बैशाख २०, २०८२ शनिबार

रामकुमारीले गाईको कानमा पहेंलो ट्याग देखेपछि…

विनोद सापकोटा

झापा । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ठग बस्तीकी रामकुमारी राजवंशीलाई आफ्नै गोठमा बाँधेको गाईको बीमा गरेको थाहा थिएन ।
वडा अध्यक्ष मनोज खुलाल कार्की लगायतको पशुप्राविधिक र बीमा कम्पनीको प्रतिनिधि उनी घरमा नभएको बेला गत वर्षको असारमा गाईको बीमा गरिदिएका रहेछन् । ‘घरमा आएर घाँस हाल्न जाँदा गाईको कानमा पहेलो ट्याग लगाईएको रहेछ,’ उनले भनिन्, ‘छिमेकीलाई सोधे मेरो गाइको कानमा कसले ‘टप’ लगाईदियो ? छिमेकीले उनलाई ‘वडा अध्यक्ष लगायतको टोली आएर गाईको बीमा गरिदिनु भयो,’ भने ।

रामकुमारीलाई बीमा भनेको के हो थाहै थिएन । उनले केही रेकर्डका लागि चिन्ह लगाएर गएको होला भन्ने ठानिन् । गएको कात्र्तिकमा बीमा अर्थात कानमा ट्याग लगाईएको गाई मर्यो । महिनाको ६ हजार कमाई दिने गोठको गाई मरेपछि रामकुमारीको गाँउमा हल्ला खल्ला भयो । गाउँले भेला भए । गाईलाई पुर्न खाडल खनियो । मरेको गाईको अन्तिम संस्कार गर्न गाउँले तयार भए । यतिकैमा स्थानीय पशु प्राविधिक प्रेम पौडेल गाँउमा गाई मरेको हल्ला फैलिएपछि गाई मरेको घरमा पुगे । उनले मरेको गाईको बारेमा चाहेको जानकारी धनिसँग लिए ।

बीमा कम्पनीले गरेको उक्त गाईको कानको ट्याग उनैले लगाइदिएका थिए । रामकुमारीले भनिन् ‘यो त बीमा गरिएको गाई हो । यसको क्षतिपुर्ती अर्थात पैसा पाईन्छ ,’ भनेर मलाई प्रेम सरले भन्नुभयो । ‘उहाँले नै वडा अध्यक्षलाई फोनबाट जानकारी दिनुभयो । वडा अध्यक्ष आएपछि मरेको गाईको फोटो लगायत आवश्यक मुचुल्क उठाएर लैजानु भएको थियो । ‘फोटो खिचेर फेसबुकमा हाल्ने यस्तै प्रचार गर्ने होला भन्ने ठानेको थिए,’ रामकुमारीले भनिन् गएको माघ अन्तिममा ५० हजार घरैमा ल्याईदिनु भयो ।
पैसा थापेपछि ‘मरेको गाईको पनि पैसा पाईदो रहेछ भन्ने अनि थाहा पाए ।’ सरकारले दिएको रकमले फेरि गाई किन्ने उनले बताईन् । अब किनेको गाईको बीमा आफै गर्ने पनि उनले सुनाईन् । वडा अध्यक्ष खुलालका हरेक योजनाले आफु जस्तै विपन्न परिवारलाई छुने गरेको उनले बताएकी छन् । उनले भनिन् ‘ अरु धरै हल्ला गर्नुहुन्छ । हाम्रो वडा अध्यक्ष बिना हल्ला काम गर्नुहुन्छ । उहाँको योजना र कार्यक्रमले हामी जस्ता विपन्न परिवारलाई प्रत्यक्ष छोएको छ ।’

रामकुमारीले ३ वटा पशु पालेकी छन् । एउटाको वडाले बीमा गरेपनि बाँकी दुई वटा पशुको आफैले बीमा गरेको उनले बताइन् । रामकुमारी त वडाकी प्रतिनिधि पात्र मात्र हुन् । रामकुमारी जस्तै करिव २ सय घर परिवारले वडाबाट शुन्य लगानीमा पशु बीमा गरेका छन् । २०७६ साल देखी वडाले यो कार्यक्रम शुरु गरेको हो । पहिलो वर्ष पशु बीमाका लागि २ लाख र त्यसपछिका दुई वर्ष १ लाख ५० हजारका दरले वडामा यो कार्यक्रम संचालन भइरहेको छ ।

चालु आर्थिक वर्षमा पनि ७५ हजारको कार्यक्रम वडामा संचालनमा छ । गत वर्ष वडाले १ करोड ४७ लाख ५८ हजार बराबरको पशु बिमा गरेको थियो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार बीमा गरेका पशु मध्ये ८ वटा गाई मरेका थिए । किसानले ५० हजारसम्म बीमा दावी भुक्तानी पाएका थिए । ‘एनएलजी इन्स्योरेन्स’ कम्पनी विर्तामोडका बरिष्ट विकास अधिकारी लक्ष्मी नेपालका अनुसार गत वर्ष हामीले शिवसताक्षी ६ मा २५४ गाईको बीमा गरेका थियौं । ति मध्ये ८ वटा विभिन्न कारणले मरेका र तिनको मृत्यु दावी भुक्तानी किसानले पाएको बताए ।

आदिबासी जनजातीको बाहुल्यता रहेको मानव बस्तीमा बिमा कार्यक्रम निक्कै प्रभावकारी बनेको पशु प्राविकिध प्रेम पौडेलले बताए । उनका अनुसार वडाको यो कार्यक्रम नगरमै प्रभावकारी देखिएको छ । यो कार्यक्रम शुरु भएपछि वडाले ५ लाख ७५ हजारको विकास बजेटको व्ययभार व्यहोरे पनि हालसम्म ४८ घर परिवारले यसको प्रत्यक्ष फाइदा लिएका छन् ।

यस वर्ष मात्र हेमबहादुर थापा, टिकामाया राजबंशी, पिताम्बर दाहाल, मोहनलाल राजबंशी, हेमवहादुर थापा, राम प्रसाद पौडेल र केमलाल राजबंशीले र अनिरुद्र गुरागाँईले बीमाको रकम पाएका छन् । मरेका पशुको बीमा बरावरको रकम घरैमा ल्याएपछि सो वडामा पशु बीमा कार्यक्रम निक्कै प्रभावकारी हुन थालेको छ । किसानले आफै पनि पशुको बीमा गर्न थालेका छन् । बुधबार पनि वडाका विभिन्न टोलमा पुगेर वडा अध्यक्ष मनोज खुलाल कार्की र महिला वडा सदस्य गोमा रिजालले विपन्न किसानका गाईको बीमा गरिदिएका छन् । वडाले बीमा गरेपछि किसानले कुनैपनि शुल्क तिर्नु पर्दैन । यो कार्यक्रमबाट वडाका सयौ वडाबासी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

प्रकाशित मिति : असार १३, २०८१ बुधबार  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]