चन्दा आतंक मच्चाउनेलाई कारबाहीको माग
बिर्तामोड । झापाको बिर्तामोडमा रहेका शैक्षिक संस्थाहरुमा विभिन्न राजनीतिक संगठनहरुले चन्दा आतंक मच्चाएपछि मावन अधिकार सञ्जालले आपत्ति जनाएको छ ।
चन्दाका लागि दलहरुको दबाबप्रति मानव अधिकार संजाल झापाले एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त कार्यमा संलग्नहरुलाई कारबाहीको माग गरेको छ । संजालका अध्यक्ष डा. रुपक खनाल र सचिव दिपक दासद्वारा हस्ताक्षरित विज्ञप्तिमा गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न नियामक निकायहरुको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
विभिन्न राजनीतिक संगठनहरुको चन्दा आतंकले बिर्तामोडका शैक्षिक संस्थाका संचालकहरु आतंकित भएको बताइएको छ । नेकपा माओवादी विप्लव लगायतका राजनीतिक संगठनहरुले बिर्तामोडका प्रायः सबै शैक्षिक संस्थाहरुलाई पत्र पठाएर बारम्बार दबाब दिँदै आएको विज्ञप्तिमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी , नेपाल कम्युनिष्ट पार्टी बहुमत , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाललगायतका संगठनहरुले चन्दाका लागि पत्र पठाएको शैक्षिक संस्थाहरुले जनाएका छन् ।
आर्थिक मन्दीका कारण शिक्षा क्षेत्र सञ्चालनको अवस्थामा समेत नरहेका बेला चन्दा आतंकले समस्या बनाएको भनाई छ । उक्त कार्यको विरोध गर्दै सञ्जालले कठिन परिस्थितिमा राजनीतिक दलले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेको छ ।