कनकाई रोडको काम १० दिनभित्र सम्पन्न हुने
बिर्तामोड । बिर्तामोडस्थित कनकाई रोडको पेवर्स लगाउने काम अबको १० दिनभित्र सम्पन्न हुने भएको छ । निर्माण व्यवसायीहरुका अनुसार १० दिनभित्र काम सकिने भएको छ ।
सो सडकको बिर्तामोड नगर प्रमख पवित्रा महतारा प्रसाईले अनुगमन गर्नुभएको छ । ईलाम स्टेनदेखि सुव्वा चोकसम्मको सडक खण्डमा आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भईरहेकोले नगर प्रमुख प्रसाईले बिहीवार ईन्जिनियर सहितको टोली लिएर अनुगमन गर्नु भएको हो ।
वडा नम्बर ५ स्थित कनकाई रोडको अनुगमनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्ष रोहित प्रसाईलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो । आगामी १० दिनभित्रमा सम्पन्न गर्ने गरी २ खण्डमा काम धमाधम भईरहेको छ ।
ईलाम स्टेनदेखि नेपाल टेलिकमसम्मको १ सय ८५ मिटर कनकाई निर्माण सेवा र टेलिकम देखि सुव्वा चोकसम्म ४ सय ६ मिटर आचार्य निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ । सडकको ७ मिटर चौडाई छ । दुवै खण्डमा नाला निर्माण सकेर पेवर्स लगाउने काम सुरु भएकोले चाँडै काम सम्पन्न हुने वडाअध्यक्ष रोहित प्रसाईले बताउनु भयो ।
सघन शहरी तथा भवन निर्माण कार्यालय भद्रपुरबाट कनकाई निर्माण सेवाले ८० लाख र आचार्य निर्माण सेवाले १ करोड ५० लाख रुपैयाँमा कामको ठेक्का पाएका छन् ।