हात्ती आगमनको सूचना दिने प्रविधि जडान
गगन ढकाल
बाहुनडाँगी । मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ साविकको बाहुण्डाँगी गाउँ बिकास समितिको भू–भाग हो । देशमै हात्ती प्रभावित क्षेत्रको रुपमा परिचित यस क्षेत्रमा तीन दशकको लामो मानव र हात्ती बीचको द्वन्द्व छ । हात्तीले यहाँको मानिसहरुलाई त्राही त्राहीको अवस्थामा पु¥याएको छ । यसैगरी यहाँका मानिसहरुले पनि हात्तीमाथि गरेको आक्रमणको थुप्रै किस्साहरु छन् ।
बाहुण्डाँगीमा २०३४ सालमा योसदा विकलाई हात्तीले मारेपछि यस क्षेत्रमा मानिस र हात्तीको सम्बन्ध कहिल्यै सुध्रन सकेको छैन । यहाँका मानिसले थुप्रै हात्तीलाई लडाए, ढुङ्गाले हाने, आगोले हाने, भालाले घोच्ने खालका कामहरु गरे । हात्तीले पनि अझ आक्रमक हुँदै धनजनमा थप क्षति पु¥याइरह्यो । बाहुण्डाँगीका किसानले हात्तीबाट बाली जोगाउन हात्तीलाई दुःख दिएका छन् भने हात्तीले आफ्नो पेट भर्न किसानलाई दुःख दिइरहेको छ ।
लामो समय मानिस र हात्तीको द्वन्द्वबाट यहाँको समस्या सुल्झिनुको साटो झन् भन्दा झन् बिकराल बन्दै गइरहेको छ । मेची नदीको किनारमा लगाएको इलेक्ट्रिक फेन्सिङले अब हात्तीलाई बाहुण्डाँगी पस्नबाट रोक्न सक्दैन । फेन्सिङको क्षमतामा ह्रास आउनु यसको एउटा कारण हो भने हात्ती प्राविधिक भएर करेन्ट नलाग्ने गरी तार नाँघ्नु अर्को कारण हो । बाहुण्डाँगी नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी इलेक्ट्रिक फेन्सिङ अर्थहीन रहेको बताउँछन् । उनी यसमा गरेको लगानीलाई बालुवामा पानी खनाए सरह ठान्दछन् ।
यसरी लामो समयदेखी मानव–हात्ती द्वन्द्वको केन्द्र बनेको बाहुण्डाँगी पछिल्लो समय मानव–हात्ती सह–अस्तित्वका निम्ति अग्रसर भएको छ । यसको सुरुवात गर्न बाहुण्डाँगीका केही अग्रज नागरिकहरुले वि.सं. २०७९ सालमा हात्तीमैत्री कृषि समूहको सुरुवात गरेका थिए । उनीहरुले हात्तीले नखाने बाली लगाएर कृषि उपज उत्पादनमा काम गरिरहेका छन् ।
यसैगरी यस ठाउँमा नेपाल र भारतका केही युवाहरु मिलेर ¥यापिड रेस्पोन्स टिम (आरआरटी) बनाएका छन् । उनीहरुले गाउँमा हात्ती आएको जानकारी दिने र हात्तीबाट मानवीय क्षति रोक्ने काम गरिरहेका छन् । पछिल्लो समय यस क्षेत्रमा हात्तीको कारण मानवीय क्षति पनि देखिएको छैन ।
यसरी हात्तीसँगको द्वन्द्वलाई सह–अस्तित्वमा रुपान्तरण गर्न शुक्रबार बाहुण्डाँगीमा हात्ती आएको सूचना दिने प्रविधि जडान गरिएको छ । प्रतिनिधि सभाका सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि देबराज घिमिरेले बाहुण्डाँगी बजारमा स्थापना गरिएको उक्त हात्ती आगमन सूचना प्रविधि केन्द्रको उद्घाटन गरेका छन् ।
बाहुनडाँगी बजार पूर्वको खाली रहेको छोटी भन्सारको भवनमा स्थापना गरिएको हात्ती आगमन सूचना प्रविधि केन्द्रमा जडान गरिएको साइरनका लागि लुना एप मार्फत साइरन बजाएर उद्घाटन गरेका हुन् । सभामुख घिमिरेले उक्त उद्घाटन कार्यक्रममा बोल्दै यस प्रविधिको प्रयोगले हात्तीका कारण हुने क्षतिमा न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरे । उनले यसरी प्रविधिको माध्यमबाट हात्ती आएको जानकारी पाउँदा मानिसहरुलाई सुरक्षित रहन समय मिल्ने र त्यसले मानवीय क्षति नहुने बताए । आजको युगमा प्रविधिको प्रयोग गर्नै पर्ने उनको भनाई रहेको थियो ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अध्यक्षता गरेका उक्त कार्यत्रममा विशिष्ट अतिथिको रुपमा संविधान सभा सदस्य रविन कोईरालाको उपस्थिति रहेको थियो भने अतिथिका रुपमा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेचीनगर पोलिटेक्निकका अध्यक्ष भिम खवास, मेचीनगरकी उपप्रमुख मिना उप्रती, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारी, उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने, संरक्षण विद् रमेश थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जडान गरिएको प्रविधिले काम गर्ने बिषयमा उज्यालो नेपाल बर्दियाका प्रमुख रमेश थापाले जानकारी गराएका थिए । थापाले मानव हात्ती द्वन्द नियन्त्रणका लागि नेपालमा नै पहिलो पटक बाहुण्डाँगीमा यो प्रविधि जडान गरिएको बताए । उनले यस प्रविधिले जिपिएसको माध्यमबाट हात्तीको जानकारी दिने बताए । यसलाई सञ्चालन गर्न लुना नामको एप जडान गर्नपर्ने हुन्छ । कसैले हात्ती आएको थाहा पाएमा घरमै बसेर उक्त एपको माध्यमबाट हात्ती आएको जानकारी दिन सक्नेछन् । यो एप सञ्चालन गर्न मानिसको सम्पूर्ण विवरण आवश्यक पर्ने हुँदा यसबाट आएको जानकारी त्रुटीरहीत हुने थापाको दावी रहेको छ ।
यस प्रविधि केन्द्र सञ्चालन गर्न बर्दियाको उज्यालो नेपाल नामक संस्थाले प्राविधिक सहयोग गरेको मेचीनगर वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।