मेचीनगरको बजेट दुई अर्ब पाँच करोडको सार्वजनिक
झापा । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ का लागि २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको वार्षिक बजेट ल्याएको छ ।
नगरपालिकाको सोमवार आयोजित दोस्रो नगरसभाको पाँचौ अधिवेशनमा उपप्रमुख मीना उप्रेतीले अहिलेसम्मकै ठूलो आकारको बजेट सार्वजनिक गरेकी हुन् ।
जसमा चालू खर्चतर्फ ७३ करोड ९६ लाख ९४ हजार रुपैयाँ, पूँजीगत खर्चतर्फ एक अर्ब ३१ करोड ७ लाख ८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
आयतर्फ आन्तरिक आम्दानी १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरणतर्फ २४ करोड ९५ हजार रुपैयाँ, सशत्र्र चालू अनुदानतर्फ ४७ करोड २८ लाख रुपैयाँ, सशर्त पूँजीगत अनुदानतर्फ ७५ करोड ५६ लाख रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ५० लाख रुपैयाँ र राजश्व बाँडफाँटतर्फ १७ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको बजेटमा उल्लेख छ ।
यसैगरी, आयतर्फको कोशी प्रदेश सरकारको वित्तीय समानिकरण तर्फ १ करोड ६३ लाख रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ८१ लाख ४४ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ र राजश्व बाँडफाँडतर्फ १ करोड ७० लाख रुपैयाँ, समपूरक अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ, मालपोत घर रजिस्ट्रेसनबाट ११ करोड रुपैयाँ प्राप्त हुने बजेटमा जनाइएको छ ।
कूल बजेटमध्ये चालू खर्चमा ३६.०३ प्रतिशत, पूँजीगत खर्चमा ६३.८५ प्रतिशत र वित्तीय व्यवस्थानमा ०.१२ प्रतिशत बजेट बिनियोजन गरिएको पाइएको छ ।