स्वमूल्यांकनमा झापाको कनकाई नगरपालिका प्रथम
गगन ढकाल
बिर्तामोड । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनअनुसार उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकासमेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ । जसअनुसार नगरपालिका तर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही) र रत्ननगर नगरपालिका (चितवन) क्रमशः प्रथम द्वितीय र तृतीय भई पुरस्कृत भए । यस्तै गाउँपलिका तर्फ धादिङको बेनिघाट गाउँपालिका प्रथम हुँदा समान अंक ल्याई गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका पुरस्कृत भए ।
स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६–०७७ बाट सुरु गरिएको भए पनि मन्त्रालयले पहिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको प्रवक्ता काली प्रसाद पराजुलीले जानकारी दिए ।
मन्त्रालयले १० वटा विधालाई १०-१० अंकमा बाढेर कूल १०० अंकमा गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको हो । मूल्यांकनका आधारमा झापाका १५ वटा पालिकाहरुमध्ये सर्वाधिक अंक ल्याएर कनकाई नगरपालिका जिल्ला प्रथम भएको छ । कनकाईले ८५ दशमलव ५० अंक ल्याएर जिल्लामा प्रथम भएको हो । यसैगरी ७७ अंक ल्याएर झापा गाउँपालिका जिल्लामा दोस्रो भएको छ ।
स्वमूल्यांकन प्रतिवेदन अनुसार दमक नगरपालिकाले ७६ दशमलव ५० अंक ल्याएर जिल्लामा तेस्रो स्थान हासिल गरेके छ भने चौथो भएको मेचीनगर नगरपालिकाले ७५ दशमलव ७५ अंक ल्याएको छ । यसैगरी बाह्रदशी गाउँपालिकाले ७३ दशमलव ७५ अंक ल्याएर जिल्लामा पाँचौ स्थानमा आएको छ भने छैटौ स्थानमा रहेको शिवसताक्षीले ७३ अंक ल्याएको छ ।
स्वमूल्यांकन प्रतिवेदनका अनुसार हल्दीबारी गाउँपालिका र भद्रपुर नगरपालिकाले बराबर ७२ दशमलव २५ अंक प्राप्त गरेका छन् । यसैगरी कमल गाउँपालिकाले ७१ दशमलव २५, गौरादह नगरपालिकाले ६४ दशमलव २५ र गौरिगञ्ज गाउँपालिकाले ६३ अंक प्राप्त गरेका छन् ।
प्रतिवेदनका अनुसार कचनकवल गाउँपालिकाले ६० दशमलव ७५ अंक प्राप्त गरेको छ भने अर्जुनधारा नगरपालिकाले ६० दशमलव २५ अंक प्राप्त गरेको छ । अर्जुनधारा नगरपालिका जिल्लाका कूल १५ पालिकाहरुको प्रतिस्पर्धामा १२ नम्बरमा परेको छ । यसैगरी बिर्तामोड नगरपालिका जिल्लाका नगरपालिकाहरु मध्ये सबैभन्दा पछाडि र सबै पालिकाहरु मध्ये अन्तिम दोस्रो नम्बरमा परेको छ । बिर्तामोड नगरपालिकाले ५९ दशमलव ५० अंक प्राप्त गरेको छ ।
प्रतिवेदनका अनुसार झापाको सबैभन्दा कम्ती अंक बुद्धशान्ति गाउँपालिकले प्राप्त गरेको छ । बुद्धशान्ति गाउँपालिले ४३ दशमलव ७५ अंक प्राप्त गरेको छ । जुन अंक जिल्लाका अन्य पालिकाहरुभन्दा निक्कै कम्ती हो ।
कुन विधामा कुन पालिका अब्बल ?
मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनम तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी कुल १० विधालाई आधारमानी गुणस्तर परीक्षण गरिएको हो । यि प्रत्येक विधालाई १० अंकमा परीक्षण गरिएको छ । १० वटा विधामा १०-१० अंक राखेर मन्त्रालयले कूल १०० अंकमा पालिकाहरुको कामहरुको मूल्यांकन गरेको थियो ।
स्वमूल्यांकन प्रतिवेदनका अनुसार झापामा शासकीय प्रबन्ध विधामा कनकाई नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र मेचीनगर नगरपालिका प्रत्येकले आठ–आठ अंक ल्याएका छन् । यसैगरी यि पालिकाहरुलाई पछ्याउँदै अर्जुनधारा नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले सात दशमलव ७५ अंक प्राप्त गरेका छन् । शासकीय प्रबन्ध विधामा बुद्धशान्ति गाउँपालिकाले सबैभन्दा कमजोर देखिएको छ । जसले छ दशमलव २५ अंक प्राप्त गरेको छ ।
यसैगरी संगठन तथा प्रशासन विधामा कनकाई नगरपालिका र बाह्रदशी गाउँपालिका दुवैले सात दशमलव ७५ अंक प्राप्त गरेर अग्रणी स्थान हासिल गरेको छ भने अंक ल्याएको बुद्धशान्तिले तीन दशमलव २५ अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन विधामा नौ अंक ल्याएर भद्रपुर सबै पालिकाहरु भन्दा अगाडि छ । यस विधामा सबैभन्दा कम्ती अंक प्राप्त गर्ने हल्दीबारी गाउँपालिकाले चार अंक प्राप्त गरेको छ । यसैगरी वित्तीय एवम् आर्थिक व्यवस्थापन विधामा जिल्लामा झापा गाउँपालिकाले ११ अंक प्राप्त गरेर प्रथम भएका छ भने झापालाई पछ्याउँदै कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिका दुवैले १० दशमलव २५ अंक प्राप्त गरेका छन् । यस विधामा सबैभन्दा कम्ती अंक प्राप्त गर्ने पाँच दशमलव पाँच अंक प्राप्त गरेको छ ।
यसैगरी न्यायिक कार्यसम्पादन विधामा अर्जुनधारा नगरपालिका र शिवसताक्षी नगरपालिका दुवैले छ दशमलव पाँच अंक प्राप्त गरेका छन् भने अरु सबै पालिकाहरुले सात–सात अंक प्राप्त गरेका छन् । यसरी नै भौतिक पूर्वाधार विधामा जिल्लामा कमल गाउँपालिका र गौरादह नगरपालिका दुवैले नौ दशमलव ७५ अंक प्राप्त गरेर उत्कृष्ट देखिएको छ । यस विधामा सबैभन्दा कम्ती अंक प्राप्त गर्ने हल्दीबारी गाउँपालिकाले एक अंक प्राप्त गरेको छ ।
यसैगरी सामाजिक समावेशीकरण विधामा कनकाई नगरपालिका, दमक नगरपालिका र भद्रपुर नगरपालिका तीनैले नौ–नौ अंक प्राप्त गरेर शिवसताक्षी उत्कृष्ट देखिएको छ भने यस विधामा जिल्लामा सबैभन्दा कम्ती अंक प्राप्त गरेको अर्जुनधारा नगरपालिकाले एक अंक प्राप्त गरेको छ ।
यस्तै वातावरण संरक्षण तथा विपद् व्यवस्थापन विधामा सात दशमलव ७५ अंक प्राप्त गरेर दमक नगरपालिका उत्कृष्ट देखिएको छ भने सबै भन्दा कम्ती अंक प्राप्त गर्ने बुद्धशान्ति गाउँपालिकाले शून्य दशमलव पाँच अंक प्राप्त गरेको छ । यसका साथै सहकार्य र समन्वय विधामा पाँच दशलव पाँच अंक ल्याएको अर्जुनधारा जिल्लाका पालिकाहरु मध्ये एक नम्बरमा रहेको छ । यस विधामा हल्दीबारी र बुद्धशान्ति गाउँपालिकाले शून्य–शून्य अंक प्राप्त गरेका छन् ।