‘आयआर्जन हुने सीपमूलक तालिममा युवालाई जोड्दैछौं’
जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि वडा विकासको लागि पर्याप्त काम गरेको बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माले बताएका छन् । उनले विशेष गरी भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको बताए छन् । सडक निमार्ण, ड्रेन निमार्णदेखि जनताको जीवनस्तर उठाउन विपन्न वर्गलाई समेटेर काम गरिरहेको अध्यक्ष शर्माको भनाई छ । समाज विकासमा महत्वपूर्ण भूमिका शिक्षाको हुने भएकाले शिक्षाको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको धारणा छ ।
विर्तामोड नगरपालिका स्थापना भएको सात वर्ष हुुँदैछ । यो सात वर्षको समयावधीलाई हेर्ने हो भने धेरै कामहरु भएका छन् । तर, बिर्तामोडको तुलना देशका ठूला सहर, महानगरहरुसँग गरेर गर्ने गरिन्छ । त्यसरी तुलना गरियो भने काम नभए जस्तो लाग्न सक्छ । यहाँको स्रोत साधन अनुसार काम नभएको भन्न मिल्दैन । सडकको स्तरोन्नति, कालोपत्रे तथा पेवर्स लगाउने कामहरु भएका छन् । यसका साथै पोल लाइटहरुको व्यवस्थापन, सीपमूलक तालिमहरु सञ्चालनका काम भएका छन् ।
यस्तै, पछिल्लो समय बिर्तामोड नगरपालिकामा लागुऔषध दुव्र्यसनीको बिकराल रुप लिएको छ । यसको न्यूनीकरण गर्न तथा यसलाई अन्त्य गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् । यसैगरी स्वास्थ्यको क्षेत्रमा पनि विविध कामहरु भइरहेका छन् । विभिन्न प्रकारको खोप लगाउनेदेखि लिएर व्यवस्थित नगर अस्पताल व्यवस्थापनसम्मको काम भएको छ । यस्तै क्षयरोग र हात्तीपाइले रोगहरु घरघर गएर खोजी गर्ने काम र उपचारको अभियान निरन्तर रुपमा सञ्चालन गरिरहेको अवस्था छ ।
हाम्रो कार्यकालमा सडक निमार्णको क्षेत्रमा थुप्रै कामहरु भएका छन् । तर महत्वपूर्ण सडकहरुको रुपमा बिर्तामोडको पश्चिम स्टेण्डदेखि नेकपा एमालेको पार्टी कार्यालय हुँदै भद्रपुर रोड जोड्ने सडक कालोपत्रे भएको छ । यस्तै वडा कार्यालय अगाडिको सडकमा पेबर्स, पुरानो भद्रपुर रोडको स्तरोन्नति लगायतको काम भएका छन् । यसैगरी वडा गौरवको कामको रुपमा यसै वर्ष हिमशिखर टोलदेखि पश्चिम अदुवा खोला हुँदै बिर्तामोड ३ को सीमानासम्म नाला तथा प्लम बनिरहेको छ । यस्तै अन्नपूर्ण चौकको सडक, दार्जिलिङ मःम अगाडिको सडक, चैनपुरे होटल अगाडिको सडकहरु निमार्ण भइसकेका छन् ।
अब बन्न बाँकी सडकहरु मध्ये अति महत्वपूर्ण सडक हर्कलाल मार्ग हो । यो मार्गलाई वैकल्पिक मार्गको रुपमा पनि प्रयोग गर्न सकिन्छ । त्यसैले हाम्रो वडाको लागि यो सडक महत्वपूर्ण रहेको छ । यस सडकले बिर्तामोडको ३, ४, ५, ६, ७, र ९ नम्बर गरी कूल छ वटा वडालाई प्रत्यक्ष आवातजावतमा सहज बनाउछ । त्यसैले यो सडक निमार्णका निम्ति हामीले प्रदेश सरकार र संघीय सरकारमा पहल पनि गरिरहेका छौँ । पछिल्लो समय पनि प्रदेश सरकारमा गएर हर्कलाल रोड निर्माणको लागि निवेदन पेश गरेर आएका छौँ । आउँदो आर्थिक वर्षमा यो सडक बन्नेमा आश्वासन पनि प्राप्त भएको छ ।
यस्तै, बिर्तामोड ४ मा बनाउनुपर्ने अन्य सडकहरु पनि धेरै रहेका छन् । हालसम्म चौकमा मात्र सडक निमार्ण भइरहेको छ । भित्री–भित्री भागमा पनि काम गर्न जरुरी छ । तोकेरै भन्न पर्दा कालिकानगर टोल, शिवनगर टोल, सयपत्री टोल, पुरानो विजुली अफिस टोल, नयाँ वाडी, सूर्यनारायण टोल, आनन्दगञ्ज टोल लगायत टोलहरुमा काम गर्न बाँकी छ । तर, आगामी दिनहरुमा यि टोलहरुलाई प्राथमिकतामा राखेर कामहरु गर्ने प्रतिवद्धता गर्दछु ।
मलाई आफ्नै घर जाने सडक (कृष्ण हल जाने बाटो ) पनि बनाउन नसकेको आरोप छ । म यस आरोपलाई स्वीकार गर्छु । त्यो बाटो नबनेको पनि होइन । चार–पाँच वर्ष अगाडि त्यो बाटो ८० लाख रुपैयाँ बजेट लगानीमा बनेको थियो । तर, कामको गुणस्तर भन्दा पनि बाटो साँगुरो राम्रोसँग घाम नलाग्ने र पानी जम्ने समस्याले गर्दा बाटो अलिक छिटै भत्कियो । त्यसलाई पुनः निमार्ण गर्नका लागि हामीले मर्मत संभार कोषबाट त्यहाँ ठेक्का लगाएर सम्झौता भइसकेको छ । केही दिनमै त्यो सडक पुनः कालोपत्रे हुने कुरा म जानकारी गराउन चाहन्छु ।
साथै शनिश्चरे रोडबाट अतिथिसदन छिर्ने बाटो पनि यसै वर्ष मर्मत संभार हुँदै छ । यि कामहरु बर्खा सकिने बित्तिकै सुरु गरिनेछ ।
बिर्तामोड ४ खेलकुद अगाडि बढिरहेका छ । लागुऔषधको दुव्र्यसनमा फस्दै गरेका युवाहरुलाई सुधार्ने काम गरिरहेका छौँ । वार्षिक रुपमा आवश्यकता अनुसार साङ्गीतिक तथा खेलकुदका कार्यक्रमहरु गरिरहेका छौं । युवाहरुलाई सीपमूलक तालिमको व्यवस्था मिलाइएका छौं । अहिले ५० जना जतिलाई हामीले कुकको तालिम दिरहेका छौँ । हामी युवाहरुलाई आयआर्जनमा जोड्ने गरिका सीपमूलक तालिम प्रदान गर्ने कुरामा गम्भीर भएर लागेका छौं । युवाहरुलाई आर्थिक रुपमा सबल बनाउन सकियो भने मात्रै भोलिको दिनमा हाम्रो वडा, नगर र समग्र देश नै सबल बन्न सक्छ भन्ने हाम्रो बुझाई छ ।
बिर्तामोड ४ बजार क्षेत्र हो । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरुको आवतजावत हुने गर्छ । जसले गर्दा पनि यहाँ लागुऔषध दुव्र्यसनी बिकराल बन्दै गइरहेको छ । लागुऔषध दुव्र्यसनमै लागेका युवाले वडा भित्र एक जना वृद्धाको हत्या समेत गरेका छन् । लागुऔषध दुव्र्यसनीको न्यूनीकरण गर्न जनप्रतिनिधि र प्रहरी प्रशासनले मात्र काम गरेर पार लाग्ने स्थिति छैन । अविभावकहरुले पनि आफ्ना छोराछोरीको निगरानी गर्न जरुरी छ ।
आगामी तीन वर्षमा चुनाव ताका गरेको प्रतिबद्धता पुरा गर्दै जानुछ । मुलुक कै आर्थिकस्थिति बिकराल बनेको हुनाले केही हदसम्म विकास निर्माणमा समस्या भयो । तर, पनि आर्थिक स्थिति सुध्रेर काम गर्न सकिन्छ भन्ने आशा राखेका छौँ ।
हाम्रो कार्यकाल सकिँदै गर्दा हामी अदुवा खोलालाई व्यवस्थापन गर्न चहान्छौँ । यस्तै बिर्तामोड ४ लाई केही हरियाली वडाको रुपमा पनि विकास गर्ने सपना छ । यसैगरी प्रत्येक टोलमा पोललाइट जडान गरेर उज्यालो वडा बनाउने योजना छ । काम गर्न बजेटको चुनौती छ । सबै वडावासीलाई सकरात्मक सोच राखिदिन आग्रह गर्दछु ।