राष्ट्रिय युवा संघमा राजिव पाहारीको ‘कमब्याक’
झापा । नेकपा एमालेको प्रभावशाली जनसंगठन राष्ट्रिय युवा संघमा राविज पहारीको ‘कमब्याक’ भएको छ । पार्टीको गत हप्ता सम्पन्न सचिवालय बैठकबाट राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष पहारीलाई इञ्चार्जको जिम्मेवारी दिएसँगै युवा नेतृत्वमा फर्काइएको हो ।
आज संगठनको केन्द्रीय कार्यालय बानेश्वरमा नयाँ इञ्चार्जको जिम्मेवारी प्राप्त गर्ने पहारीलाई स्वागत र यसअघिका इञ्चार्ज महेश बस्नेतको विदाई कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा संगठनका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले बस्नेत नेतृत्वमा गरेका कामहरुको सम्झना गर्दै नयाँ इन्चार्जको नेतृत्वमा सशक्त ढंगले अघि बढ्न तयार भएको बताएका थिए ।
बस्नेतले इञ्चार्जसिप गरेको राष्ट्रिय युवा संघलाई थप प्रभावशाली बनाउने जिम्मेवारी पहारीको काँधमा आएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य पहारीले ०७४ बैशाखमा रमेश पौडेललाई अध्यक्षको जिम्मेवारी दिएर विदा भएका थिए । ०७४ मा राष्ट्रिय युवा संघको जिम्मेवारीबाट विदा लिएका उनलाई पार्टीले फेरि इञ्चार्जको जिम्मेवारी तोकेको हो । स्वागत तथा बद्याई कार्यक्रममा बोल्दै इञ्चार्ज पहारीले राष्ट्रिय युवा संघको ध्यान सिंहदरवार र बालुवाटारमा नभई युवाहरुमै दिने बताए । उनले ०८४ को निर्वाचनअघि नै एमालेलाई बलियो शक्ति स्थापित गर्न युवा संघ देशभर अभियान लिएर जाने बताए । वर्तमान सरकारलाई सफल बनाउने, संमृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्ने अभियानमा रचनात्मक साथ दिने पहारीको भनाई थियो ।
उनले युवाहरुको मुद्दामा नीतिगत रुपमा कार्यान्वन गर्दै जाने बताउदै अतिवादी सोच भएकाहरुको विरुद्धमा डटेर लाग्ने प्रतिवद्धता समेत जनाए । राष्ट्रियता, लोकतन्त्र, जनजीवीका र युवाहरुको लागि प्रतिबद्ध बनाउदै राष्ट्रिय युवा संघ अघि बढ्ने छ, उनले थपे । युवा संघको आन्दोलनलाई नयाँ उचाईमा पुराएको भन्दै उनले बस्नेतलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
पहारी नेतृत्वको युवा संघ नेकपा एमालेलाई मधेश प्रदेशमा रोक लगाएको बेला प्रतिकारमा उत्रिएको थियो । पार्टीलाई मधेशमा प्रवेश गर्न रोक लगाउनेहरु विरुद्ध सशक्त भूमिका निर्वाह गरेकै कारण एमाले अहिले मधेशमा पहिलो शक्तिको रुपमा स्थापित भएको छ ।
युवाहरुको नेतृत्वमा रुचाइएका पहारीको ‘कमब्याक’ ले राष्ट्रिय युवा संघमा पनि उत्साह बढेको छ । इञ्चार्जको जिम्मेवारी पाएकै दिन साँझ पोखरामा आयोजित शुभकामना प्रदान गर्ने कार्यक्रममा उनले भनेका थिए, राष्ट्रिय युवा संघको आन्दोलनलाई थप मजबुद बनाउन सबै युवाहरुसँग सहकार्य गरिनेछ । आम युवाहरुलाई एकताबद्ध बनाई युवा संघको अभियानमा जोड्दै जाने उनको धारणा थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै केन्द्रीय सचिव पर्वतराज भण्डारीले राष्ट्रिय युवा संघलाई थप प्रभावशाली बनाउन नयाँ इञ्चार्जको भूमिका महत्वपूर्ण हुने विश्वास गरेको बताए । देशभरका युवाहरुको भावनालाई सम्बोधन गर्न पहारीको इञ्चार्जको जिम्मेवारी महत्वपूर्ण सावित हुनुपर्ने युवाहरुको माग छ ।