करुणा फाउण्डेशनको प्रोजेक्टमा अपांगता भएका व्यक्तिहरु विभाजित
गगन ढकाल
बिर्तामोड । करुणा फाउण्डेशनको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुबीच चुलिएको विवाद अझै साम्य हुन सकिरहेको छैन । प्रदेश सरकार र स्थानीय सरकारको समेत लगानीमा सञ्चालनको तयारी भइरहेको कार्यक्रममा मतभेद कायमै छ ।
शुक्रबार बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाले आफ्नो कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनकै बीच विवाद सिर्जना भयो । उक्त संस्थाले करुणा फाउण्डेशनको कार्यक्रम कार्यान्वयन हुनुपर्ने भन्दै पत्रकार सम्मेलन गरेको हो । दुई साताअघि अपांगता भएका अन्य व्यक्तिहरुले करुणा फाउण्डेशनको कार्यक्रम खारेजीको माग राखेका थिए ।
कोशी प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको विषयलाई लिएर पछिल्लो समय अपाङ्गता भएका व्यक्तिहरुबीचमै विभाजन भइरहेको छ ।
बिर्तामोडको अतिथि सदनमा यस कार्यक्रमको खारेजीको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुले पत्रकार सम्मेलन गरेका थिए । उनीहरुले अपांगता भएका व्यक्तिहरुले नै उक्त कार्यक्रमले अपांगताको निमित्त काम गर्न नसक्ने प्रतिक्रिया दिएका थिए ।
उक्त सम्मेलनमा उनीहरुले करुणा फाउण्डेशनले सञ्चालन गरिरहेको कार्यक्रम अपांगता भएका व्यक्तिहरुको नाममा सपांगले फाइदा उठाउने आरोप लगाएका थिए । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममा कर्मचारी नियुक्तिदेखि नै अपांगता भएका व्यक्तिहरुमाथि अन्याय भएको दुखेसो पोखेका थिए । कर्मचारी नियुक्तिमा अपांगता भएका व्यक्तिहरुलाई अनिवार्य आरक्षण दिनुको बदलामा रोक्ने नियत देखिएको उनीहरुको आरोप थियो ।
अघिल्लो पत्रकार सम्मेलनमा उठाइएको विषयहरुको विरोध गर्दै आज बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाले पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा यो कार्यक्रम कुनै पनि बाहनामा खारेज हुन नहुने संस्थाका अध्यक्ष दीपक थापाले बताए । उनले भने, ‘कार्यक्रमको केही विषयहरुमा परिमार्जन आवश्यक छ । तर, कार्यक्रमको खारेजीले अपाङ्गता भएका मानिसहरुको हकहितको रक्षा हुन सक्दैन । यस कार्यक्रमले अपाङ्ग भएका व्यक्तिहरुको पर्सनल प्रोफाइल बनाउने भएकाले यो कार्यक्रम आवश्यक छ ।’
उनीहरुले जारी गरेको प्रेस नोटमा जिल्लामा सञ्चालनको क्रममा रहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम खारेजी हुनु नहुने स्पष्ट पारेका छन् । उक्त प्रेस नोटमा लेखिएको छ ‘विगत केही दिनदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यान्वयन गर्नका लागि फिल्डमा खटिने कर्मचारी सिविआरएफमा अपाङ्गता भएको व्यक्तिको समावेशीकरणको विषयलाई लिएर कार्यक्रमको दीर्घकालीन महत्व नबुझेका झापाका केही अपाङ्ता भएका व्यक्तिहरुले अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रम नै अनावश्यक भनी विषय उठाउन गरिएको हुँदा झापा जिल्लामा लामो समयबाट अपाङ्गता भएका व्यक्तिको अधिकार हकहित र पुनस्र्थापनाको क्षेत्रमा संगठित र संस्थाहरुमा कार्यरत हाम्रा संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’
पत्रकार सम्मेलनकै बीचमा समय मागेर आशिष काफ्लेले बोल्ने क्रममा विवाद उत्पन्न भएको हो । काफ्लेले वास्तवमा कार्यक्रमको विरोध नभएर समावेशितामा ध्यान नदिएको र अपाङ्गहरुलाई रोजगारीबाट बन्चित गरिएको विषयलाई उठाएको कुरा राख्दै गर्दा उनलाई आयोजकद्वारा बाहिर निस्किन भनिएको थियो । उनलाई आयोजकले बाहिर निस्कन लगाएपछि कार्यक्रममा चर्काचर्की भएको हो ।
पत्रकार सम्मेलनमा कार्यक्रमको खारेजी होइन, सिविआरएफ छनौट मार्गदर्शन संसोधन गर्नुपर्ने काफ्लेको भनाई थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष थापाले यस कार्यक्रमको विरोध गर्नेहरु स्वार्थमा रहेको आरोप लगाएका छन् । उनीहरुले प्रेस नोट मै उक्त कुरा उल्लेख गर्दै लेखेका छन्, ‘यो कार्यक्रम अपाङ्गता भएका व्यक्तिका लागि प्रभावकारी र फलदायी हुँदाहुँदै पनि यस कार्यक्रममा गरिएका नकरात्मक टिकाटिप्पणी र अनर्गल प्रचारले कार्यक्रमको विरोधको पछाडि कुनै न कुनै स्वार्थ बाझिएको देखिन्छ ।
एउटै कार्यक्रममा एकै समुदायबाट फरक–फरक ठाउँमा भइरहेको पत्रकार सम्मेलनले विभाजित गरेको स्पष्ट छ ।