३२ वर्षीय मास्टर सेफ प्रेम सिंह : जसको नेतृत्वमा चल्दैछ मेची क्राउनको किचन
गगन ढकाल
झापा । झापाको मेचीनगरस्थित निन्दा नदीको किनारमा रहेको आलिशान पाँच तारे होटल मेची क्राउन देशकै एक मात्र लग्जेरी डिलक्स पाँच तारे होटल हो । मेची क्राउनको भव्यताका बारेमा चर्चा भएको पङ्तीकारले पटक-पटक सुनेको थियो । तर, यस पङ्तीकारले त्यहाँको भव्यता देखेको थिएन ।
हेर्ने रहर नभएको हैन समयको पावन्दीले फुर्सद नमिलेका कारण पङ्तीकारले त्यो भव्यता हेर्ने अवसर छुटाएको थियो ।
बाहिरबाटै तारे होटलको भव्यता चर्चा गर्न योग्य थियो । होटलको मूलद्वार भित्र छिर्दा आलिशान पार्क, पार्कको एका पट्टी ठूलो पाकिङ् क्षेत्र । चार जनाको समूह गफ गर्दै होटल तिरबाट आए । उनीहरु मध्ये हरियो टि–सर्ट र जिन्स पाइट लगाएको एक युवकले भने “खाबरी शेस मिष्टी”, बंगाली भाषामा बोलिएको यो वाक्यको अर्थ ‘खाना चाहिँ लाष्टै मिठो हो’ हो । अर्को सेतो सर्ट र कालो पाइट लगाएको युवकले भने “खाबर मिष्टी । निजेके कोलकत्ता होटल मोटो माने होच्छिलो”, जसको नेपाली अर्थ ‘खाना मिठो हो । मलाई त कोलकताको होटलको जस्तै लाग्यो ।’ खानाको प्रशंसाले मनमनै सोचे आज खाजा चाहिँ मिठै खान पाइने भयो ।
खानको बयान र होटलको आलिसानी दृष्यहरु हेर्दै हिडिरहेको मलाई एक हसिलो मुहार भएका युवक स्वागत गर्न आइपुगे । आकर्षक भवन र साजसज्जाले भरिपूर्ण होटल मेची क्राउन आउने जो कोहि आगन्तुकहरुलाई ति युवक यसरी नै स्वागत गर्दा रहेछन् । मिठो मुस्कान, पञ्जावी हुलिया, प्रष्ट नेपाली भाषा ति युवकको स्वागतले होटलको शोभा अझ बढाएको अनुभूति भयो ।
यसरी होटलमा आएका ग्राहकहरुलाई मिठो मुस्कानले स्वागत गर्ने युवक हुन्, होटलका मुख्य सेफ प्रेम सिंह बुडाल । हरियो रंगको पञ्जावी टोपी र सेतो रंगको कुक ड्रैस उनको पहिचान हो । सेतो रंगको उनको टि–सर्टमा रातो रंगमा “होटल मेची क्राउन, प्रेम सिंह, मास्टर सेफ” लेखिएको छ । उनी यस लोगोलाई आफ्नो पहिचान ठान्छन् र गर्वका छाती फुलाएर त्यो लोगो प्रष्ट देखिने गरी हिड्छन् ।
हास्टर सेफ सिंह पहिचानलाई मुस्कान र पाक कलाले थप अलंकृत गरेको छ । मेची क्राउनको खानाको चर्चा खाना पारखीहरु बीच निकै राम्रो छ । यहाँ खाना खाएर स्वादको प्रशंसा नगर्ने बिरलै होलान् ।
वि.सं. २०४८ माघ १६ गते पश्चिम नेपालको बैतडीमा जन्मिएका प्रेम सिंहले आधारभूत तहको शिक्षा नेपालमै लिए । उनले उच्च तहको शिक्षा भारतको राजिस्थानबाट लिएका हुन् । सानैबाट क्रिकेटमा विशेष रुचि भएका उनी वास्तवमा खेलाडी बन्न चाहन्थे । क्रिकेटर बन्न संघर्ष गरिरहेको समयमा उनले पार्ट टाइम काम गर्न हुन्छ भन्ने सोचेर होटल मेनेजमेन्ट पढे । होटल मेनेजमेन्ट पढेर होटलमा काम सुरु गरेसँगै उनलाई यतै चाख बस्दै गयो र उनले क्रिकेटर बन्ने आफ्नो सपनालाई त्याग गरी मुख्य सेफ बन्ने सपनाको दौड सुरु गरे । उनी भन्छन्, ‘खेलबाट जीवन चल्दैन भन्ने लाग्यो र होटल लाइनमा छिरे । प्राइभेट काम गर्दा होटल लाइन सबैभन्दा राम्रो हो ।’ उनको सपनाको उतार चढावको कथा रोचक छ । उनको दिमागमा क्रिकेटरको सपना कहिले मास्टर सेफमा परिणत भयो उनी आफैं आश्चर्यमा छन् ।
सेफ सिंह आफ्नो बारेमा बताइरहेका थिए । एक परिवार उनलाई खोज्दै आयो । त्यो परिवार भारतको महाराष्ट्रबाट नेपाल घुम्न आएको टोली थियो । तिनीहरुमध्ये एक अधवैशे युवकले हिन्दीमा उनलाई धन्यवाद दिए । जसको नेपाली अनुवाद यस प्रकार रहेको छ, ‘हामीले परिवारै नेपाल घुम्न जाने योजना बनायौं । होटलको बारेमा हामीले हेर्दा हामीलाई होटल त राम्रै लाग्यो । तर, खाना कस्तो होला भन्ने हामीलाई लागेको थियो । त्यहाँ इन्डियन खाना मिल्ला कि नमिल्ला भन्ने चिन्ता थियो । तर, हामीलाई तपाईले हामीले रोजेकै महाराष्ट्रियन खाना खुवाउनु भयो । त्यो खानाको स्वादले हामीलाई आनन्द दियो । सोचेकै थिएनौं नेपालमा इन्डियन खाना इन्डियामा भन्दा मिठो पाइएला भनेर ।’
त्यो परिवारले सेफ सिंहको खुब प्रसंशा गर्दै टिप्स स्वरुप केही रकम हातमा राखिदिए । तर, इमान्दार सिंहले त्यो टिप्स लिन मानेनन् । बरु अर्को पटक पनि होटल मेची क्राउन आउन आग्रह गरे ।
१७ वर्ष अगाडि मुख्य सेफ बन्ने सपना लिएर होटल लाइन प्रवेश गरेका सिंह ३२ वर्षकै उमेरमा पाँच तारे होटलको मास्टर सेफ बन्न सफल भएका छन् । आज उनको मातहतमा करिव ४० जना पाक कलामा निपुर्ण भएका सेफहरुले काम गर्छन् । यद्दपि उनलाई आफैंलाई काम नगरी चित्त बुझ्दैन । उनले मेची क्राउनमा मुख्य सेफको जम्मेवारीमा होटलको सुरुवाती दिनबाटै काम गर्दै आएका हुन् ।
उनी पत्रकारकै अगाडि ग्राहकले गरेको प्रसंशाले हौसिदै केही दिन अगाडिको एक दृष्टान्त सुनाउँछन् । उनका अनुसार केही दिन अघि भारतको चण्डीगडबाट आएको एउटा टोलीले दाल मखनी र बटर चिकन खान इच्छा जाहेर गर्दछन् । पछि त्यो खाना खान पाउँदा उनीहरु हर्सित हुन्छन् र भन्छन्, ‘हामीलाई हाम्रो स्टेटमा छु जस्तै लाग्यो ।’ मास्टर सेफ सिंहसँग यस्ता कयौं किस्साहरु छन् । जहाँ उनलाई ग्राहकहरुले प्रशंसा र आशिवार्द दिएका छन् ।
उनी पछिल्लो महिना मात्रै भारतका विभिन्न तारे होटलबाट आफूलाई अफर आएको बताउँछन् । उनलाई पछिल्लो महिना मात्रै जयपुरको क्राउन प्लाजा, बैङ्गलुरको आईटीसी र उदयपुरको जेडव्लू मेरेटबाट अफर आएको थियो । तर, उनलाई मेची क्राउन छाडेर, नेपाल छाडेर कतै जानै मन नभएको बताउँछन् । उनी भन्छन्, ‘यो होटलको किचन नै मैले बनाएको हुँ । मलाई यहाँ घर जस्तै लाग्छ । फेरि मलाई होटलका मालिकहरुले पनि आफ्नै छोरा जस्तै गर्नुहुन्छ । यस्तो राम्रो वातावरण छाडेर अलिकती पैसाको लागि के बाहिर जानु ।’
उनीसँग भारतको विभिन्न तारे होटलहरुमा काम गरेको अनुभव छ । उनले होटल मेची क्राउन पूर्व आइटिसी, रमणा, जे.डब्लु मेरेट, मेरेट, द बाइक सुपर प्लाजा र ताज प्यालेसमा काम गरेका छन् । उनले यसअघि मुख्य सेफको भूमिकामा काम नगरे पनि सहायक सेफमा काम गर्दै धेरै मिहेनत गरेर काम गरेको कारण आज मुख्य सेफ बन्न सफल भएको बताए ।
प्रेम सिंह बुडाल खाना पकाउँदा मिहेनत र प्रेमले पकाउन् पर्छ भन्छन् । उनी दिलबाट खाना पकाउँदा कहिलै नमिठो नहुने ठान्छन् । उनी आफ्नो खानामा सकेसम्म घरमा आमाले पकाएको खानाको जस्तै स्वाद निकाल्न प्रयत्न गर्ने गरेको बताउँछन् । खाना बनाउदा धेरै मिहेनत गर्ने भएकै कारण भारतको विभिन्न सहरबाट मेची क्राउन इन्डियन खाना खानै ग्राहकहरु आउने गरेको उनको बुझाई छ । होटल मेची क्राउनको इन्डियन खाना नेपालमा साथै भारतको पश्चिम बङ्गाल र बिहार राज्यमा चर्चित रहेको सिंहले बताए । उनले प्रायः ग्राहकहरुले आफ्नो इन्डियन खानाको प्रशंसा गर्ने गरेको बताए । उनी भन्छन्, ‘म भारतको सबै स्टेटको खाना बनाउन सक्छु । ग्राहक आउने बित्तिकै आफै गएर गफ गर्छु कुन स्टेटबाट आएको हो भनेर पत्ता लगाउँछु र उसको चाहना अनुसारको खाना बनाउँछु ।
सिंह पैसा तिरेर खाना खान आउने ग्राहकलाई नराम्रो र नमिठो खाना खुवाउन नहुने बताउँछन् । उनी हाम्रो पूर्वीय दर्शनको कुरा गर्दै भन्छन्, ‘अतिथि दवो भवः, ग्राहकहरुलाई भगवानलाई जस्तै सत्कार गर्नुपर्छ र खुसी पारेर पठाउनु पर्छ ।’, उनी भन्छन्, ‘ग्राहककै कारण हाम्रो घर चलेको छ, उहाँहरुलाई खुसी बनाउनु हाम्रो धर्म हो । कसैलाई खुसी नबनाई पैसा लिए त्यसले सुख दिदैन ।’
होटल मेची क्राउन भौतिक सुखसयलमा जति सुविधायुक्त छ उति नै स्वादमा पनि । यहाँ इन्डियन, चाइनिज, एसियन र कन्टिनेन्टल खानाहरु पाइन्छ । यद्दपि, यहाँ धेरै भारतीय ग्राहकहरु आउने गरेका हुनाले यहाँको भारतीय खाना विशेष चर्चित छ ।
सिंह भारतमा पढेर त्यहाँको तारे होटलहरुमा पनि काम गरेर हाल नेपाल आएर काम गरिरहेका छन् । उनी यसरी आफ्नै देशमा बसेर काम गर्न पाएकोमा धेरै खुसी भएको बताउँछन् । उनी विदेशमा यहाँ भन्दा राम्रो कमाइ भए पनि आफूलाई जान मन नलागेको बताउँछन् । उनी आफ्नै देशको होटलमा काम गरेर आफ्नो जिविका चलिरहेको कारण विदेश जाने रहर नभएको बताउँछन् । उनी जुनै काम पनि मिहेनत गरेर गर्ने हो भने नेपालमै बसेर पनि जीवन निर्वाह गर्न सकिने बताउँछन् ।
सेफ सिंह झापाका सबै नागरिकहरुलाई होटलमा आउन आग्रह गर्छन् । उनी बाहिर भएको चर्चा अनुसार मेची क्राउनमा मँहगो नभएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो होटल अन्य स्टार होटलको तुलनामा सस्तो छ । यहाँ अरु तारे होटलमा जस्तो फर्मल नै भएर आउन पर्छ भन्ने छैन । यहाँ खाली खुट्टा पनि प्रवेश गर्न पाइन्छ ।’ उनले मेची क्राउन महंगो छ भन्ने कुरा भ्रम मात्र भएको दावी गरेका छन् ।
होटल मेची क्राउनमा कुनै पनि खाना ग्राहकसम्म पुग्नु अगाडि मुख्य सेफले त्यसको स्वाद परीक्षण गर्ने गरेका छन् । साथै खानालाई थप स्वादिष्ट बनाउने सम्बन्धमा हरेक दिन सबै सेफहरुसँग छलफल हुने गरेको सिंहले बताए ।
पछिल्लो समय प्रेम सिंहलाई झापाका विभिन्न होटल मेनेजमेनट पढाउने कलेजहरुले पनि बोलाएर विद्यार्थीहरुलाई मोटिभेसन गर्न लगाउने गरेका छन् ।