बैशाख २०, २०८२ शनिबार

आम्दानीको स्रोत बन्दै बाहुनडाँगीमा ‘हात्ती’

१२ वटा हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालन

बाहुनडाँगी । जंगली हात्ती आउनासाथ पुल्ठो बालेर खेदाउने बाहुनडाँगीबासी यतिबेला हात्तीमैत्री अभियान सञ्चालन गर्दै आयआर्जनमा जोडिएका छन् । सबैजसो क्षेत्रलाई हात्तीमैत्री बनाउदै आएका बाहुन्डाँगीबासी दुई वर्षदेखि हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका छन् ।

मेचीनगर वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीको परिकल्पनामा हात्तीमैत्री होमस्टे सुरु गरिएको थियो । सो वडामा अहिले १२ वटा हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालनमा रहेको वडा सदस्य पवन बराइलीले जानकारी दिए । उनका अनुसार बाहुनडाँगीलाई भविष्यमा होमस्टेको रुपमा विकास गर्दै जाने योजना छ ।

हात्तीमैत्री सामुदायिक होमस्टेको अध्यक्ष पवित्रा प्रधानले हात्तीमैत्री अभियान अन्तर्गत होमस्टे सञ्चालन गरिरहेको बताउछिन् । उनले हात्ती र मानवबीचको सम्बन्धलाई आयआर्जनसँग जोड्न थालिएको जानकारी दिइन् । सञ्चालनको दुई वर्षमा अन्य गाउँले पनि होमस्टे चलाउन इच्छुक भएको उनको भनाई छ । हामी होमस्टे सञ्चालन गर्न पाउँदा खुशी छौं, प्रधानले भनिन् – अन्य साथीहरु पनि जोडिने तयारीमा हुनुहुन्छ ।

मेचीनगर –४ को राइसिङ पुलदेखि बाहुनडाँगी बजारसम्म १२ परिवारले होमस्टे सञ्चालन गर्दै आएका छन् । सञ्चालकहरुलाई वडा कार्यालयले विभिन्न तालिम समेत प्रदान गर्दै आएको छ । वडाले दुई पटक खानाका परिकार बनाउने तालिमको व्यवस्था गरेको थियो । अध्यक्ष प्रधानले भनिन्– मौलिक खाना बनाउने तरिका, सजिसजावट सम्बन्धी अझै तालिम लिन आवश्यक भएको छ ।

बाहुनडाँगीका होमस्टेहरुमा धेरैजसो हात्ती सम्बन्धी अनुसन्धान गर्नेहरु आउने गरेका छन् । विभिन्न क्षेत्रका अनुसन्धानकर्ताहरु, विद्यार्थीहरु होमस्टे आउने गरेको बुझिएको छ । होमस्टेमा बस्नेहरुलाई हात्ती आएको बेला दृष्यावलोकन गराउने गरिएको छ भने स्थानीय पर्यटकीयस्थल मिनि माउन्टेन, कृष्णथुम्की हेर्नका लागि पर्यटकहरु जाने गरेका छन् ।

हात्तीमैत्री अभियान अन्तर्गत वडाले मेची किनारमा प्राकृतिक पार्क पनि निर्माण गरिरहेको छ । पार्क निर्माण पश्चात होमस्टे आउनेहरुलाई घुम्नका लागि त्यहाँ पठाइनेछ । जंगली हात्ती प्रवेश गर्ने मुख्यद्वारका रुपमा लिइएको प्राकृतिक पार्क निर्माण गरेर पर्यटकहरुलाई घुमफिर गर्ने, जीवजनावरहरुको अवलोकन गर्ने व्यवस्था मिलाइने वडा सदस्य बराइलीको भनाई छ ।

पुल्ठो बालेर, ढुङ्गाले हानेर हात्ती खेदाउने गाउँमा हात्तीमैत्री होमस्टे सञ्चालन पछि मानव–हात्ती द्वन्द्व नै नरहेको सन्देश दिइएको छ । हात्ती आयो भने विगतमा जस्तो पुल्ठो बालेर खेदाउने, ढुङ्गाले हान्ने काम बन्द भइसकेको छ, वडा सदस्य बराइलीले भने – युवाहरुको आरआरटी टोलीले बाटो परिवर्तन गराउने काम गर्छ, क्षति नहोस् भन्ने हिसावले सतर्क मात्र गराइन्छ । द्वन्द्व गर्ने काम अन्त्य गरिएको छ ।

होमस्टेको परिकल्पना नै वडा अध्यक्षले गरेका कारण संरक्षणमा पनि वडाले नै मुख्य भूमिका निर्वाह गरिरहेको होमस्टेकी अध्यक्ष प्रधानले जानकारी दिइन् । उनले पाहुनाहरुका लागि सकेसम्म सुविधा दिने प्रयासमा रहेको धारणा व्यक्त गरेकी छन् ।

काँकडभिट्टाबाट उत्तर लागेपछि राइसिङ पुलदेखि बाहुनडाँगी बजारसम्म होमस्टे सञ्चालन गरिएका घरहरु भेटिन्छन् । होमस्टेका अभिकांश सञ्चालकहरुले पाहुना घर मर्मत तथा सुविधा सम्पन्न बनाउनका लागि स्थानीय तह। पर्यटन कार्यलयहरुसँग अपेक्षा राखेको बुझिएको छ ।

प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]