बैशाख २०, २०८२ शनिबार

शिवसताक्षीमा धुमधामका साथ मनाइयो दधिकाद पर्व

शिवसताक्षी । नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गनगाई, ताजपुरिया जातिले मंगलबार दधिकाद पर्व मनाएका छन् । धार्मिक एवम सांस्कृतिक रुपमा महत्त्वपूर्ण यो खेल पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाउँछन् ।

दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान श्रीकृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको सम्झनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।

यसै क्रममा झापा शिवसताक्षीलगायतको स्थानहरुमा आदिवासी समुदायले दधिकाद पर्व मनाएका छन् । शिवसताक्षी – ७ को चन्द्रडाँगीमा दधिकाद पर्व धुमधामका साथ मनाइएको छ । दधिकाद नरिवल खेल शिवसताक्षी ७ उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा कुभिण्डो, नरिवल, हण्डी फोर, म्युजिकल चियर र दौड प्रतियोगिताका खेलहरु सञ्चालन भएका छन् ।

कुभिण्डो खेलमा आदित्य शिवा, सानो नरिवल खेलमा सन्दिप पुरी, ५ वर्ष मुनीको दौड प्रतियोगितामा आरोस र मोनिका राजवंशी र ठूलो नरिवल खेलमा गौरव राजवंशी प्रथम भएको आयोजक समितिका अध्यक्ष चैतु राजवशीले जानकारी दिए । उनीहरुलाई आयोजकले पुरस्कृत समेत गरेको थियो ।

कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक इन्द्रमाया राजवशी, धनमाया अधिकारी, दुर्गा राजवशंी लगायत ५ जनालाई सम्मान गरिएको छ । उनीहरुलाई वडाध्यक्ष भवनी विक्रम चेम्जोङ्ग, वडा सदस्य सुरेस राजवंशीले दोसल्ला ओडाएर सम्मान गरेका थिए । त्यस्तै शिवसताक्षी वडा नं. ६ को ठग बस्तीमा पनि दधिकाद पर्व धुमधामका साथ मनाइएको थियो ।

प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]