जेष्ठ ३, २०८२ शुक्रबार

प्रभु बैंक प्रकरण : कारोवारभन्दा कर्मचारी वेपत्ताको घटना पेचिलो

बिर्तामोड । प्रभु बैंक लिमिटेड बिर्तामोडसँग जोडिएको घटना आर्थिक कारोवारभन्दा कर्मचारी वेपत्ताको विषय पेचिलो बन्दै गएको छ । बिर्तामोड बस्ने मञ्जुकुमारी नेपालको १ करोड १० लाख रुपैयाँ ‘गायव’ भएको विषय कर्मचारी परिवारको पत्रकार सम्मेलनपछि मोडिएको छ । पत्रकार सम्मेलनमा परिवारले नेपाल परिवारले अपहरण गरेको आरोप लगाएका छन् ।

साउन १६ गते सार्वजनिक भएको घटना साम्य जस्तै भए पनि बैंकका कर्मचारी प्रमोद सिटौला वेपत्ता भएको घटना अहिले जोडतोडका साथ उठिरहेको छ । केहि दिनअघि कर्मचारीको परिवारले पत्रकार सम्मेलन गर्र्दै मञ्जुकुमार नेपालको श्रीमान टिकाराम ‘नेति’, दाई स्वागत नेपाल, तुलसी उप्रेतीले घरबाटै प्रमोद सिटौलालाई लिएर गएको श्रीमति एलिसा बुढाथोकीको भनाई छ । उनले घरमा श्रीमानले आफै बैंक जाने भन्दाभन्दै पनि नेपाल पक्षले आफ्नै गाडिमा राखेर बिर्तामोड लगेको बताइन् ।

श्रीमति एलिसाले भनिन् – उहाँ (नेपाल परिवार) ले श्रीमान लगेको हो । उहाँहरुले फिर्ता ल्याइदिनुपर्छ । विहानै घरमा आएर अपहरणशैलीमा उठाउने काम भएको छ । उहाँहरु नै त्यसको जिम्मेवार बन्नुपर्छ । सिटौला परिवारले मान्छेको खोजी गरेर दोषी भए कारबाही गर्न भनेको छ ।

कर्मचारीको घर गएको विषय आलोचना भइरहेको बेला अपहरण गरेको आरोपलाई नेपाल परिवारको तर्फबाट स्वागत नेपालले खण्डन गरेका छन् । उनका अनुसार अपहरण गर्ने मनसायले हामीहरु सिटौलाको घर गएका होइनौं । सिटौला हामीसँग बिर्तामोड आएको सत्य हो, नेपालले भने – ग्याष्ट्रिकको औषधि खोज्दै मुनी जानु भएको थियो । त्यसपछि फर्किनुभएन । फोनमा बोल्दै, फेसबुक बन्द गरेर कृषिथोक बजारतिर लागेको सीसी क्यामेरामा देखिन्छ । हामीसँग कुराकानी गर्दागर्दै आफै बाहिर लागेको व्यक्तिलाई अपहरण गरेको भन्न नमिल्ने उनको तर्क छ । बैंकमा बुझाइएको रकम गायव गर्ने, आफै वेपत्ता हुने– उनी भन्छन्, यस्तो नाटक गर्न पाइदैन ।

कतिपयले बैंकसँगको मुद्दामा घर जानु गलत भएको प्रतिक्रिया दिइरहेका छन् । बैंकसँगको कारोबारलाई लिएर किन घर गएको भन्ने जिज्ञासामा नेपालले भने, – बैंकले नै भनेर सिटौलाको घर गएको हो ।

यता, सिटौलालाई अपहरण गरेको भन्न मिल्छ भन्ने जिज्ञासामा एक कानुन व्यवसायीले आसय अपहरणको नदिएको धारणा राखे । उनले भने, अपहरणका लागि धाकधम्की, जवरजस्ती गरेको हुनुपर्छ । गफ गरेको ठाउँबाट आफै निस्किएर गएको देखिन्छ । गइसकेपछि सुरक्षा निकायलाई नै जानकारी दिनुले अपहरण भन्न उचित मानिदैन ।

नेतिका दाई स्वागत नेपालले बजारमा त्यत्रो पैसा कहाँबाट आयो भन्दै प्रश्न उठिरहेको स्वीकार गरेका छन् । त्यस सम्बन्धमा जवाफ दिदैं उनले भने, भाईको परिवारमा अमेरिकाबाट मासिक १० लाख रुपैयाँसम्म आउँने गरेको छ । दुई जना छोरा अमेरिकामा छन् । उनको यहाँ राम्रो व्यवसाय छ । पैसा कहाँबाट आयो भन्न पर्दैन, पर्याप्त आम्दानीको बाटोहरु छन् । प्रभु बैंकमा दुई वर्षमा उक्त रकम जम्मा गरिएको नेपालको भनाई छ ।

उनले बैंकको घटना सार्वजनिक भइसकेपछि ७० लाख रुपैयाँ बैंकले खातामा जम्मा गरेको दावी गरेका छन् । तर, बैंकको प्रदेश कार्यालयले ७० लाख रुपैयाँ जम्मा गरेको विषय झुटो भएको स्पष्ट पारेको छ । उहाँहरुको खातामा कारोवार भइरहेको हुनसक्छ, तर १ करोड १० लाखबाट ७० लाख रुपैयाँ फिर्ता भएको विषय सत्य होइन, बैंकका कोशी प्रदेश प्रमुख बद्री कट्वालले भने । उनका अनुसार बैंकको तर्फबाट १ करोड १० लाखको विषय यसअघि नै स्पष्ट पारिएको छ । उक्त रकम जम्मा गरिएको भनिकएका सबै कागजातहरु अनाधिकृत एवम् नक्कली हुन्, उनले थपे, – बाँकी कुराहरु अनुसन्धान सकिएपछि अवश्य बाहिर आउने नै छ ।

बैंकका कर्मचारी प्रमोद सिटौलाको खोजीकार्यलाई तिब्रता दिएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । उनले भने, टेक्निकल्ली र मेनुअल्ली दुवै हिसावले खोजी कार्यलाई प्राथमिकता दिएका छौं । परिवार र बैंक दुवै तर्फबाट सिटौलाको खोजीका लागि निवेदन आएको प्रवक्ताको भनाई छ ।

प्रकाशित मिति : श्रावण २८, २०८१ सोमबार  ११ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]