देशमै बस्ने रहरले बनेको भिरपाखा रिसोर्ट
गगन ढकाल
बाहुण्डाँगी । बाहुण्डाँगी विशेषतः दुई कुरामा चर्चित छ । एक हात्ती अर्को सुपारी । यसैगरी आजभोली बाहुण्डाँगीमा होमस्टे र रिसोर्टको पनि खुब चर्चा रहेको पाइन्छ ।
यस्तै परबाट सुपारीबारीको हरियाली हेर्दै जाँदा बासँघारीका बीचमा केही घरहरु जस्तो दृष्य देखिन्छन् । ति घरहरुको नजिक पुन्दा एउटा ठूलो बोर्डमा “भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि” लेखिएको छ ।
भित्र पस्दा एकदम ठूलो आवाजमा नारायण गोपालको गीत बजिरहेको छ । आँखा छोपी नरोउ भनी भन्न प¥र्या छ…..। हामी पुग्नसाथ रिसोर्टमा मधुर मुस्कानका साथ एक युवकले स्वागत गर्छन् । श्याम वर्णका ति युवा रिसोर्टमा आउने हरेक पाहुनालाई यसरी नै मधुर मुस्कानमा स्वागत गर्छन् ।
स्वागत गर्ने ३६ वर्षे ति युवा रिसोर्टका सञ्चालक रहेछन् । उनको नाम राजेश बास्कोटा । उनी बिगत तीन वर्षदेखि रिसोर्ट सञ्चालन गरेर बसिरहेका छन् ।
वि.सं. २०५२ फागुन ७ गतेबाट नेपालमा भएको सशस्त्र जनयुद्धले सायदै नछोएको युवा थिएनन् । राजेशलाई पनि उक्त आन्दोलनले छोयो । वि.सं. २०६२ सालमा उनलाई घरबाटै तत्कालीन साही सेनाले उनलाई गिरफ्तार ग¥यो । त्यतीबेला कक्षा १२ मा पढ्दै गरेका उनलाई जसोतसो गरेर परिवारले सेनाको गिरफ्तारीबाट छुटाए ।
सेनाको गिरफ्तारबाट छुटेपछि राजेशलाई पुनः पढ्ने मन भएन उनी पास्पोर्ट बनाएर कतार हानिए । उनले कतारमा खाना पकाउने काम सिके । उनले कतारमा एउटा मेसमा काम गरेका थिए । कर्मचारी विदामा बस्दा पनि यस रिसोर्टमा स्वादिष्ट खाना पाइन्छ । उनी भन्छन्, ‘आफैं पकाउन जान्दाको कर्मचारीहरु विदा बस्दा पनि रिसोर्ट बन्द गर्नु नपर्ने रहेछ । धेरै अडर आएको बेला साथीहरुलाई किचनमा सहयोग गर्न पाइने ।’
कतारमा मेसको काम गरेर पोख्त भएर आएका उनले गाउँका केही साथीहरु सल्लाह गरे । युवाहरुको सल्लाहले बाहुण्डाँगीमा यस भेगकै पहिलो हात्ती रिसोर्टको जन्म गरायो । हात्ती रिसोर्ट जिल्लाको बहुचर्चित रिसोर्टहरु मध्ये एक रिसोर्ट बन्यो । यहाँ बाँसको चोयाले बनाएको हात्तीको आकृतिले सबैको मन तान्यो ।
राजेशले रिसोर्टमा लगानी गरे पनि उनलाई कृषिमा विशेष रुचि थियो । उनले गाई फर्म सञ्चालन गरे । कुनैबेला एक डेड सय गाई हुने उनको फर्ममा अहिले पाँच ओटा मात्र गाई छ । उनी भन्छन्, ‘पहिले बाहुण्डाँगीमा ठूलो घर र राम्रो गाडिमा कोही हिड्यो भने यसको गाई फर्म छ भन्ने हुन्थ्यो । अहिले नियाउरो अनुहार लिएर हिड्ने मान्छेको गाई फर्म रहेछ भन्ने हुन्छ ।’, उनी भन्छन्, ‘राज्यले कृषिका निम्ति मजबुत नीति नबनाएको कारण गाई फर्म धमाधम बन्द भइरहेका छन् । दुध बेचेको पैसाले दाना खुवाउने स्थिति छैन ।’ राजेशले सरकारकै कारण गाई फर्म बन्द गर्ने स्थितिमा पुगेको बताए ।
उनले देशमा कृषिलाई व्यवसाउीकरण गर्न नसेकाले युुवाहरु विदेशिन बाध्य भएको बताए । उनले देशको स्थिति एकदिन त सुध्रेलाकी भनेर देशमै बस्न भरपाखा रिसोर्ट एण्ड फनपार्क सञ्चालन गरेको बताए । केही उत्पादन नहुने यो अनकण्टारमा पाखामा भिरपाखा नाम नै राम्रो र उपर्युक्त होला भनेर रिसोर्टको नाम भिरपाखा राखेको बताउँछन् ।
रिसोर्टमा अधिकांश ग्राहक भारतीय नागरिक हुने गरेको उनी बताउँछन् । नेपालको पूवी भागमा रहेको बाहुण्डाँगीलाई पर्कटकीय क्षेत्रको रुपमा विकास गरे ठूलो मात्रामा अन्तर्राष्ट्रिय पर्यटक भित्राउन सकिने सम्भावना रहेको उनी बताउँछन् ।
राजेशले हालसम्म यस रिसोर्ट निमार्ण गर्न करीव तीन करोड रकम लगानी गरिसकेका छन् । यती बेला रिसोर्टमा बस्नका चारवटा लज र घुम्नका निम्ति सुसज्जित पार्क रहेको छ । निकट भविष्यमा यहीँ करीव दुई बिगाहा जमिनमा बोटिङ गर्न मिल्ने गरी पोखरी बन्दैछ ।
उनले आफ्नै बारीमा फलाएको तरकारी, आफ्नै कृषि र्फममा पाहिएको कुखुरा र खसीको मासु तथा आफ्नै पोखरीमा पालिएको माछा आफ्ना पाहुनालाई खुवाउन चाहन्छन् । तर, हाल रिसोर्टले ऋण थेग्न नगसकेको र राज्यले पनि देशमा टिकाउने वातावरण नबनाएकोमा उनी निराश हुन्छन् । विदेश गएका तमाम युवाहरुलाई उनी देशलाई राम्रो बनाउन देशमै दुःख गर्नु पर्ने सुझाव दिदै जति सक्दो चाँडो देश फर्किन आग्रह गर्दछन् ।