खेलाडी प्रोत्साहनका लागि मिस्टर झापा बडी बिल्डिङ प्रतियोगिता हुँदै
बिर्तामोड । झापामा मिस्टर झापा बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । फस्ट स्टेप फिटनेशनको आयोजनामा झापामा १७ वर्षपछि आगामी असोज १९ गते मिस्टर झापा हुने भएको हो ।
आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी बारे जानकारी दिइएको छ । आयोजक समितिका अध्यक्ष सुवास मेचेले झापामा रहेका शारीरिक सुगठनका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
“१७ वर्ष पहिला मैले ट्रफी उचालेयता मिस्टर झापा भएको छैन”, उहाँले भन्नुभयो, “जिल्लामा रहेका खेलाडीलाई केही मात्रा भए पनि प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागेका छौं ।” विभिन्न पाँच वटा तौल समूहमा हुने प्रतिस्पर्धाबाट मिस्टर झापा छनोट गरिने छ ।
प्रतियोगितामा प्रथमलाई मिस्टर झापाको उपाधिसहित एक लाख ५१ हजार दोस्रो हुनेलाई एक लाख एक हजार पुरस्कार प्रदान गरिनेछ । बेस्ट पोजर, बेस्ट मस्कुलर लगायतका विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १५ लाख खर्च हुने आयोजकको अनुमान छ । आयोजक समितिका सचिव माधव झाले सहजीकरण गरेको कार्यक्रममा मिसन विर्तामोडको सहकार्य रहेको छ ।