जेष्ठ २६, २०८२ आईतबार

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सय दिने उपलब्धि सार्वजनिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको १ सय दिनको उपलब्धी सार्वजनिक गर्नुभएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा १ सय दिन पुगेको विषेश अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले पुरा गरेका ६० काम सार्वजनिक गर्नुभएको हो ।

प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन प्रदेशले आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाहरुलाई समावेश गरेर सय दिनका उपलब्धि सार्वजनिक गरेको उहाँले बताउनु भयो । आगामी वर्ष २०८२ लाई प्रदेश पर्यटन वर्ष घोषणा गर्न गरिएको तयारी, प्रदेशका विभिन्न ठाउँमा ट्राफिक लाइट जडान गरेको विषयलाई उपलब्धीको रूपमा सार्बजनिक गरिएको छ । कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेश सरकारले संघीय संरचनाका अन्य निकाय भन्दा बढी प्रभावकारी रुपमा काम गरिरहेको भएपनि जनतामाझ यसको काम छैन भन्ने ढंगले मात्र प्रचार प्रसार भइरहेको भन्दै उहाँले उपलब्धिहरु सार्वजनिक गुर्न परेको बताउनुभयो । केही महिनापछि कोशी प्रदेशमा विगत सात वर्षमा भएका विकास र प्रगति पनि सार्वजनिक गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको एकसय दिने उपलब्धिमा तेह्रथुमको ओख्रे र सुनसरीको हरिपुरमा निर्माण भएको सडक उद्घाटन गरेको, कोशीलाई पूर्णखोप प्रदेश घोषणा गरेको र धनकुटाको भेडेटामा निर्माण भएको स्काईवाक उद्घाटन गरेर सञ्चालनमा ल्याएकोलगायत छन् । यसैगरी मुख्यमन्त्री कार्यालयमा प्रदेशबासीको गुनासो सुन्न हेल्लो सिएम कार्यक्रम सञ्चालनमा ल्याएको, विपदको सूचना दिन प्रदेश पोर्टल सञ्चालन गराएको, प्रदेशका पाँच पालिकामा उद्यमशिलता कार्यक्रम सञ्चालनमा ल्याएको र प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र खोल्न अध्ययन कार्यदल गठन गराएको पनि उपलब्धिमा राखिएको छ ।

यस्तै संखुवासभा र चीनसँग जोड्ने किमाथांङका नाका खुला गराएको, पहाडका ६ जिल्लामा भेटेरिनरी उपचार केन्द्र सञ्चालन गराएको र विपद्मा परेकाहरुलाई राहत तथा उद्धारमा सहयोग गरेको कुरा पनि उपलब्धिमा समावेश छन् । यस्तै पाथिभरा, हलेसी, बराहक्षेत्र धार्मिक क्षेत्र समिति अनि केचना कञ्चनजङ्गा पर्यटन समिति, संघीयता कार्यन्वयन र प्रदेश कानुन निर्माण कार्यदल गठन गराएको, चालु वर्षमै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी थालेकोलगायत उपब्धिहरु छन् । यस्तै प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरेर कार्यान्वयन थालेको पनि उहाँले बताउनु भयो ।

प्रकाशित मिति : श्रावण ३२, २०८१ शुक्रबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]