मेचीनगरकोे नगर आधारभूत अस्पताल सञ्चालनमा
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तिब्रता दिइरहेको छ ।
नगरको पन्द्र वटै वडामा यसअघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडाबासीलाई वडामा स्वास्थ्य सेवा पुर्याइरहेको नगरपालिकाले आजदेखि धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्तरबृद्धि गरी नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको छ ।
मेचीनगर– १० स्थित धुलाबारी मोडमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप बिशेषज्ञ डाक्टरसहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच सहज रूपमा पुर्याउने उदेश्यले नगरपालिका लागि रहेको बताउँदै उनले भने ४ जना एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन गरिएको उक्त अस्पतालबाट अब नगरका सबै नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने छन् ।
मानिसको स्वास्थ्य एकदमै संवेदनशील बिषय हो । समयमा उपचार नपाउँदा नागरिकको ज्यान तलमाथि हुन सक्ने भएको हुँदा नगरपालिकाले सबैको सहज पहुँचको लागि धुलाबारीमा बिशेषज्ञ डाक्टरहरूबाट इमर्जेन्सी सेवासहितको स्वास्थ्य सेवा सञ्चालन गरिएको उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाइ छ ।
यसअघि एक जना मेडिकल अधिकृत (एमबिबिएस) सहित प्रसुती सेवा, भिडियो एक्सरेलगायतका स्वास्थ्य सेवा प्रदान भइरहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सुविधासहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी बताउँछन् ।
नगर अस्पताल सञ्चालन हुनु नगरबासीको लागि एकदमै खुशिको कुरा हो । यसलाई सफल बनाउन नगरपालिकाका जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मी, कर्मचारी र आम नागरिक सबै आफ्नो तर्फबाट लाग्नुपर्ने बताए । साथै उनले अहिले सुरूवाती चरण भएकाले नगर अस्पतालमा सुविधा पर्याप्त नहुन सक्छ त्यसलाई क्रमश विस्तार गरिदै लैजाने बताए ।
नगर आधारभूत अस्पताल धुलाबारीमा अब ४ जना एमबिबिएस डाक्टरसहित इमर्जेन्सी सेवा, चौबीसै घण्टा प्रसुती सेवा, भिडियो एक्सरे सेवा, इसीजी सेवासँगै आफ्नै फार्मेसी सेवा समेत उपलब्ध हुने छ ।
विधिवत् रूपमा थप सेवा सुविधासहित सुरू भएको नगर आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, कार्यपालिका सदस्य रिता परियारलगायत स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको थियो ।