जेष्ठ २७, २०८२ सोमबार

मन्त्री पौडेलद्वारा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

बाँके, २५ साउन – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बाँकेको कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । मन्त्री प्रदीप पौडेलले शुक्रबार बीमा कार्यक्रमको शुभारम्भ गरेपश्चात् नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा भने भदौ १ गतेदेखि सुरु हुनेछ ।

कोहलपुर नगरपालिकाको आयोजनामा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेललाई बधाई, स्वागत तथा स्वास्थ्य बीमा शुभारम्भ कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले कोहलपुर नगरपालिकाले थालेको स्वास्थ्य बीमा कार्यक्रम अन्य पालिकाले पनि अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो ।

“नगरवासीलाई सर्वसुलभ र स्वास्थ्यको पहुँचमा ल्याउन कोहलपुर नगरपालिकाले सुरु गरेको बीमा कार्यक्रम अन्य पालिकाहरुमा सायदै लागू भएको होला,” उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा कोहलपुर नगरपालिकाले प्रशंसनीय काम गरेको छ, अन्य पालिकाहरुले पनि बीमा कार्यक्रम गर्न आवश्यक छ ।”

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गर्नेगरी सरकार लागिपरेको मन्त्री पौडेलले बताउनुभयो । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको भन्दै सरकारले आवश्यकताका आधारमा क्रमशः त्यसलाई पूरा गर्नेगरी लागिपरेको पनि बताउनुभयो ।

कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार नागरिकलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने गरी कोहलपुर नगर अस्पतालबाट बीमा कार्यक्रम लागू गरिएको हो । त्यस क्रममा नगर प्रमुख आचार्यले स्वास्थ्यका विभिन्न छबुँदे मागसहितको ध्यानाकर्षण पत्र पनि मन्त्री पौडेललाई बुझाउनुभएको थियो ।

प्रकाशित मिति : श्रावण २५, २०८१ शुक्रबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]