शिवसताक्षीको बजेट नीति तथा कार्यक्रम पारित
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आगामी वर्षका लागि १४ औं नगरसभाबाट प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । आज बसेको कार्यपालिकाको बैठकले आसार १० गते प्रस्तुत गरिएको बजेट नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।
शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमा तोकिएका समूहका व्यक्तिहरुको ३५ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम भने समावेश नगरिएको उपप्रमुख कार्कीले जानकारी दिइन् ।
जसमा आन्तरिक आम्दानी ५ करोड ८७ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त २ करोड, २७ लाख, संघीय सरकारबाट ७८ करोड ०६ लाख ११ हजार बजेट सार्वजनिक गरेको छ । त्यस्तै प्रदेश सरकारबाट समानिकरण १ करोड ११ लाख ३७ हजार, समपुरक अनुदान १ करोड ३० लाख, सशर्त अनुदान २ लाख ३३ लाख, सवारी साधान बाँडफाँडबाट १, करोड ३० लाख गरी ८६ करोड २६ लाख बराबरको बजेट रकम नगरसभाबाट सार्वजनिक गरिएको थियो ।
लामो छलफलका बीच कार्यापालिकाको बैठकबाट नीति तथा कार्यक्रम पारित गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । छलफलमा वडाध्यक्ष तथा सदस्यहरुले केही विषयहरु उठान गरेका थिए । हामीले सीमित श्रोत साधानबाट कार्य सम्पन्न गर्नुपर्ने भएकाले उठेका विषयहरु छलफलबाटै समावेश गर्ने गरी कार्यक्रम गर्ने नगरप्रमुख थोप्राले जानकारी दिए ।
विशेष गरी नगरको ठूला योजनाहरु रिङ्गरोड, रंगशाला, नगर स्तरीय अस्पताल लगायतका योजनाहरु सम्पन्न गर्नु पर्ने बाध्यता छ । शिवसताक्षीको शिवगञ्जमा निर्माण भएको नगर अस्पतालको निर्माण सकिएपछि भित्र आवश्यक पर्ने उपकरण लगायतका सामाग्री खरिदमा ठूलो रकम खर्चेर सञ्चालनमा ल्याउनु पर्ने छ । त्यसलाई आर्थिक श्रोतको पहिचान गरी आगामी आ.ब.मा नागरिकको सुविधाका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । केही प्रशासनिक रुपमै सुधार गर्नुपर्ने, नीतिहरु बनाउनु पर्ने लगायत विषयहरु छन् । हामीले सुधार गर्दै लैजानुपर्ने छ, उनले भने ।
छलफलमा बजेटको विषयमा उपप्रमुख नरमाया कार्की, प्रशासनिक समस्या र नीतिगत विषयमा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, नगरमा महालेखाको प्रतिवेदनमा आएको बेरुजुको विषयमा लेखा अधिकृत प्रकाश योङ्हाङ्गले जवाफ दिएका थिए ।
बैठकमा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले वडाको शिलिङ्ग बजेट बृद्धि गर्नु पर्ने, नगरले सामुदायिक विद्यालयहरुमा शिक्षामा नगरपालिकाले गरेको लगानीको आधारमा एसर्ईईको नजिता कम आएको, महिला कर्मचारीहरुलाई महिनावारी भएका बेला विदाको व्यवस्था गरिनुपर्ने, हात्ती आतंक व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने लगायतका १४ वटा प्रश्न तथा सुझाब पेश गरेका थिए ।
वडाध्यक्षहरुले नगरपालिकामा सेवाग्राही र वडासचिवहरुले रकम फरफारक गर्न आउँदा धेरै दिन धाउनुपर्ने बाध्यता रहेको गुनासो गरे । नगरमा रहेको सुकुम्बासी समस्या समाधानका लागि पहल तथा काम गर्नुपर्ने, केही कार्यक्रमहरु बजेट सक्न मात्र गरिने गरेको देखिएको छ । त्यस्ता कार्यक्रमहरु कटौति गर्नुपर्ने लगायतका समस्या तथा सुझाहरु पेश गरिएको र त्यसको विषयमा छलफल गरिएको थियो ।
बैठकमा वडा नं २ का वडाध्यक्ष भिम नेम्वाङ्ग, ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, ७ का वडाध्यक्ष भुवानी विक्रम चेच्जोङ्ग, वडा नं.९ का वडाध्यक्ष डिल्लीलाल फेम्बु, १० का वडाध्यक्ष हर्क सिगु लगायत वडा सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।