जेष्ठ ४, २०८२ शनिबार

भद्रपुरमा एचआइभी संक्रमितको उपचारमा एएचएफ नेपालको सेवा सुरु

बिर्तामोड । एचआइभी संक्रमित विरामीहरुको उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा ए.एच.एफ नेपालले सेवा सुरु गरेको छ । एआरटी सेवालाई थप सहज र गुणस्तरीय बनाउन सेवा सुरु गरेको ए.एच.एफका राधेश्याम श्रेष्ठले जानकारी दिए ।

प्रादेशिक अस्पतालमा सन् २०२७ सम्म काम गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको ए.एच.एफले एचआइभी संक्रमित विरामीहरुको उपचारमा सहयोग गर्ने जनाइएको छ । एचआइभी संक्रमित विरामीहरुका लागि जीवन लम्ब्याउन दिइने उपचार सेवा (एआरटी) लाई गुणस्तरीय बनाउदै विरामीहरुको सुविधामा ए.एच.एफले सहयोग गर्ने श्रेष्ठको भनाई छ ।

प्रादेशिक अस्पतालमा सन् २००७ देखि एआरटीको सेवा सञ्चालन भइरहेको थियो । सो सेवालाई प्रभावकारी बनाउदै संक्रमित बिरामीहरुलाई औषधि उपचार खर्चदेखि खाद्यन्न, यातायात खर्चसम्म सहयोग गर्ने ए.एच.एफले जनाएको छ । ए.एच.एफले प्रादेशिक अस्पताललाई १ जना जनशक्ति समेत उपलब्ध गराएको छ ।

सन् २०३० सम्म एचआइभी निर्मूल गर्ने रणनीति अनुसार कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । एचआइभी संक्रमितहरुले नियमित औषधि सेवन गरेमा अन्य नागरिकमा समेत नफैलिने बताइएको छ ।

एआरटी शाखाकी फोकल पर्सन कञ्चन नेपालीले प्रादेशिक अस्पतालमा २००७ देखि औषधि वितरण भइरहेको जानकारी दिइन् । उनले अस्पतालमा जाँच गरेका र औषधि सेवन गरिरहेकाहरुको विवरण समेत सार्वजनिक गरेकी थिइन् ।

अस्पतालको विवरण अनुसार एचआइभी संक्रमितहरुको संख्या २३२ पुरुष, २१४ महिला र १८ जना १५ वर्ष मुनीका बालबालिकाहरु रहेका छन् । ९८ जना उपचारका लागि नआएको बताइएको छ । फोकल पर्सन नेपालीले एआरटी सेवाका लागि २४५ जनाले स्थानान्तरण गरेको र ७८ जनाको मृत्यू भइसकेको जानकारी दिइन् ।

सेवा प्रारम्भ गर्ने कार्यक्रममा ए.एच.एफ नेपालका तर्फबाट राधेश्याम श्रेष्ठले संस्थाले सञ्चालन गर्दै आएको कार्यक्रमबारे जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशक डा. सर्वेश शर्माले एचआइभी संक्रमितहरुलाई विभेद गर्न नहुने बताएका छन् । उनले संक्रमितहरु पनि आफु जस्तै नागरिक सम्झिएर उपचार गर्न निर्देशन दिए । डा . शर्माले संक्रमितहरुको चित्कारलाई स्वास्थ्यकर्मीले विना भेदभाव उपचार सेवा प्रदान गर्नुपर्ने बताएका हुन् । हरेक दिन एक जना नयाँ संक्रमित फेलापर्ने र एक जनाको मृत्यू हुने गरेको उनको भनाई छ । उपचारका सन्दर्भमा उठेका जिज्ञासा तथा सवालहरुका बारेमा डा.शर्माले सहजीकरण गरेका थिए ।

अस्पतालका निमित्त मेसु डा.रामबाबु खड्काले एआरटी सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]