पर्यावरण संरक्षणको अपील गर्दै झापा आइपुगे विश्व पैदलयात्री रोहन
बिर्तामोड । भारत महाराष्ट्र नागपुरका २२ वर्षीय रोहन अग्र्रवाल नेपालको ७३ जिल्ला पैदल यात्रा गरेर झापा आइपुगेका छन् । झापापछि इलाम, पाँचथर, ताप्लेजुङ हुँदै पाथीभरा मन्दिरको दर्शन गर्न जाने बताए ।
पर्यावरण जोगाउन अपिल गर्दै विश्व पैदलयात्रामा निस्किएका अग्रवालले बिर्तामोडका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु भेटेका छन् । शुक्रवार बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रेस चौतारी झापाको कार्यालय, नेकपा एमाले जिल्ला पार्टी कार्यालय पुगेर पर्यावर संरक्षणका लागि अपील गरेका हुन् ।
बोतलमा पानी नपिउने, टिस्यू पेपर प्रयोग नगर्ने र कम कपडाको प्रयोग गर्ने गरेको जानकारी दिदै उनले पर्यावरण संरक्षणका लागि सबैले चासो दिनुपर्ने बताए । उनले पर्यावरण संरक्षण नगर्दा मानव जीवनका मात्र नभई जीवजन्तु, कृषि उत्पादन लगायतको क्षेत्रमा अप्ठ्यारो परिस्थिति निर्माण भएको बताए ।
प्लाष्टिक नियन्त्रण गरेर पनि पर्यावरणमा ठुलो सहयोग गर्न सकिने उनको भनाई छ । सो सन्देश प्रवाह गर्दै ९ वर्षभित्र विश्व पैदलयात्रा पुरा गर्ने अग्रवालले जानकारी दिए । उनले ४ वर्षमा बंगलादेश, भारतका २९ प्रान्त र नेपालको ७३ जिल्लाको यात्रा पुरा गरिसकेका छन् । अब ५ वर्षभित्र अन्य राष्ट्रको यात्रा पुरा गर्ने बताए ।
२५ अगष्ट २०२० मा भारतको बनारसबाट विश्व भ्रमणको पदयात्रामा निस्किएका रोहनले हालसम्म २२ हजार किलोमिटर पैदलयात्रा गरिसकेका छन् । पाथीभरा दर्शनपछि उनी कम्वोडिया, म्यानमार, मंगोलिया हुँदै रुस जाने बताए । बताइएको छ । विश्वकै चिसो ठाउँमध्येको रुसको साइवेरियास्थित ओम्याकोन समेत हिँडेरै पुग्ने उनको लक्ष्य छ । जहाँको औषत तापक्रम माइनस ५५ डिग्री सेल्सियस रहेको छ ।