झापा अदालतको प्रमुख न्यायाधीश लुइँटेललाई स्वागत
भद्रपुर । झापा जिल्ला अदालतमा प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आउनुभएको छ । दुई वर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको सरूवा भएपछि उहाँ आउनुभएको हो ।
शुक्रवार एक कार्यक्रमका बीच प्रमुख न्यायाधीश लुइँटेललाई झापा जिल्ला अदालतमा स्वागत गरिएको छ । अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीको उपस्थिति रहेको थियो ।
अदालती काम–कारबाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न अदालतबाट प्रवाह गरिने सेवामा अझ सुधार गरी पारदर्शी, छिटोछरितो, सरल एवम् जनमैत्री सेवाप्रवाह गर्ने र अदालतप्रति जनताको जनविश्वास बढाउने अदालतको लक्ष्य रहेको प्रमुख न्यायाधीश लुइँटेलले बताउनुभयो ।
उहाँले अदालतको रणनीतिक योजना अनुसार झापा अदालतले समेत आफ्नो लक्ष्य र उद्देश्यसहित कार्ययोजना बनाई लागु गरेको हुँदा अब न्यायिक काम कारबाहीमा ढिलासुस्ती र पक्षपात हुने गरेको गुनासो आउन नदिने गरी काम गर्न अदालतका सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत दिनुभयो।
कार्यक्रममा न्यायाधीश तेजबहादुर खड्काले न्याय सम्पादनलाई अझ प्रभावकारी बनाउन कर्मचारी वर्गले उत्कृष्ठ नतिजामुखी काम गर्नु आवश्यक रहेको बताउनुभयो । मुद्दाको संख्या बढ्दै गएको, अदालतको पूर्वाधार र जनशक्ति अभावका भए पनि गुनासो नआउने गरी काम गरिने श्रेस्तेदार सिंहले बताउनुभयो ।
अदालतले चालू आवदेखि स्वचालित पेशी सञ्चालनमा ल्याइएको छ भने फरक मुद्दा व्यवस्थापन अनुसार मुद्दालाई वर्गीकरण गरिएको छ। झापा अदालतमा नौ जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल सात जना न्यायाधीश छन् भने सामान्यतयः २÷२ वर्षमा न्यायाधीशको सरुवा हुने गरेको र सरुवा भएर आउनु भएका अर्का न्यायाधीश महेन्द्रप्रसाद पोखरेल समेतलाई सोही कार्यक्रममा स्वागत गरिएको अदालत प्रशासनले जनाएको छ ।