बजारिकरणमा शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने
शिवसताक्षी नगरपालिकाले महिलाहरुलाई विभिन्न समूह निर्माण गरेर सीपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ । महिला तथा बालबालिका विकास शाखाले सिलाईबुनाई, साबुन, हार्पिक, फिनेल बनाउने तालिम, ढाका बुन्ने तालिम, व्यूटिसियन सम्बन्धी तालिम, माला बनाउने बनाउने जस्ता तालिमहरु सञ्चालन गरिरहेको छ । सहायक महिला विकास अधिकृत देवकुमारी पराजुलीले तालिम सञ्चालन पछि उद्यमशील बनाउने र उत्पादित बस्तुको बजारिकरणमा सहयोग गर्ने योजना रहेको बताइन् ।
२५ लाख बजेटमा महिला तथा बालिबालिका विकास शाखाले वडाहरुबाट कार्यक्रम माग गरेर विभिन्न सीप मुलक तालिमहरु सञ्चालन गरेको थियो । कतिपय तालिमहरु सञ्चालन भइरहेका छन् भने कतिपय तालिमहरु सम्पन्न भइसकेको छ । असार ३ गतेबाट शिवगञ्जमा डिकटको माला बनाउने तीन दिवसीय तालिम सञ्चालन भइरहेको छ ।
शाखाले वडा नं. १ मा १ लाख ७० हजारको लागतमा डाइपर बनाउने तालिम सञ्चालन गरेको थियो । उक्त तालिमले महिलाहरुलाई डाइपर बनाउन दक्ष बनाएको पराजुलीको भनाई छ । यस्तै, २ नं. वडामा ढाका बुन्ने तालिम सञ्चालन गरिएको थियो । त्यसमा ९ जनाले सहभागिता जनाएका थिए । वडा नं. २, ९ र ११ मा साबुन, हार्पिक र फिनेल बनाउने तालिम सञ्चालन गरिएको थियो । उक्त तालिमको सहजीकरण सवल नेपालले गरेको बताइएको छ ।
त्यस्तै, वडा नं. ४, ८,६ र १० मा सिलाई बुनाई तालिम सञ्चालन गरिएको थियो । वडा नं. १० मा एड्भान्स तालिम सञ्चालन भइरहेको जानकारी दिइन् । वडा नं. ५ मा व्यूटिसियन तालिम सञ्चालन भइरहेको छ ।
महिला तथा बालिबालिका विकास शाखाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानसँगै कार्यक्रमहरु सुरु गरिएको पराजुलीले जानकारी दिइन् । शाखाले नारी दिवस पनि भव्यताका साथ मनाएको थियो ।
सबै सञ्चालित तालिमहरुलाई प्रभावकारी बनाउन ध्यान दिएको पराजुलीको भनाई छ । उनले आयआर्जनमुलक सीप सिक्नेहरुलाई उद्यममा जोडिदै उत्पादनमा जोड दिन आग्रह गरिएको छ । उनले तालिम पश्चात उत्पादनमा जोडिने महिलाहरुलाई बजारिकरणमा सहयोग गरिने जानकारी दिइन् । तालिम दिने र त्यसपछि छोडिदिने भन्ने छैन । नगरले लगानी गरेको ठाउँमा निगरानी र निरन्तरता दिदैं जाने महिला तथा बालिबालिका विकास शाखाको योजना छ ।