बैशाख २०, २०८२ शनिबार

शिवसताक्षी माछामासु र दूधमा आत्मनिर्भर

शिवसताक्षी – झापाको शिवसताक्षी नगरपालिका माछामासु र दूधमा आत्मनिर्भर बनेको छ । गत वर्षदेखि माछामासु र दूधमा आत्मनिर्भर भएको पशु सेवा शाखा प्रमुख राम अवतार यादवले जानकारी दिए । उनका अनुसार दूध र माछा अन्यत्र निर्यात भइरहेको छ ।

जिल्लाको मध्यभागमा रहेको शिवसताक्षीमा पशुपालक किसानलाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्दै पशुपालनको क्षेत्रको विकासमा सहयोग गर्दै आएको यादवको भनाई छ । उनले स्थानीय सरकारको सहयोग र किसानको मेहनतले शिवसताक्षी आत्मनिर्भ बन्न सफल भएको जानकारी दिए ।

पशु सेवा शाखाले बजेट अनुसार किसानलाई सहयोग गर्दै आएको बताइएको छ । शिवसताक्षीमा पशु शाखाले पशु उपचार सेवा, कुकुर बन्ध्याकरण, ५ हजार गाई–भैंसीको कृतिम गर्भाधान, १५ हजार वटा पशुलाई उपचार सेवा प्रदान गरिएको छ । शाखाले किसानलाई घाँसको बीउँदेखि सेवा केन्द्र नभएका ठाउँहरुमा पशु स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । वडा नंं ३, ७,१० र ११ मा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको शाखा प्रमुख यादवको भनाई छ ।

पशु पालनको क्षेत्रमा किसानलाई आकर्षण गराउन अनुदान लगायतका सहयोग पनि दिने गरिएको छ । नगरको सहयोगमा १५ सय लिटरको चिलिङभ्याट समेत स्थापनाको तयारी गरिएको छ । यस्तै, मासु व्यवसायीको लागि मासु पसल सुधार कार्यक्रम सञ्चालन गरिएको छ । मासु पसललाई व्यवस्थित र सरसफाईयुक्त बनाउनका लागि सुधार कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । मासु पसल सुधार कार्यक्रममा व्यवस्थित रुपमा सटरभित्र सञ्चालन गर्नुपर्ने, काट्ने सामग्री मापदण्ड बमोजिम राख्नुपर्ने हुन्छ । व्यवसायीलाई नगरको तर्फबाट भुत्ल्याउने मेसिन अनुदानमा उपलब्ध गराउने गरिएको छ ।

यस्तै, शाखाले व्यवसायिक पशु पालनका लागि प्रत्येक वडामा १ दिवसीय तालिम समेत सञ्चालन गरिएको छ । २ वटा वडाबाहेक सबै वडाहरुमा उक्त तालिम सञ्चालन भइसकेका छन् ।

नगरले शिविरमा उपचार सेवा,खोप सेवा, बन्ध्याकरण, कृतिम गर्भाधान लगायतका सेवाहरु एकै ठाउँबाट प्रदान गर्दै आएको छ । त्यसबाट पशुपालक किसान उल्लेख्य मात्रामा लाभान्वित भएका छन् ।

यता, शाखाले नयाँ पोखरी खन्ने र पुरानोलाई मर्मत गर्न पनि सहयोग गर्दै आएको प्रमुख यादवको भनाई छ । शिवसताक्षीमा वडा नं. २,३,४,५,६ र ७ मा किसानले माछा पालन गरिरहेका छन् । दैनिक ३ क्विन्टल माछा धरान निर्यात भइरहेको शाखाले जनाएको छ । उनका अनुसार मासुका लागि बंगुर र खसी बाहिरबाट आयात गर्नुपदैन । दूध पनि दैनिक १० हजार लिटर निर्यात भइरहेको छ ।

पशु शाखाले भारतबाट आयात हुने फर्मालिनयुक्त माछाको पूर्ण प्रतिवन्ध गर्नुपर्ने बोर्डमा प्रस्ताव गरिसकेको छ । बोर्डबाट पारित भएपछि शिवसताक्षीमा मरेका फर्मालिनुक्त माछा आयात गर्न पाइने छैन ।
शाखाले अर्को महत्वपूर्ण काम भनेको घरघरमा पशुलाई खोप सेवा प्रदान गर्दै आएको शाखा प्रमुख यादवले जानकारी दिएका छन् । उनले पशुपालक किसानलाई सुविधा दिनका लागि खवर आउने वित्तिकै उपस्थित भएर खोप सेवा प्रदान गर्ने गरिएको छ ।

शिवसताक्षी नगरपालिकामा पशुपालनको क्षेत्रमा बजारकै समस्या भइरहेको छ । नगरभित्र उत्पादित माछामासु र दूधले बजार पाउन नसक्दा किसानले उचित मूल्य नपाएको शाखा प्रमुख यादव बताउँछन् । उनले नीतिगत रुपमै बजारको व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उत्पादनका हिसावले हामी ठिक ठाउँमाा आइसकेका छौं, उनले भने – अब हामीलाई बजारको खाँचो छ ।

प्रकाशित मिति : असार ९, २०८१ शनिबार  ११ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]