असार ४, २०८२ बुधबार

मनसुनजन्य विपद्‍बाट २५ दिनमा ४७ जनाको ज्यान गयो

बिर्तामोड । नेपालमा मनसुन भित्रिएको २५ दिनमा विपद्जन्य घटनामा परेर ४७ जनाको ज्यान गएको छ । विपद्जन्य घटनाबाट ८ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ । यस्तै २५ दिनमा ४६ वटा भौतिक संरचना बाढी र पहिरोका कारण ध्वस्त भएका छन् । यही अवधिमा २ सय ५९ वटा पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटना भएका छन् ।

जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले अबको तीन महिनाभित्र नेपालमा विपद्बाट ठूलो नोक्सानी हुने देखिएको बताए । नेपालमा गएको जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो ।

आउँदो आइतवारसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनुपर्ने जलवायु विज्ञ डा. उप्रेतीको सुझाव छ । उनले मनसुनको न्यून चापीय रेखा नेपालमा रहेकाले अब भारी वर्षा हुने बताए । उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र पालिकाले समयमा नै ध्यान दिनुपर्ने बताएका छन् ।

विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दा नै ठूलो क्षति भइसकेको भन्दै आउँदो तीन महिनामा हुने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने उल्लेख गरेका छन् । उनले समयमा नै सरकारले विशेष ध्यान दिन र सतर्कता अपनाउन नसके विपद्बाट ठूलो क्षति हुने निश्चित रहेको बताए ।

नदी किनारमा भएका बस्ती, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको उप्रेतीले बताए । उनले विपद्अघि नै सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयलाई सचेत गराउन आवश्यक रहेकोमा जोड दिए ।

विज्ञ उप्रेतीले पछिल्ला केही दिनयता पानी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताएका छन् । उनले एकै ठाउँमा मुसलधारे पानी पर्ने र नजिकै सुक्खाको अवस्था रहेको पनि उल्लेख गरे । निर्माण क्षेत्रले आउँदा दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीको भनाइ छ ।

प्रकाशित मिति : असार २२, २०८१ शुक्रबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]