बैशाख १९, २०८२ शुक्रबार

विपन्न राजवंशी परिवारलाई राष्ट्रिय युवा संघ कचनकवलको घर उपहार

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले विपन्न राजवंशी परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । सोमवार कचनकवल गाउँपालिका-६ डम्बरगाछमा स्थानीय ७० वर्षीया वृद्धा भोटोसरी राजवंशीलाई घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले रिबन काटेर घरको साँचो राजवंशीलाई हस्तान्तरण गरेका हुन् । अस्वस्थ्य समेत रहेकी राजवंशीको लागि युवा संघले अगुवाई गरेर घर निर्माण गरेको हो ।

‘दुःखीको घर, युवाको भर’ भन्ने नाराका साथ राजवंशीको घर निर्माण गरिएको युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाले जानकारी दिए । उनका अनुसार राजवंशी परिवारको दयनीय अवस्था र विरामी वृद्धालाई ध्यानमा राख्दै घर निर्माण गरेर हस्तान्तरण गरेको हो । घर निर्माणमा विभिन्न दाताहरूको नगद र जिन्सी सहयोग गरेको उनको भनाई छ ।

राष्ट्रिय युवा संघले कचनकवलमा विपन्नका लागि घर निर्माण अभियानको थालनी मात्रै गरेको बताएका छन् । उनले सबै वडामा विपन्न परिवारको पहिचान गरेर घर निर्माणमा सहयोग गर्ने बताए । विधुत, खानेपानी समेतको व्यवस्था गरेर युवा संघले दुई कोठे घर हस्तान्तरण गरेको हो । अध्यक्ष ढुङगानाका अनुसार ६ लाख रुपैयाँ खर्च गरेर घर निर्माण गरिएको हो ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सचिव भण्डारीले कचनकवलमा युवाहरुले गरेको कामको प्रशंसा गरेका छन् । उनले युवाहरु आन्दोलनसँगै सिर्जनशिल र नागरिकको सेवक बन्नुपर्ने बताए । भण्डारीले राष्ट्रिय युवा संघ निर्माणमा पनि उत्तिकै सक्षम रुपमा प्रस्तुत भइरहेको बताएका छन् । भद्रपुर नगर कमिटीले यसअघि नै एउटा घर हस्तान्तरण गरिसकेको र थप दुई वटा घर निर्माण कार्य चलिरहेको उनको भनाई छ । युवाहरुलाई जनताको कामका लागि संगठनको तर्फबाट आवश्यक सहयोग गर्ने भण्डारीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँ, एमाले जिल्लाका उपसचिव असारु राजवंशी, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य खगेन्द्रराज आङ्दम्बेले युवाहरुको कामले प्रभावित बनाएको प्रतिक्रिया दिए । उनीहरुले युवाहरुलाई धन्यवाद दिदैं विपन्न जनताको सुख दुःखमा साथ दिन आग्रह पनि गरेका थिए ।

युवा संघ नेपाल झापा जिल्ला सचिवालय सदस्य उमेश मिश्र, कचनकवल–६ नम्बर वडा कमिटी अध्यक्ष श्याम घिमिरे लगायतले घर हस्तान्तरणमा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]