दैनिक ५० केजी सुन आयात गर्न सुनचाँदी व्यवसायीको माग
झापा । नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक ५० केजी सुन आयात गर्ने माग राखेको छ । ब्यवसायीका लागि ३० किलो र उद्योग तथा ठुला करदाता एवं ब्यवसायीका लागि २० किलो सुन आयात गर्न सक्ने व्यवस्था गर्न राष्ट्र बैकसँग माग गरेको हो ।
बैंकले सुन आयात गरे पश्चात् सम्वन्धित महासंघको सिफारिसमा कम्तिमा ३० दिनभित्र बैंकबाट सुन उठाइसक्नु पर्ने, सो अवधि भित्र सुन नउठेमा ३१ औं दिन देखि महासंघसँगको समन्वयन्वयमा सिफारिस विना नै बैंकले सुन बिक्रि गर्न पाउने ब्यवस्था गर्न समेत महासंघले माग गरेको छ । दैनिक आयात हुने सुन बजारको माग र आवश्यकता हेरी कम्तिमा ६ महिना सम्ममा आयात गर्न पाउनु पर्ने महासंघका अध्यक्ष अर्जुन रसाइलीले केन्द्रिय बैकसँग आग्रह गरेका छन् ।
शुक्रबार महासंघको अध्यक्षको नेतृत्वमा गएको टोलीले केन्द्रिय बैकका बिदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाललाई भेटी यस्तो माग गरेको हो । हाल व्यवसायीले दैनिक २० किलो सुन आयत गर्न पाउने व्यवस्था भएको महासंघले जनाएको छ ।
भेटमा महासंघले ‘सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधी-२०६८’ तत्काल परिमार्जन गरी समसामयिक र ब्यवहारिक बनाउन आग्रह गरेको छ । साथै अध्यक्ष रसाइलीले १४ बुँदे ज्ञापनपत्र बुझाउँदै २०६८ सालमा जारी गरि हालसम्म लागु गरिँदै आएको ‘सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधी २०६८’ अब्यवहारिक भएको र यसको आम सुनचाँदी ब्यवसायीको समस्या सम्बोधन गर्न नसकको भन्दै ब्यवसायीका समग्र समस्या समाधानमा सहयोग पुग्ने गरी प्रभावकारी आचार संहिता जारी गर्न आग्रह गरेका छन् ।
भेटका क्रममा कार्यकारी निर्देशक नेपालले महासंघको तर्फवाट राखिएमा मागहरुलाई आफूले गंभिरतापूर्वक लिएको र मागको सम्बोधनका लागि आफूले शिघ्र पहल गर्ने आश्वासन दिए । उनले सरोकारवाला निकायहरुबीच आवश्यक परामर्श गरी ब्यवासयीका माग सम्बोधन गर्ने बताए ।
त्यस्तै महासंघले बजारको माग अनुसार सुनको आपूर्ति ब्यवस्था सुनिश्चित नहुँदा ब्यवसायीले धेरै समस्या बेहोर्नु परेको उल्लेख गर्दै अध्यक्ष रसाइलीले पर्याप्त मात्रामा सुनको आपूर्ति ब्यवस्था सुनिश्चित गर्न, सदस्य संख्या र पान नम्वरको आधारमा सुनको वितरण गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । साथै तोकिएका नाका नाकावाट १००, २०० र ५०० ग्रामका सुन उपलब्ध गराउन, एउटै बैंकको खातावाट जुनसुकै बैंकको सुन उठाउन मिल्ने ब्यवस्था मिलाउन र भन्सार दरमा एकरुपता आउने वातावरण बनाउनका लागि सहजिकरण गर्न आग्रह गरे ।