असार १, २०८२ आईतबार

बुबाको हत्या आरोपमा छोरा पक्राउ

बिर्तामोड । झापाको हल्दीवारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । गएराति २ बजे स्थानीय ६३ वर्षीय बासूँ राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद अवस्थामा झुन्डिएको फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ ।

राजवंशीको मृत्यु शङ्कास्पद देखिएपछि उनका छोरा करिब ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिएको हो ।

झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरि रगत देखिएको वडा अध्यक्ष शुकलाल राजवंशीले पनि बताए ।

सुनिललाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ भने मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । मृतक बासूँ र उनका छोराबिच राति झगडा भएको बताइएको छ । छोराको लुगामा समेत रगत भेटिएको डीएसपी चन्दले जानकारी दिएका छन् ।

प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार  ३ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]