जेष्ठ ४, २०८२ शनिबार

झापामा नागरिकताभन्दा राहदानी बनाउने धेरै

गगन ढकाल

झापा । पछिल्लो समय नेपालबाट देश छोडेर विदेश लाग्नेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । श्रम स्वीकृति लिएर रोजगार खोज्न होस् वा उच्च शिक्षाको लागि कनेपाली नागरिकहरु विदेश जानेको संख्या वृद्धि भइरहेको छ ।

आर्थिक वर्ष २०८०-८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०-८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर विदेसिएका हुुन् ।

आर्थिक वर्ष २०८०-८१ मा झापामा नागरिकता बनाउनेको भन्दा राहदानी बनाउनेको तथ्यांक धेरै रहेको छ । जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०-८१ मा १८ हजार चार सय ६५ जनाले नागरिकता बनाउँदा २५ हजार सात सय २७ जनाले राहदानी बनाएका छन् ।

झापामा गत आर्थिक वर्षको साउनदेखि असोजसम्म सबैभन्दा धेरैले राहदानी बनाएको देखिन्छ । तीन महिनामा झापामा छ हजार सात सय ७१ जनाले नागरिकता बनाउँदा आठ हजार ६३ जनाले राहदानी बनाए ।

यसैगरी कात्तिक देखि पौषसम्मको त्रैमासिक तीन हजार चार सय ७४ जनाले नागरिकता बनाउँदा चार हजार आठ सय ३६ जनाले राहदानी बनाएका छन् । यस्तै मागदेखि चैत बीचको त्रैमासिकमा तीन हजार तीन सय ७८ जनाले नागरिकता बनाउँदा छ हजार पाँच सय २३ जनाले राहदानी बनाएको तथ्याङक छ ।

यस्तै आर्थिक वर्ष ०८०-०८१ के अन्तिम त्रैमासिक वैशाखदेखि असार मसान्तसम्ममा चार हजार आठ सय ४२ जनाले राहदानी बनाएका छन् । यस्तै छ हजार तीन सय पाँच जनाले नागरिकता बनाएका छन् ।

गत आर्थिक वर्षमा नागरिकता बनाउनेको भन्दा राहदानी बनाउनेको संख्या सात हजार दुई सय ६२ जना बढी भयो । गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय झापाले राहदानी दस्तुर मार्फत मात्रै १४ करोड ७३ लाख ६७ हजार सात सय रुपैयाँ संकलन गरेको छ ।

वैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
यस्तै वैशाख महिना ७० हजार ७३७ जना, चैत महिना ७० हजार ९३३ जना, फागुुन महिना ६५ हजार ७५८ जना श्रम स्वीकृति लिएर विदेसिएका छन् । त्यसै गरी माघ महिनामा ६२ हजार १४३ जना, पुस महिनामा ६५ हजार ८१३ जना, मङ्सिर महिनामा ६८ हजार २०१ जना, असोज ५७ हजार २३५ जना, भदौ महिनामा ५० हजार ८८४ जना र साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको ३० वर्षमा चालु पछिल्लो तीन आवमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै देश छोडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १५ हजार नेपाली युवा रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो संख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रम स्वीकृति लिनेमा ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको संख्या हुुने गरेको छ ।

वैदेशिक रोजगारको ३० वर्षमा आव २०७९–८० मा सबैभन्दा बढी सात लाख ७१ हजार ३२८ युवाले विदेश जान श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुुरु गरेको हो । आ.व. २०७८–७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या छ लाख ३० हजार ९० जना छन् ।

विभागका निर्देशक गुुरुदत्त सुुवेदीले स्वदेशमा रोजगारीको अवसर नपाएरपछि पछिल्लो समयमा ठुलो संख्या बाध्यताले वैदेशिक रोजगारी जानुुपर्ने अवस्था रहेको बताए । स्वदेशमा पर्याप्त आन्तरिक रोजगारीका अवसर नहुँदासम्म बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जाने क्रम नरोकिने पछिल्ला तीन वर्षमा श्रम स्वीकृति लिएर गएको तथ्याङ्कले पनि पुुष्टि गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : श्रावण ४, २०८१ शुक्रबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]