होटल हिकोलाको दशौँ वार्षिक उत्सवका अवसरमा अन्तरक्रिया
बिर्तामोड – झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेजले दशौँ वार्षिक उत्सवका अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । होटल परिसरमा सोमबार अन्तरक्रिया गरिएको हो ।
पर्यटन प्रवर्धनमा हिजो आज र भोलि विषयक अन्तरक्रियामा आन्तरिक तथा बाह्य पर्यटकले झेल्नुपरेका समस्या र चुनौति लगायतका विषयमा चर्चा परिचर्चा गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जता गए पनि हजुर कोशी रमाइलो भन्ने नाराका साथ आफूहरुले पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
‘पर्यटकीय क्षेत्र किटान गरेर पर्यटक आफैं आउने वातावरण बनाउनुपर्छ’, अन्तरक्रियामा खतिवडाले भने, ‘नयाँ नयाँ गन्तव्य बनाउन सकियो भने धेरै पर्यटक आकर्षित हुन्छन्।’
खतिवडाले आन्तरिक तथा बाह्य जे हुन्, अतिथिहरूको स्वागत र सत्कारमा होटल सञ्चालकले विशेष ध्यान दिनुपर्ने बताउँदै कुनै कमजोरी नहुनेतर्फ सचेत रहन आग्रह गरे ।
भद्रपुर विमानस्थल कार्यालयका प्रमुख किशोरकुमार खत्री नेपाल भित्रिएका पर्यटकलाई कम्तिमा पनि एकदिन झापामै रहने गरी व्यवस्थापन गर्न सके सरोकारवालाको आम्दामी पनि बढ्ने बताउँछन् ।
पर्यटकका लागि चाहिने सूचना केन्द्रको व्यवस्थापन हुनुपर्ने बताउँदै विमानस्थल प्रमुख खत्रीले राम्रा होटल र होमस्टेहरूको खाँचो रहेको औँल्याए । उनले नेपाल भित्रिने भारतीय पर्यटकलाई पनि विशेष महत्व दिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै होटल हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठले साहित्य, भाषा, कला र संस्कृतिले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने बताए ।
आफूले होटल स्थापना गरेयता निरन्तर आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत सत्कार गरिरहेको जनाउँदै सञ्चालक श्रेष्ठले व्यावसायिक क्षेत्रमा देखिएका कतिपय चुनौती र अप्ठ्यारालाई चिर्न राज्य संयन्त्रका तर्फबाट पर्याप्त सहयोग नपाएको गुनासो व्यक्त गरे ।
होटल हिकोला हेरिटेजका प्रबन्ध निर्देशक गौरव श्रेष्ठ आफ्ना कयौँ साथीहरू विदेशिदा समेत स्वदेशमै केही गर्नुपर्छ भन्ने ठानेर आफू होटल व्यवसायको क्षेत्रमा लागेको बताउँछन् । तर, राज्यका निकायबाट पर्याप्त सहयोग नपाउँदा कतिपय अवस्थामा निराश भएको अनुभव श्रेष्ठको छ ।
झापाको काँकडभिट्टामा होटल हिकोला हेरिटेजको शाखा खुले पनि त्यसबाट आफूले अपेक्षाकृत लाभ लिन नसकेको र विवाद देखाएर घरधनीले कब्जा गरेको श्रेष्ठको गुनासो छ । अन्तरक्रिया कार्यक्रममा पर्यटन विज्ञका रूपमा विनोदराज खनालले आफ्नो कार्यपत्र समेत प्रस्तुत गरेका छन् ।