बिर्तामोड करेलाबारीबासी भन्छन् – खोला किनारको जग्गा कसरी व्यक्तिको नाममा गयो ?
प्रदीप परियार
बिर्तामोड । शनिवार विहान जग्गा नाप गर्न आउने सूचना पाएका बिर्तामोड–३ करेलाबारीस्थित सुकुम्बासी बस्तीका नागरिकहरु अरुदिन भन्दा सबेरै उठे । वर्षौदेखि बस्दै आएको ठाउँमा जग्गा नाप गर्न आउने भएपछि अत्तालिएका नागरिकहरु प्रतिकार गर्न तम्तयार बसेका थिए । तर, पाएको सूचना जस्तो नाप गर्नेहरु आइपुगेनन् ।
सधैं यस्तै सूचनाले तर्सिरहेका सो क्षेत्रका नागरिकहरु फेरि बस्ती जोगाउन कस्सिएका छन् । ०७८ सालमा झस्किएका करेलाबारीबासी अब अन्तिम लडाईको तयारीमा बसेको बताउँछन् । सैनिकमोड दक्षिण क्षेत्रमा पर्ने अदुवा खोला किनारमा झण्डै ५० परिवार ०२३ सालदेखि बसोबास गर्दै आएका छन् । शनिवार बिहान सोही बस्तीमा जग्गा नाप गर्न आउने भन्ने सुनेपछि सुकुम्बासी क्षेत्र त्रसित भएको थियो । जग्गाको हाल साविक गर्ने भन्दै पटक–पटक नाप गर्न आउने सूचनाबाट त्रसित गाउँलेले किर्ते जग्गाधनी पुर्जा लिएर धम्क्याइरहेको आरोप लगाइरहेका छन् । ‘हामी यो ठाउँ आएर बस्दा मसानघाट थियो, मान्छे जलाउने ठाउँ सफा गरेर बसेका हौं’, शान्ति माझी भन्छिन् – खोला किनारको जग्गा कसरी व्यक्तिको नाममा गयो ?
करेलाबारी टोल विकासका अध्यक्ष कुमार कन्दङवाले ३ वर्षअघि पनि बस्तीमा आएर केहि व्यक्तिले जमिन दावी गरेको बताएका छन् । उनले वडादेखि माथिल्लो तहसम्म पुगेर जग्गा रोक्काका लागि सुकुम्बासी बस्तीका नागरिकहरुको तर्फबाट पटक–पटक आग्रह गरिएको जानकारी दिए ।
अध्यक्ष कन्दङवाले दमक –१० निवासी सरस्वती ढकाल र घनेन्द्र देवी थापाको नाम दर्ता भएको सो जग्गा लक्ष्मण बस्नेत नाम गरेका व्यक्तिले वारेसनामा लिएर दुख दिने काम गरिरहेको आरोप लगाए । उनका अनुसार सो बस्ती २०२३ देखि बसेको हो । ०५० सालपछिको धनीपुर्जा बोकर जग्गा दावी गर्दै आइरहेको कन्दङवा बताउँछन् । उनले भने – जाली किर्ते धनीपुर्जा देखाएर गाउँलाई उठिवास लगाउने कुरा मान्य हुदैन । दिनरात दुःख दिने काम भइरहेकोले तत्काल यस प्रकारको गतिविधि रोक्न आग्रह गरेका छन् ।
कित्ता नम्बर ५७७ भएको ९ कठ्ठा जग्गा साविक अनारमनी–७ को सरस्वती ढकालको नाममा रहेको रेकर्ड देखाउँदै कहिले डोमालाल रंगशाला पूर्वको अदुवाखोला कहिले सैनिकमोड पश्चिमको अदुवाखोला किनारमा रहेको सुकुम्बासी बसोवास स्थल आफ्नो भएको बताउने समूह सक्रिय रुपमा लागि परेको बताइएको छ ।
सुकुम्बासी बस्ने नागरिकहरुले किर्ते धनी पुर्जा र किर्ते जग्गाधनी नमान्ने भन्दै दुःख दिए प्रतिकार गर्ने प्रतिक्रिया दिएका छन् । सरकारका सम्बन्धित निकायलाई अनुगमन गरिदिन समेत उनीहरुको माग छ । जग्गाको वास्तविकता बुझेर पटक–पटक आइपर्ने समस्यालाई किनारा लगाइदिन करेलावासीले माग गरेका छन् ।
सुकुम्बासी टोलमा सुरुवातबाटै बस्ने शान्ति माझीले अहिले बसोबास गरेको ठाउँ मसानघाट, गाइचरणको रुपमा रहेको बताउँछिन् । सफाई गर्दा हड्डीहरु भेटिएको स्मरण गर्दै भनिन्, हाम्रो गाउँमा कस्को आँखा लागेको छ । हामीलाई बचाईदिनुहोस्, उनले भनिन् – अब जस्तो सुकै परिस्थिति आयो भने पनि लड्न तयार छौं । उनले पटक–पटक धनीपुर्जाका लागि जाँदा गाईचरण गर्ने ठाउँ हो भन्दै फर्काइएको बताइन् ।
धनीपुर्जाका लागि धेरै संघर्ष गरेको बताउँने शान्तिको जिज्ञासा छ, हामीले नपाउने हो भने अरु मान्छेहरुले कसरी धनीपुर्जा पाए ?
दैनिक मजदुरी गरेर बसिरहेका करेलाबारीबासीहरु बल प्रयोग गरेर हटाउलान् भन्ने त्रासमा छन् । सोही ठाउँमा चार पुस्ताले समय गुजारेको बताउने उनीहरु अन्यत्र जाने ठाउँ नभएको बताउछन् ।
करेलाबारीका चक्रबहादुर श्रेष्ठले उक्त ठाउँमा मरेका गाई बस्नु पनि गाढ्ने गरेको बताएका छन् । उनले सुरुमा सो क्षेत्र सिनो व्यवस्थापनको रुपमा प्रयोग भएको बताउँछन् । सिनो फाल्ने ठाउँमा हामीले सफाई गरेर बसेका हौं, कसरी अर्को व्यक्तिले धनीपुर्जा पाए अचम्मित छौं, श्रेष्ठले भने ।
करेलाबारीमा चार पुस्ता विताएका धाक्रु माझीले सुकुम्बासी समस्या समाधान आयोगले पुर्जा दिएको बताए । चिहानघारीमा आएर बसेको बताउँदै उनले जग्गा हडप्न वर्षौदेखि विभिन्न प्रयासहरु भइरहेको बतउछन् । जग्गा हडप्ने प्रयास भइरहेको छ, उनले भने – बस्ती सबैले जोगाउनुपर्छ ।
बिर्तामोड नगरपालिकाले जग्गाको मालपोत नलिएको भन्दै वडा कार्यालय र नगरपालिकालाई विपक्षी बनाई मुद्धा समेत हालिएको छ । नगरपालिकाले सो क्षेत्रमा ४० घर सुकुम्बासी परिवारको बसोबास गरेको भन्दै प्रतिवेदन समेत बुझाएको थियो ।
यता, वारेस पाएका जग्गाधनीका भतिज लक्ष्मण बस्नेतले अदालतले जग्गाको हालसाविकका लागि नाप गर्न आदेश गरेको बताए । हामीसँग जमिनको सबै प्रमाण सुरक्षित छ, बस्नेत भन्छन् – मेरो फुपु सरस्वती ढकालले ०४५ सालमा जग्गा खरिद गर्नुभएको हो । उहाँहरु अहिले काठमाडौं बस्नुहुन्छ ।
बस्नेतका अनुसार हालसाविक गर्न खाजेको जमिन खोलाको पूर्व भागमा हो । जहाँ सुकुम्बासी बस्ती छैन । उनले फुपु सरस्वति ढकालले सट्टाभर्नाका क्रममा अनुप कुमारी लिम्बुनीले पाएको जमिन खरिद गरेको दावी गरे ।
स्थानीय काजी बुढाथोकीले आफ्नो बुबाले ०४५ सालमा श्री राजवंशीसँग जग्गा खरिद गरेको बताएका छन् । ७ कठ्ठा १५ जग्गा बुबाले नै खरिद गरेको उनको भनाई छ । त्यसमध्ये केहि जमिन खोलाले कटान गरेको बताए ।
आफ्नो परिवारको जग्गामा केहि वर्षदेखि भूमाफियाहरुको चलखेल भइरहेको बताएका छन् । जग्गाको प्रमाण माग गर्दा फोटोकपी मात्रै पाउछौं, मालपोत पनि केहि कागज भेटिदैन – बुढाथोकीले भने । गत जेठमा जग्गा नाप गर्न आएको टोलीले समेत वास्तविकता बुझेर फर्किएको उनको भनाई छ । जमिनको इतिहासले नै गिरोहलाई सफल हुन नदिने बुढाथोकीको दावी छ ।