जेष्ठ १२, २०८२ आईतबार

पच्चिस करोडको होल्डिङ सेन्टर प्रयोगविहीन

झापा । मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि कोरोनाकालमा निर्मित एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको छ ।


कोरोनाको दोस्रो लहरका बेला नेपाल सरकारले सातै प्रदेशमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा दुहागढीमा रु २५ करोडको लागतमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको थियो ।

चार बिघा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा समान डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शय्यामा अक्सिजन आपूर्ति गर्न सकिने पाइपलाइन समेत जडान गरिएको छ । त्यहाँ २२ वटा शौचालय, १५ वटा डाइनिङ हल, एउटा प्रशासनिक भवन र दुईवटा भान्सा घर निर्माण गरिएका छन् ।

हाल उक्त होल्डिङ सेन्टरको सुरक्षा र रेखदेख नेपाली सेनाको चारआलीस्थित अरिदम गणले गरिरहेको छ । यति धेरै संरचना निर्माण भएर प्रयोगविहीन रहँदै आएकोमा सर्वत्र चिन्ता व्यक्त हुँदै आएको छ ।

मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले करोडौँ लगनी गरेर बनाएको होल्डिङ सेन्टरलाई उपयोगविहीन नबनाउन सरकारसँग पटकपटक आग्रह गरेको बताए ।
‘यस्ता संरचनाहरु प्रयोग नगरी नाशिने अवस्थामा पुग्न दिनुहुँदैन’, नगरप्रमुख बुढाथोकीले भने, ‘यसको उपयोगका बारेमा धेरै कोणबाट सुझाव आएका छन् । लागू औषधको सुधारगृह बनाउनु पर्छ भन्ने विकल्पमा धेरैको सकारात्मक धारणा छ । जसरी हुन्छ यसको सदुपयोग हुन्छ ।’

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले झापा र मोरङमा रहेको होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको बताए ।

प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]