना प्रवाह गर्ने जनप्रतिनिधिमध्ये पहिलो हुँदै ३२ प्रतिशत मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]