झापामा लागुऔषध कारोबारी तथा प्रयोगकर्ता ३५ प्रतिशतले बढ्यो
गगन ढकाल
झापा । जिल्ला प्रहरी कार्यालय झापाले प्रायः लागुऔषधको कारोबार गर्नेहरुलाई पक्राउ रहेको तथ्यांकहरु सार्वजनिक गर्ने गरेको छ । जिल्लाका सञ्चारमाध्यमहरुमा पनि सबैभन्दा धेरै ‘लागुऔषधसहित पक्राउ’ शीर्षकको समाचारले स्थान पाइरहेका हुन्छन् ।
पूर्व र दक्षिणको सीमा छिमेकी मुलुक भारतसँग जोडिएको कारण सीमावर्ती क्षेत्रमा लागुऔषध सहित पक्राउ पर्ने युवाहरुको तथ्यांक दिन प्रतिदिन बढिरहेको झापाका पालिका प्रमुुखहरुको भनाई छ ।
झापामा लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताहरु अघिल्लो आर्थिक वर्षमा भन्दा यो वर्ष करिब ३५ प्रतिशत वृद्धि भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९-८० मा झापामा दुई सय ८२ जना लागुऔषधका कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका थिए भने त्यो तथ्यांक आर्थिक वर्ष २०८०-०८१ मा तीन सय ७८ पुगेको छ ।
यस आर्थिक वर्षमा पक्राउ पर्ने कुल संख्यामध्ये दुई सय ४७ जना पुरुष रहेका छन् भने ३१ जना महिलाहरु रहेका छन् । झापामा यो चालू आर्थिक वर्षमा २ दशमलव ८६ केजी हिरोईन, २८ दशमलव ६१ केजी गाँजा, ८५ एम्पुल लुपिजेसिक, १ सय ८ एम्पुल डाईजापाम, ८५ एम्पुल फेनरागन, १५ चक्की नाइट्रोस, १ सय ९३ चक्की नाईट्राजेपाम, २ सय ९८ चक्की नाईट्राभेट, ५ सय ५० चक्की स्पास्पेन ट्याब, ६ एम्पुल लेभल नभएको, ६ एम्पुल एभिल, ६ बोतल कोडिन फोस्फेट, ८७० ग्राम मेन्थमफेटामिन र २१ चक्की स्पासमेपियोविन प्रहरीले बरामत गरेको छ ।
झापामा काँकरभिट्टा नाका र भद्रपुर नाकामा लागुऔषधको कारोबार धेरै रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्णबहादुर चन्दले बताएका छन् । जिल्लाका भित्री पालिकाहरुमध्ये बिर्तामोड नगरपालिका र दमक नगरपालिकामा लागुऔषधको प्रकोप धेरै रहेको उनको भनाई छ । उनी भन्छन्, ‘देशैभरीका तराई क्षेत्रका जिल्लाहरुमा लागुऔषध दुव्र्यसनीको तथ्यांक बढ्दो छ । यसको मुख्य कारण खुल्ला सीमा हो । छिमेकी मुलुक भारतमा लागुऔषध सहज उपलब्ध हुने र खुला सीमा भएको कारण नेपाल भित्राउन सजिलो हुने भएकाले प्रकोप बढेको हो ।’
लागुऔषध दुव्र्यसनीमा विशेषतः १८ वर्षदेखि २५ वर्ष बीचका युवाहरु धेरै फसेका छन् । प्रहरीले लागुऔषध दुव्र्यसन विरुद्धमा वडा–वडा पुगेर जनचेतना मूलक कार्यक्रमहरु गर्दै आएको डीएसपी चन्दले बताएका छन् । प्रहरीले आफ्नो ठाउँबाट लागुऔषध दुव्र्यसनी विरुद्ध सक्दो काम गरिरहेको भएता पनि समुदाय स्तरमा जनचेतनाको कमी भएकाले यो दिनप्रति दिन वृद्धि भइरहेको उनको बुझाई छ । उनी भन्छन्, ‘यो दुव्र्यसनीलाई रोक्ने उपाय भनेको मनोपरामर्श तथा जनचेतनामा वृद्धि हो । हामीले दुवै काम गरिरहेका छौं । तर, हामीले मात्र गरेको काम पर्याप्त छैन सबै समुदाय लागुऔषध दुव्र्यसन तथा बेचबिखन विरुद्ध लाग्न जरुरी छ ।’
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले भद्रपुर नगरपालिका लागुऔषध दुव्र्यसन तथा बेचबिखनको न्यूनीकरणका लागि योजना बनाएर अगाडि बढिरहेको बताएका छन् । उनले झापामा भारतसँग सीमा जोडिएका क्षेत्रमा यसको प्रकोप अत्याधिक धेरै रहेको बताए । उनी भन्छन्, ‘हामीले अघिल्लो वर्ष भद्रपुरमा २० वटा ब्लक बनाएर जनचेतनाको कार्यक्रम चलाएका थियौं । यसले समाजमा राम्रो प्रभाव पनि पारेको थियो । त्यसैले यस वर्ष विद्यालय स्तरमा विभिन्न सिनेमा तथा भिडियोहरु मार्फत लागुऔषधको प्रयोगले पर्ने नकरात्मक असरहरु बारे बालबालिकालाई सचेत गराउने योजना बनाएका छौं ।’
प्रमुख पोखरेलले भद्रपुरमा लागुऔषध दुव्र्यसन तथा बेचबिखन सम्बन्धी धेरै प्रकोप रहेको क्षेत्रहरुको पहिचान गरेर नगरपालिका आगुऔषधको प्रयोगकर्तासम्म पुगेर छलफल गरेको बताए । यसरी छलफलका क्रममा प्रयोग कर्ताहरुले छाड्ने इच्छा भए पनि छाड्न नसेको बताएको प्रमुखले दावी गरे ।
प्रयोगकर्ताहरुले नगरपालिकालाई लागुऔषध छाड्न ‘माइन्ड डाइभर्ट’ गराउने कार्यक्रम ल्याइदिन आग्रह गरेको समेत उनले बताए । नगर प्रमुख पोखरेलले लागुऔषध प्रयोगकर्ताहरुको मागलाई समेत ध्यानमा राखेर उनीहरुलाई पहिले छुटाउने साथै उनीहरुकै नेतृत्वमा क्लब बनाएर गाउँगाउँमा जनचेतना जगाउन लगाउने कार्यक्रम समेत ल्याउने बताए ।
भद्रपुर नगरपालिकाले लागुऔषधको प्रकोपलाई नियन्त्रण गर्न विद्यालयमा नै लागुऔषधले गर्ने असरहरुको जानकारी दिने किसिमको कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । भद्रपुर नगरपालिकाले आउँदो आर्थिक वर्षमा लागु औषध न्यूनिकरणका निम्ति करीव आठ लाख बजेट बिनियोजन गर्ने योजना बनाएको छ ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं लागुऔषध दुव्र्यसन तथा बेचबिखनको विषय राष्ट्रिय मुद्दा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘हामीले नगरपालिको तर्फबाट जनचेतना वृद्धि गराउने, शंका लागेको व्यक्तिलाई निगरानीमा राख्ने तथा यसको असरहरुबारे जानकारी दिने किसिमको कार्यक्रमहरु सबै क्षेत्रमा लगिरहेका छौं । तर पनि यसको प्रकोपमा भने कमी आएको देखिदैन । मादक पदार्थलाई व्यवस्थित गरेर बिक्रिवितरण गरिरहेको भारतमा नेपाली युवाहरुले सहजै लागुऔषध प्राप्त गरेको र नेपाल भित्राएको देख्दा यो राष्ट्रिय स्तरमा उठ्नुपर्ने विषय हो जस्तो लाग्छ ।’
बिर्तामोड जिल्लाकै प्रमुख केन्द्रको रुपमा बिकसित हुँदै गरेको शहर भएकाले भारतबाट लागुऔषध लिएर सेफ लेण्डिङ गर्न बिर्तामोड आउने गरेको प्रमुख प्रसाईंको बुझाई छ । समाजका सबै क्षेत्रका सरोकारवालाहरु यसका विरुद्ध लाग्न जरुरी रहेको प्रमुख प्रसाईंको भनाई छ । उनी भन्छिन्, ‘हाम्रो समाजका धेरै युवाहरुले लागुऔषधको कारण आफ्नो भविष्य बिगारिरहनु भएको छ । उहाँहरुको भविष्य बिग्रनबाट जोगाउनु हाम्रो कर्तव्य हो । यदि मानिसहरुको चेतना समृद्ध भएन भने सम्पूर्ण विकासहरु अर्थहीन हुन्छ । त्यसैले चेतनामा वृद्धि गरी यस्तो दुव्र्यसनमा फस्नबाट समाजलाई जोगाउन जरुरी छ ।’