बैशाख २०, २०८२ शनिबार

बजेट तर्जुमाका लागि पालिकाको ध्यानाकर्षण

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सोमवार बाह्रदशी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । सहभागितामुलक बजेट तर्जुमाका लागि राष्ट्रिय युवा संघले झापाका स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुझाइरहेको छ ।

यसअघि शिवसताक्षी, गौरादह, गौरीगञ्ज, झापा गाउँपालिका, हल्दिवारी, अर्जुनधारा, बुद्धशान्ति गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाइएको राष्ट्रिय युवा संघका झापा जिल्ला इञ्चार्ज राज आङदेम्बेले जानकारी दिए । उनका अनुसार बाँकी स्थानीय तहहरुमा पनि धमाधम ध्यानकर्षण बुुझाईनेछ ।

संगठनले सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खवरदारी अभियान –२०८१ को घोषणा गरेको थियो । असार २५ गतेसम्म अभियान सञ्चालन गर्ने बताइएको छ ।

बजेट नीति तथा कार्यक्रम पारित नहुञ्जेल अभियान सञ्चालन गरिने इञ्चार्ज आङदेम्बेको भनाई छ । ‘युवाहरुको अगुवाईमा स्थानीय लोकतन्त्रलाई बलियो बनाई आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्ति बनाउने’ अभियानको लक्ष्य रहेको बताउँदै उनले स्थानीय तहहरुले बजेट, नीति तथा कार्यक्रम निर्माण प्रक्रिया विधि अनुसार गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा संघले विधि अनुसार काम गर्न खवरदारीको लागि ध्यानाकर्षणसहित विविध कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । उनले स्थानीय तहहरुलाई बजेट, नीति तथा कार्यक्रम निर्माणमा युवाहरुको सहभागिता हुनुपर्ने बताएका छन् ।

स्थानीय तहको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रकृयाको बारेमा सचेतना फैलाउदैं बजेट तर्जुमाका प्रत्येक चरणहरुको कार्यान्वयन गर्नका लागि स्थानीय तहहरुलाई खवरदारी गरिएको हो । सहभागितामुलक विधिबाट नीति, कार्यकम र बजेट तर्जुमा गर्न स्थानीय तहहरुलाई सचेत गराउने, स्थानीय तहको सर्वाङ्गिण विकासको बारेमा छलफल संचालन गर्ने, युवाहरुको नेतृत्व विकास गर्ने, युवामैत्री बजेट तर्जुमाका लागि स्थानीय तहमा दबाब सृजना गर्ने, स्थानीय लोकतन्त्रलाई बलियो बनाउने, विधिको शासनको परिपालना गर्ने–गराउने प्रणालीको विकास गर्ने अभियानको उद्देश्य रहेको छ ।

स्थानीय सरकारको बजेट, नीति तथा कार्यक्रम निर्माण स्थानीय स्तरमा सल्लाह सूझाव संकलन गरेर गर्न पालिकाहरुलाई आग्रह गरिएको छ । अभियानका क्रममा बजेट तर्जुमा सम्बन्धी तालिम सञ्चालन गर्ने, स्थानीय तहको ध्यानाकर्षण गराउने, पालिका स्तरीय अभिमुखिकरण गोष्ठी आयोजना गरी कार्ययोजना तयारी, योजना तर्जुमा लागि वडा–वडामा ध्यानाकर्षण गराउने, स्थानीय पार्टी नेतृत्वसँग समन्वय गरी पालिकाको विकासका लागि नीति तथा कार्यक्रमको मस्यौदा तयार गर्ने, मस्यौदामाथि सरोकारवालासँग छलफल गरी पालिकामा पेश गर्ने, नीति तथा कार्यक्रम बमोजिम योजना तथा कार्यक्रमहरु तयारी गर्ने र पालिका, वडा कमिटीमा मार्फत योजना तर्जुमा गोष्ठीमा पेश गर्ने, माग भएका आयोजना तथा कार्यक्रमहरुको प्राथमिकिकरण गरी बजेट तर्जुमा गरे, नगरेको सूचना संकलन गरी खवरदारी गर्ने तयारी छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]