कल्की २८९८ दर्शकको रोजाइमा पर्नुको पाँच कारण
एकराज प्रधान
वैजयन्ती मुभिजको ब्यानरमा बनेको साउथ इन्डियन फिल्म कल्की यो वर्षको सबैभन्दा धेरै बक्स अफिस कलेक्सन गर्ने सिनेमा बनेको छ । पहिलो हप्तामै विश्वभरबाट ७०० करोड ग्रस कलेक्सन गर्न यो फिल्म सफल भइसकेको भारतीय मिडियाहरुले बताइरहेका छन् । कल्कीलाई यति धेरै मनपराइनु र हेरिनुको पछाडि के छ त कारण ? दर्शक किन आकर्षित भइरहेका छन् ? धेरै कारणहरुमध्ये पाँच महत्वपूर्ण कारण रहेका छन् ।
१. फिल्मको स्टोरीलाइन
हिन्दु धर्मग्रन्थबाट प्रेरित हुँदै महाभारतको कुरुक्षेत्रबाट सुरु हुने यो फिल्मले कलियुगको अन्तिम रुप देखाउन खोजेको छ । महाभारत युद्धको अन्त्यमा अभिमन्यूकी पत्नी उत्तराको गर्भमा रहेको बच्चामाथि अस्वत्थामाले ब्रह्मास्त्र चलाउन पुग्छन् तर श्रीकृष्णले बचाउँछन् । अनि गर्भमा रहेको बच्चालाई ब्रह्मास्त्र चलाएको सजाय स्वरुप अस्वत्थमालाई दु:खको साक्षी बनेर मृत्युको लागि तड्पिन श्राप दिन्छन् । चाहेर पनि अस्वत्थामाले मृत्युवरण गर्न सक्दैनन् र कलियुगसम्मै अनेक दु:ख सहेर उनी बाँचिरहेको जनविश्वासमा यो फिल्म आधारित रहेको छ ।
फिल्ममा उनको शिरमा रहेको दिव्य मणि पनि खोसिन्छ । प्रायश्चितका लागि उनले कलियुगको अन्त्यमा श्रीकृष्णले कल्की अवतारको रुपमा पुनर्जन्म लिने र कल्कीकी आमाको रक्षा गरेपछि मात्र मुक्ति मिल्ने अस्वत्थामालाई बताउँछन् । यसरी फिल्ममा महाभारतको अन्त्यबाट कथा सुरु हुन्छ ।
कलियुगको अन्त्यमा मानिस कुन हदसम्म पुग्छन्, संसार कस्तो अवस्थामा पुग्छ भन्ने कुराको इमाजिनेसन नै फिल्मको बलियो पक्ष मान्न सकिन्छ ।
२. अमिताभको अस्वत्थामा अवतार
अस्वत्थमाको रुपमा अमिताभ बच्चनलाई दमदार रुपमा प्रस्तुत गरिनु फिल्मको अर्को मुख्य आकर्षण हो । उमेरले उनी ८१ लागिसके । तर, यो उमेरमा पनि यत्तिको दमदार एक्सन र अभिनयलाई दर्शकले सम्मान दिएका छन् । एउटा लिजेन्ड कलाकार अनि अस्वत्थामा जस्तो क्यारेक्टर । सटिक सम्वाद, बलियो प्रस्तुतिले दर्शकलाई इन्टरटेन गराइरहेको छ । अभिताभ बच्चन अभिनयका प्रेरणा नै हुन् । फिल्ममा प्रभास र अमिताभको फाइट सिन क्रिएट गर्नु नै निर्देशक नाग अश्विन सफलता हो ।
३. भिएफएक्स
फिल्ममा जुन खालको दुनियाँ देखाइएको छ, यो इमाजिनेसन वर्ल्ड प्रशंसा लायक छ । पौराणिक इतिहासलाई साक्षी मानेर नयाँ वर्ल्ड क्रिएट गर्नु साँच्चै अनौठो कुरा हो । उल्टो पिरामिडमा रहेको मेगा स्ट्रक्चर, जसलाई फिल्ममा कम्प्लेक्स नाम दिइएको छ । जुन विश्वकै पुरानो र अन्तिम सहर कासी रहेको भनिएको छ । पिरामिडको टपमा मात्र हरियाली, स्वच्छ हावा, पानी रहेको छ । त्यसबाहेक दुनियाँ पानीका लागि तड्पिरहेको छ । फिल्ममा एउटा डायलग छ, हमारा पाप धोते धोते गंगा सुख गई । दृश्यमा गंगा सुकेको देखाइन्छ । हावा लिन पनि अक्सिजन लिनु परिरहेको जर्जर दृश्य देखाइन्छ ।
भिजुअल इफेक्टको कुरा गर्नुपर्दा कम्प्लेक्स, सम्भाला, उड्ने कार, बाइक, रोबोट, गन, इफेक्टहरुले फ्युचरलाई रिप्रेजेन्ट गरेको छ । भिलेनलाई रेड कलर र हिरोका लागि ब्ल्यु कलरले छुट्याइएको छ । सबैभन्दा मजा त रथ उडाउँदै प्रभासले कर्णको रुपमा इन्ट्री गरेको सिनमा दर्शकले ताली पिट्छन् । फिल्ममा प्रभासको डबल रोल रहेको छ । महाभारतमा कर्णको रुपमा देखिएका प्रभासले कलियुगमा भैरवाको रुपमा पुनर्जन्म लिएको फिल्ममा बुझ्न सकिन्छ । दमदार भिजुअल इफेक्टले पनि दर्शकलाई मोहित बनाइरहेकाले यसलाई अर्को कारण मान्न सकिन्छ ।
४. फिल्मको सन्देश
फिल्मले पर्यावरणको विषयलाई मजबुत ढङ्गमा उठाएको छ । फिल्ममा एउटा अभियान छ ‘कल के लिए’ । सिम्बोलिक तरिकाले फिल्ममा प्रस्तुत दृश्यले भोलि कति कठिन समय आउँदैछ भन्ने कुरालाई इङ्गित गरेको छ । रुखहरु मर्ने, पानी सुकेर मरुभूमि हुने, हावा दूषित हुनेदेखि महिलाहरुमा प्रजनन क्षमता नभई बच्चा जन्म नै नहुने जस्ता दृश्यहरुले पर्यावरणको रक्षा नगरे जीवन कसरी सकिन्छ भन्ने देखाउँछ । कलियुगको अन्त्यमा कुनै एक शक्तिले मानिसलाई चाहिने आवश्यक सबै कुरामा कब्जा गरेर मान्छेलाई कति शोषण गर्न सक्नेछ भन्ने कुरालाई पनि इसारा गरेको छ ।
५. स्टारडम
दक्षिण भारतीय कलाकार प्रभासको स्टारडम अलग लेभलको बनेको छ । बाहुबलीका रुपमा लोकप्रिय बनेका प्रभासलाई त्यस्तै क्यारेक्टरमा हेर्न दर्शकले चाहिरहेका थिए । यो फिल्ममा उनको त्यस्तै दमदार क्यारेक्टर रहेको छ । हल्का स्लो लागे पनि जब जब उनी एक्सनमा उत्रिन्छन्, उनको आँखाले पनि अभिनय गरिरहेको पाउँछौँ । कमल हसनलाई फिल्ममा छोटो समय देखिन्छ तर अर्को पार्टका लागि उनले दर्शकलाई फुल प्रिपेयर गराउँछन् । दिपिकाको अभिनयले पनि फिल्मलाई उचाइ दिएको छ । सुमती नाममा उनी कल्कीकी आमाको भूमिकामा देखिएकी छन् । अरु क्यारेक्टरहरुको छोटो भूमिका देखिए पनि उनीहरुको सम्झन योग्य अभिनय रहेको छ ।
कल्कीको यो फर्स्ट पार्टमा सास्वता चटर्जीलाई नै मेन भिलेन मान्न सकिन्छ । फिल्ममा दिशा पट्नीलाई रोक्सी र शोभानालाई मरियमको रुपमा देख्न सकिन्छ । ब्रह्मानन्दम, पशुपति, अन्ना बेन, आयाज पासा, हर्षित रेड्डी, काभ्या रामचन्द्रनलाई पनि देख्न सकिन्छ ।
इसापूर्व ३१०२ वर्ष पहिले कृष्णले मृत्युलाई आत्मसात गरेपछि कलियुग सुरु भएको मानिन्छ । फिल्मको नामसँगै २८९८ एडी राखिएको छ । यी दुई अंकलाई जोड्ने हो भने ६००० वर्ष हुन्छ । पुराणहरुलाई आधार मान्ने हो भने ६ हजार वर्षमा युग परिवर्तन हुने मान्यता रहेको छ । फिल्मलाई एक लाइनमा भन्नु पर्दा २८९८ मा कल्कीले जन्म लिने र उसको रक्षाका निम्ति अस्वत्थमाले गर्ने संघर्ष नै कल्कीको फर्स्ट पार्ट हो ।