असार १७, २०८२ मंगलबार

दानाको मुल्यवृद्धि र दुधमा विचौलियाको मनपरीले गाईपालन संकटमा

गगन ढकाल

झापा । झापा मेचीनगर–४ बाहुण्डाँगी निवासी घनश्याम खनाल बिगत १३ वर्षदेखि गाई पालिरहेका छन् । बाहुण्डाँगीका पुराना गाई पालक मध्येका एक खनाल हाल फर्म बन्द गर्ने स्थितिमा पुगेका छन् ।

लामो समय गाई पालेका घनश्याम हाल दुध बेचेर गाई पाल्ने स्थिति नरेहको कारण फर्म बन्द गर्नुपर्ने स्थितिमा पुगेको बताउँछन् । उनका अनुसार हाल दुधको मूल्य र दानाको मूल्य सरदर एउटै भएका कारण यो स्थिति आएको बताउँछन् ।
दुध बेचेर ऋण तिर्न पनि नसकिनेस्थिति रहेको अर्का गाई पालक किसान राजेश बास्कोटा बताउँछन् । उनी भन्छन्, ‘हामीले पहिले साढे तीन प्रतिशतमा लिएको ऋणको ब्याज बडेर नौ प्रतिशतसम्म पुग्यो । यो महंगो प्रतिशत दुध बेचेर थेग्न नसकेका कारण गाई फर्महरु बन्द हुने स्थितिमा पुगेको छ ।’

नेपालमा बैंकहरुले कृषि कर्जाका लागि पाँच वर्षको समयावधी निर्धारण गरेर ऋण दिने गरेका छन् । किसानहरु यो ऋण अवधि वैज्ञानिक नभएको बताउँछन् । गाईपालक खनाल कृषि कर्जामा समय बढाए मात्रै काम गर्न सहज हुने बताउँछन् । उनले यो विषयमा केही वर्ष अगाडि तत्कालीन अर्थमन्त्री, अर्थ सचिव र गर्भनरसँग पनि यो विषयमा छलफल भएको तर कार्यान्वयन नभएको गुनासो गरे ।

कुनैबेला बाहुण्डाँगीमा ठूलो घर र राम्रो गाडिमा कोही हिड्यो भने यसको गाई फर्म छ भन्ने हुन्थ्यो । तर हाल नियारो अनुहार लिएर हिड्ने मान्छेको पक्कै गाई फर्म छ भनेर अनुमान गर्न सक्ने स्थिति बनेको गाई पालक किसान राजेश बास्कोटा बताउँछन् ।

बास्कोटाको गाई फर्ममा कुनै बेला एक सयमाथि गाई थिए । हाल ८–१० वटा मात्रै गाई पालेर मन बहलाई रहेका बास्कोटा सकेसम्म चाडो फर्म बन्द गर्ने मुडमा छन् ।

फर्ममा पालिने होलिस्टेन जातका गाईहरुको बजार मूल्य डेढ लाखबाट सुरु भएर अढाई लाखसम्म पर्ने तर इन्स्युरेन्स ९० हजारको मात्र हुँदा पनि किसान मारमा परेका छन् । केही समय अगाडि महामारीको रुपमा देखिएको लम्पी स्किन नामक रोगका समयमा त झन् किसानले करोडौं गुमाएका छन् । घनश्याम खनालसँग मात्रै करीब ५० वटा गाई डिसेबल र १५ वटा गाई मरेको कथा छ । उक्त वर्ष उनले एकै वर्षमा एक करोडमाथि घाटा ब्यहोर्न प¥यो । राज्यले पनि रोग लागेर मरेका पशुका निम्ति इन्स्युरेन्स क्लेम नहुने नीति लिएको खनालले बताए । खनाल भन्छन्, ‘किसानलाई बचाउन राज्यले मजबुत र स्थिर नीति नलिएको कारण कृषिमा किसानहरु मारमा छन् । राज्यको नीतिको अभाव हुँदा बिचौलियाहरुको हालिमुहाली छ ।’

खनालले डेरी उद्योगहरुले किसानबाट लिएको दुधमा ठूलो मुनाफा राखेका कारण पनि गाई पाल्न मुस्किल भएको बताए । उनले डेरीहरुले राखेको मुनाफा कम गरेर पनि किसानलाई बचाउन सकिने बताए ।
जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका अनुसार जिल्लामा अहिले एक सय ३१ वटा गाई फार्महरु सञ्चालनमा रहेको छ । अधिकांश गाई फार्म सञ्चालकहरुले दानाको मुल्यवृद्धि र दुधमा विचौलियाको मनमरी मुल्यले गाई पाल्न अब गाह्रो हुने बताउँछन् ।

झापाको सबैभन्दा धेरै गाई फार्म भएको पालिकाको रुपमा मेचीनगर नगरपालिका रहेको छ । पशु सेवा विज्ञ केन्द्र झापाको तथ्यांक अनुसार मेचीनगरमा २५ वटा गाई फार्महरु सञ्चालनमा रहेको पाइन्छ । मेचीनगरको पनि वडा नम्बर ४ मा मात्र २२ वटा गाई फार्महरु रहेको तथ्यांक छ ।

झापा गाउँपालिका वडा नम्बर ४ मा रहेको ओमशान्ती गाईपालन फार्मका सञ्चालक प्रकाश थापा दुधको उचित मूल्य नपाएको कारण गाई पालनबाट विस्थापित हुने स्थितिमा पुगेको बताउँछन् । उनी भन्छन् ‘राज्यबाट हालसम्म केही सुविधा पाएको छैन । राज्यले सहुलियतमा ऋण उपलब्ध गराए पनि हुने थियो भन्ने लाग्छ ।’, उनी भन्छन् ‘पहिले धेरै गाई पालेर पेशा सुरु गरेको थिए । अहिले घाटा थेग्न नसकेर निरन्तर गाई घटाइरहेको छु ।’

कनकाई–२ मा प्रजानन्द पशुपालन केन्द सञ्चालन गरिरहेका ऋषिकेश मैनाली दुध बेचेर दाना कै खर्च धान्न मुस्किल भइरहेको बताउँछन् । उनी भन्छन् ‘दुधको मूल्य कम छ दानाको धेरै छ । गाई पालेर दुध बेचेर दानाको र अन्य विविध खर्च धान्नै मुस्किल हुन्छ ।’, उनी भन्छन् ‘कम्तिमा पनि २० वटा गाई हुने मेरो फार्ममा हाल ६ वटा मात्र गाई छन्, दानाको मूल्य यस्तै रहे त्यो पनि बेच्न पर्ने अवस्था आउँदै छ । सरकारले दानाको मूल्य वृद्धिमा मात्र नियन्त्रण गरे पनि धेरै राहत मिल्ने थियो ।’

यस्तै, दुग्ध किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य टंक सेढाईले किसानहरुलाई गाई पालन गर्न कठिन भएको बताएका छन् । उनी भन्छन् ‘किसानहरुले उचित मूल्य पाउँदैनन्, बिचौलिया र दुध सम्बन्धी उद्योग सञ्चालकहरुले मात्र आम्दानी गर्छन् ।’, उनी भन्छन् ‘राज्यले नश्ल सुधार कार्यक्रमको आयोजना गरेर वास्तविक किसानसम्म पुर्याए राम्रो हुने थियो । सुलभ व्याजको ऋणमा पनि वास्तविक किसानको पहँच हुनपर्यो ।’, उनी थप्छन् ‘किसानहरुलाई गाई पालन गर्न र उसको लगानीको संरक्षण गर्ने किसिमको आयोजना ल्याए हुने थियो ।’

यता, ऋतिका डेरीका सञ्चालक योगेन्द्र चिमरिया किसानहरुलाई दुधको गुणस्तर अनुसार मूल्य निर्धारण हुने बताउँछन् । उनी भन्छन् ‘दुधको मूल्य सरकारले वैज्ञानिक ढंगले निर्धारण गरेको छ तर दानाहरुको मूल्य भने व्यपारिहरुले निर्धारण गर्ने भएकाले हाल किसानहरु मारमा परिरहनु भएको छ ।’ दुधको मूल्य एक पटक वृद्धि हुँदा दानाको मूल्य चार पटक वृद्धि हुन्छ, सरकारले दुधको मूल्य आफैं निर्धारण गरे झैं दानाको मूल्य पनि आफैं निर्धारण गरे किसानलाई राहात मिल्ने उनको भनाई छ । यो विषयमा सरकारको ध्यानाकार्षण हुन जरुरी छ, उनले थपे ।
पछिल्लो समयमा झापामा दुधको उत्पादन र बिक्री सन्तुलित भएको डेरी सञ्चालक चिमरिया बताउँछन् । केही समय पहिले भारतबाट ठूलो मात्रामा दुध भित्रिएर यहाँका डेरीहरु मिल्क होलिडे मनाउन सम्म बाध्य भएको उनले बताए । सरकारले दुधको खरिद र बिक्री बीच ३३ को अन्तर राखे पनि कोशी प्रदेशका डेरी सञ्चालकहरुले २८ को मात्र अन्तर राखेर किसान बचाउन लागि गरेको चिमरियाले जिकिर गरे ।

दुधको संकलन, प्रोसेसिङ र बजार व्यवस्थापन लगायतको कामको लागि २८ को मुनाफा आवश्यक रहेको चिमरिया बताउँछन् । उनी भन्छन्, ‘मार्जिन नराख्दा हामी मर्छौ । राख्दा किसानलाई गाह्रो हुने स्थिति छ । साच्चै भन्दा नेपालमा अहिले किसान बचाउँदा उद्योग मर्ने र उद्योग बचाउँदा किसान मर्ने स्थिति छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका सूचना अधिकारी गणेश भट्टराई सरकारले विभिन्न कार्यक्रमहरु मार्फत किसानहरुलाई समेटिरहेको बताउँछन् । गाई कै लागि भनेर बजेट बिनियोजन नभए पनि विभिन्न युवा लक्षित कार्यक्रमहरु मार्फत किसानहरुलाई समेटिएको छ । उनले भने, किसानहरुलाई निशूल्क रुपमा प्राविधिक सेवा प्रदान गरिरहेका छौँ, गोठ सुधार तथा गाई खरिदमा अनुदानहरुको कार्यक्रम मार्फत सहयोग गरिरहेका छौँ ।’

प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]