फ्रुट एग्रो प्रोडक्टद्वारा किसानहरुको माग सुनवाई
इन्द्रकुमार राई
शनिश्चरे । अर्जुनधारा नगरपालिका –५ कञ्चनबारीस्थित फ्रुट एग्रो प्रोडक्ट प्रालिले कच्चापदार्थ उत्पादन गर्दा प्रयोगपछि निस्कासन गरिएको दूषित पानीलाई व्यवस्थित गरेको छ ।
आधुनिक डिप बोरिङ फिल्टर प्रविधिबाट शुद्धीकरण गरी फ्याक्ट्री परिसरभित्रै जमिन मुनी व्यवस्थापन गरिएको हो । फ्याक्ट्रीले कच्चापदार्थ उत्पादनमा पानी प्रयोग गरि सकेर पैनीमा निकास गर्दै आएको हुँदा विषादीयुक्त दूषित पानीलाई तत्काल व्यवस्थापन गर्नुपर्ने भन्दै यसअघि ५ नम्बर वडा कार्यालयको निर्देशन पत्रसहित स्थानीय कृषकहरुले माग राख्दै कम्पनीमा धर्ना दिएका थिए ।
कम्पनीले वडा कार्यालयको निर्देशन र किसानहरुको मागलाई ध्यानमा राखी पैनी तथा खोलामा नमिसाई २१ लाख रुपैयाँ लागतमा फ्रुटी क्याक्ट्रीभित्र नै वैज्ञानिक ढंगले पानी शुद्ध गरेर व्यवस्थापन गरिएको कम्पनीका इन्चार्ज नगेन्द्र प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार गाउँमा ढलको व्यवस्था नभएकोले फ्याक्ट्रीले प्रयोग गरिसकेको पानीले केही असर गर्दैन भनी पैनीमा निकास गर्दै आइरहेको तर कृषकहरूको खेतबालीमा मिसिएर असर पर्न गएकोमा हामी क्षमाप्रार्थी सहित दुःख प्रकट गर्दछौं । उनीहरूको माग हामीले सुनवाइ गरेकाछौ । बि.स.२०७४ सालमा स्थापना गरिएको कम्पनीले स्थानीय ८० जना पुरुष र ७० जना महिलालाई रोजगारी दिइरहेको छ ।