जेष्ठ २७, २०८२ सोमबार

उद्योगमन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन

काठमाडौँ, २७ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभएको थियो ।
अवलोकन भ्रमणका क्रममा मन्त्री भण्डारीले भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सबलीकरण, ‘ट्रान्ससिपमेन्ट मोडालिटी’, भण्डारण जाचँपासलगायतका विषयमा जानकारी लिनुभयो ।
नेपालका तर्फबाट पारवहन लागत कम गर्ने विषयमा राखेको मन्त्री भण्डारीको जिज्ञासामा त्यहाँका प्रतिनिधिले चीनबाट हल्दिया र कोलकत्तामा सिधा कार्गोे जहाजको व्यवस्था गरिएकाले सिङ्गापुरमा गरिने ट्रान्ससिपमेन्ट लागत कम भई सम्पूर्ण लागत नै घट्ने जानकारी दिएका छन् ।
पारवहन लागतको १० प्रतिशत मात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरुले बताएको मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो । नेपाली महावाणिज्य दूतावास एवं नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको  समन्वयमा छलफल भएको थियो ।
अवलोकन भ्रमणमा कोलकत्तास्थित महावाणिज्य दूतावासका पदाधिकारी लगायतको उपस्थिति थियो । तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिई कोलकत्तास्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरी परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिनुभयो ।

प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार  ४ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]