अर्जुनधारामा हर्षोल्लासका साथ मनाईयो उभौली पर्व
इन्द्रकुमार राई
शनिश्चरे । किराँतीहरुको महान चाड उभौली पर्व (धिरीनाम-लाकछाम) अर्जुनधारा नगरपालिका –९ स्थित नमूना सामुदायिक वन क्षेत्रभित्र रहेको साकेला थान परिसरमा हर्षोल्लासका साथ मनाइएको छ ।
येले सम्वत ५०८४ को अवसर पारेर किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिको आयोजनामा आज भव्यताका साथ महोत्सव मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं किराँत राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष युवराज राईले वाण प्रहार गरेर महोत्सवको उद्घाटन गरेका हुन् ।
यायोक्खा नगर समितिका अध्यक्ष बिजय साम्पाङ राईको सभापतित्व तथा सचिव सिंहबहादुर चाम्लिङ राईले संचालन गरेको कार्यक्रममा यायोक्खाका कलाकारहरुले लोपोन्मुख सरसामानसहित जातीय पहिरनमा सजिएर सोई ढोले, सोई, अर्को ढोले खाई ? भन्दै मनोरञ्जनात्मक नृत्य प्रदर्शन गरेका थिए । नृत्य प्रदर्शनीमा झापा जिल्ला भरिका किराँत राई यायोक्खा प्रारम्भिक समितिका २२ वटा नृत्य टोलीको सहभागिता रहेको सहसचिव प्रेमबहादुर चाम्लिङ राईले जानकारी दिए ।
महोत्सव सुरु हुनुभन्दा अघि साकेला थानमा नोछुङ (धामी) ले राई मुन्धुम अनुसार कुखुराको भाले काटेर बलि चढाएका थिए । सोही अवसरमा प्रमुख अतिथि युवराजले स्व. बाजे लक्ष्मीप्रसाद थुलुङ राई, बोजु रनमाया थुलुङ राई, मावली स्व. कोपा सहरमान चाम्लिङ राई, माइती कुमारी चाम्लिङ राईको स्मृतिमा अर्जुनधारा नगरपालिका– ८ निवासी वर्तमान थुलुङ राई र कुसुम थुलुङ राईद्वारा पाँच लाख रुपैयाँ लागतमा मुन्धुम पार्कभित्र सुनिम्मा–पारुहाङको नव निर्मित अर्धकद प्रतिमाको अनावरण गरेका थिए ।
यसअघि सो पार्कभित्र खुवालुङ साल्पा पोखरी, तीन ढुङ्गाको चुल्हो निर्माण गरिसकेको बताइएको छ । किराँत राई यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राई, सहसचिव चिजा राई, अर्जुनधारा नगरपालिकाको पूर्व प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, यायोक्खा जिल्ला सदस्य क्याप्टेन शिवकुमार राई, शनिश्चरे प्रहरी चौकीका प्रमुख नर बहादुर खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा यायोक्खा नगर समितिका वरिष्ठ उपाध्यक्ष भूपा राईले स्वागत मन्तव्य राखेकी थिइन् ।