बैशाख २०, २०८२ शनिबार

करोडौं बिगारेर बिर्तामोड दुई ठुला ब्यापारी बेपत्ता

प्रदीप परियार

झापा – झापा बिर्तामोडका दुई जना ठुला व्यवसायीले करोडौँ रकम बिगारेर भागेका छन् । भद्रपुर रोडमा ग्लोवल बुक्स एण्ड स्टेशनरी सञ्चालन गर्दै आएका नरेश शर्मा र हेयर एण्ड डर्मा केयर (कपाल उमार्ने) अस्पतालका सञ्चालक मनोराम चिमरिया आफूहरुको रकम अपचलन गरेर भागेको पीडितहरुले जानकारी दिए ।

उनीहरु दुवैलाई दर्जनौँ व्यक्ति र वित्तीय संस्थाको करोडौं रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । शर्माले व्यवसायीकै करोडौैं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने चिमरियाले धेरैजसो मिटरव्याज र वित्तीय संस्थाहरुबाट करोडौं रकम लिएको बुझिएको छ ।

शर्मा भारतको राजस्थानतिर भागेको शंका गरिएको छ भने चिमरिया बारे जानकारी पाउन नसकेको पीडितहरुको भनाइ छ । आर्थिक कारोवार बिग्रिएपछि उनीहरु सम्पर्क बिहीन छन् ।

ग्लोबलका सञ्चालक शर्मा १ महिनादेखि सम्पर्कबिहीन छन् । उनले व्यवसायीहरुको ३ करोडभन्दा बढी रकम तिर्नुपर्ने पीडितमध्येका एकले बताए । व्यवहार बिग्रिएपछि शर्मा परिवारसहित भारत लागेको बुझिएको छ । उनले सञ्चालन गर्दै आएको ग्लोबल बुक्स प्रगति पुस्तक भण्डारले खरिद गरिसकेको छ । प्रगति पुस्तक भण्डार सञ्चालक गोमा भट्टराईले आफूहरुले घरधनीसँग पसल खरिद गरेको जानकारी दिइन् । नरेश शर्मा बारे थाहा नभएको भन्दै उनले भनिन्, हामीले घरधनीसँग पसल खरिद गरेका हौं । अरु विषय थाहा छैन । केही वर्षदेखि शर्माले उनीहरुलाई पसल खरिद गर्न समेत आग्रह गर्दै आएका थिए ।

१ महिनादेखि सम्पर्कमा नरहेका ग्लोबलका सञ्चालक शर्माले डेढ वर्षदेखि घर भाडा नतिरेको बुझिएको छ । उनले घरधनीलाई भाडा नतिरी छोडेर हिँडेपछि घरधनीले पसल बिक्री गरेको जानकारी दिए । घरधनी हरि पोखरेलले नरेशको भाइ सुशीलले आफूलाई चाबी बुझाए बताए । पोखरेलका अनुसार भाडा नतिरी सम्पर्कबिहीन भएपछि प्रगतिलाई घर भाडामा लगाएको हो । सम्पर्कमा नआएको १५ दिनपछि पसल प्रगतिलाई जिम्मा लगाएको उनले स्वीकार गरे ।
ग्लोबल बुक्सका सञ्चालक सम्पर्कबिहीन भएपछि झापा, विराटनगर र काठमाडौँका दर्जनौँ व्यवसायीहरुको करोडौँ रुपैयाँ डुबेको छ । विराटनगरस्थित हिमाल पेपरका मार्केटिङ म्यानेजर विष्णुकान्त महतोले कम्पनीको साढे १२ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिए । विराटनगरका दर्जनौं व्यवसायीबाट ठुलो परिमाणमा स्नेशनरी उठाउनेमध्येका शर्मा झापाका स्थापित स्टेशनरी व्यवसायी थिए ।

बालाजी पेपर प्रोडक्ट विराटनगरको १७ लाख हाराहारी तिर्न बाँकी रहेको बताइएको छ । कोशी प्रदेशको हिमाल पेपर, बालाजी, ओम कपि उद्योग, पुजा स्टेशनरीसहित बिर्तामोड र काठमाडौंका धेरै व्यवसायीको भुक्तानी नगरी शर्मा बेपत्ता भएका छन् । बालाजीका सञ्चालक पंकज दुगडले व्यवसायीहरुको बाँकी रकम उठाउनका लागि संघमा पनि कुरा उठाइएको जानकारी दिए । उपचारका लागि भनेर भारत गएका शर्मा यतिबेला कसैसँग सम्पर्कमा नरहेको बुझिएको छ । बिर्तामोडका स्थानीय व्यवसायीहरुले मात्रै ३० लाख बराबरको भुक्तानी पाउन बाँकी रहेको बताइरहेका छन् ।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले ग्लोबलका सञ्चालक शर्माको खोजीका लागि व्यवसायीहरुले आग्रह गरेको बताएका छन् । सम्पर्कमा आएका पीडित व्यवसायीहरुको ५० लाखभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी देखिएको जानकारी दिए । उनका अनुसार व्यवहार बिग्रिएको थाहा पाएपछि बेलैमा ध्यान नदिँदा व्यवसायीहरुको लाखौं रुपैयाँ डुबेको छ । ‘अहिले पसल खरिद गर्नेले समन्वय गर्नुपर्थ्यो’, न्यौपानले भने, ‘खरिद गर्नेले कारोबारको बारेमा चासो दिएका थिए भने अन्य व्यवसायीहरुको लगानी डुब्ने थिएन ।’

स्टेशनरी व्यवसायी शर्माले बिर्तामोडका दर्जनाँै सहकारीमा समेत बिना धितो कर्जा लिएको जानकारी प्राप्त भएको छ । अधिकांश सहकारीहरुबाट २-३ लाखका दरले रकम लिएको बुझिएको छ । बिर्तामोड-४ मा रहेको उदयशील महिला बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख २० हजार, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट पनि २ लाख रुपैयाँ कर्जा लिएको सूचना प्राप्त भएको छ । यसरी नै अन्य सहकारीहरुबाट पनि कर्जा लिएको बुझिएको छ । शर्मा बिर्तामोडका पुराना स्टेशनरी व्यवसायी हुन् ।

अर्का व्यवसायी कनकाई-८ घैलाडुब्बा घर भई बिर्तामोड बस्दै आएका ३८ वर्षीय मनोराम चिमरिया विभिन्न व्यक्तिको घर जग्गा, सरसापट गरेर ७ करोडभन्दा धेरै रकम लिएर बेपत्ता भएको पीडितहरुको भनाइ छ । ६०/६५ जनासँग कारोवार गरेका चिमरियाले मिटरव्याजदेखि कम्पनीमा शेयर दिने भन्दै विभिन्न व्यक्तिको घरजग्गा धितोमा राखेर करोडौं कर्जा लिएको पीडितहरुको भनाइ छ । कम्पनीमा शेयर दिन्छु भन्दै प्रलोभन देखाएर उनले रकम उठाउने गरेका थिए । एक पीडित भन्छन् – ‘हाम्रो घर १ करोड ५ लाखमा धितो राखेको छ । कर्जा लिने मान्छे भागेपछि घर नै लिलामी हुने अवस्था छ ।’

प्रकाशित मिति : असार ९, २०८१ शनिबार  ५ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]