बैशाख २६, २०८२ शुक्रबार

अनेरास्ववियुको कोशी प्रदेशस्तरीय प्रचार भेला सुरु

बिर्तामोड । झापाको बिर्तामोडमा अनेरास्ववियुको प्रचार भेला सुरु भएको छ । दुई दिनसम्म चल्ने प्रचार भेलामा प्रदेशका सबै जिल्लाहरुबाट अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको छ ।

अनेरास्ववियुले कोशी प्रदेशबाट सुरु गरेको प्रचार यात्रालाई सातै प्रदेशमा सञ्चालन गरिने बताइएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीले आयोजना गरेको प्रचार भेलामा विद्यार्थीहरुलाई पछिल्लो समय विकास भएका सूचना प्रविधिका बारेमा सहजीकरण गरिने छ । डिजिटल माध्यमहरुबाट प्रचारलाई व्यवस्थित र रचनात्मक बनाउन सहभागी विद्यार्थीहरुलाई सहजीकरण गरिने कोशी प्रदेशका प्रचार विभाग प्रमुख नारायण पोखरेलले जानकारी दिए ।

भेलाको उद्घाटन सत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् जनसंगठन विभाग प्रमख भानुभक्त ढकालले रचनात्मक कार्यक्रमको माध्यमबाट नयाँ नेपाल निर्माणमा अनेरास्ववियुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले विद्यार्थीहरुलाई क्षमतावान मान्छेहरु राजनीतिमा आउनुपर्ने बताए । क्षमतावान मान्छेहरु राजनीतिमा आएन भने क्षमता नभएका मान्छेहरु राजनीतिमा आउनेछन्, प्रमुख वक्ता समेत रहेका ढकालले भने – विद्यार्थीहरु अनेरास्ववियुको माध्यमबाट देश निर्माण गर्न सक्छु, नयाँ नेपाल निर्माणमा भिजनसहित काम गर्न सक्छु भन्ने अठोटका साथ राजनीतिमा आउन जरुरी छ ।

उनले युवा तथा विद्यार्थी पुस्ता अनिवार्य रुपमा अनेरास्ववियुमा आवद्ध हुन आवश्यक रहेको बताए । असल मान्छे बन्नका लागि अनेरास्ववियुमा जोडिन जरुरी रहेको उनको भनाई छ । अनेरास्ववियुमा जोडिएपछि घर, परिवार समाजले अनुभूति गर्छ, किनभने अनेरास्ववियुका विद्यार्थीहरु अनुशासित, लगनशिल, जिम्मेवार हुन्छन् – उनले थपे ।
एमाले नेता ढकालले प्रचार भेलामा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । उनले राष्ट्र निर्माणका लागि रचनात्मक प्रचारको माध्यमबाट समाजमा योगदान गर्न सकिने बताए ।

यस्तै, कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराईले पार्टीको पक्षमा बोलेर, लेखेर प्रचार गर्दै बलियो पार्टी निर्माणमा जुट्न आव्हान गरेका छन् । उनले बलियो पार्टी निर्माण नगरेसम्म देश नबन्ने भन्दै एमालेलाई बलियो पार्टी बनाउने गरि लाग्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । विरोधीहरुबाट डराउन जरुरी नरहेको भन्दै उनले भने – ठिक ढंगलाई काम गर्दै जानुपर्छ, सबै विरोधीहरु आफै ठिक लाग्ने छन् । उनले मिसन ८४ सफल बनाए, देश सफल हुने उनको भनाई थियो । त्यसका लागि एमालेलाई बहुमत दिन अनिवार्य भएको बताए ।
नेता भट्टराईले इलामको उपनिर्वाचनको उदाहरण दिदैं भने,– प्रचारलाई रचनात्मक बनाउन सकियो भने परिणाम पनि पक्षमा पार्न सकिन्छ । यो प्रचार र सञ्चारको जमाना भएको भन्दै उनले रचनात्मक सामग्रीबाट जनता समक्ष सहि विचार पुराउन सकिने र हजारौं मत पक्षमा पार्न सकिने बताएका हुन् ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ल, दिपक कार्की, जिल्ला पार्टी अध्यक्ष प्रेम गिरी, अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्ली, पार्टीका जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रचार विभाग प्रमुख आर विक्रम ओखेडाले प्रचार भेलामा विद्यार्थीहरुलाई दुई दिनसम्म विभिन्न विषयहरुमा सहजीकरण गरिने जानकारी दिए । उनका अनुसार समाचार, भिडियो, फोटो समाचार र कार्यक्रमको समाचार लेखन सम्बन्धी विषयमा सुसन धमलाले सहजीकरण गर्ने छन् । यस्तै, प्रचार यात्राका बारेमा प्रचार विभाग प्रमख ओखेडा, ग्राफिक्स डिजाइनका बारेमा अमिर श्रेष्ठ र ह्याजट्याग मोमेन्ट विषय सहजीकरण मनिष प्याकुरेलले गर्ने बताइएको छ ।

प्रकाशित मिति : असार ६, २०८१ बुधबार  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]