बिर्तामोडभित्र सवारी गति घटाइयोस्
सम्पादकीय
झापाको बिर्तामोड बजार क्षेत्र अति व्यस्त र अति अव्यवस्थित छ । पूर्वपश्चिम राजमार्गको बीच भागमा पर्ने बजार पूवी पहाडी जिल्लाहरुको लागि बेसि पनि हो । जसका कारण यहाँ सवारी चाप छ । शैक्षिक संस्था, ठुला बजार, अस्पताल, कृषि मण्डीहरु भएको बिर्तामोडमा सवारी आवतजावतको व्यवस्थापन फितलो छ । शनिवार साँझ एक जना ३० वर्षीया युवतीलाई बसले ठक्कर दियो । बजारको मध्य भागमा बसले ठक्कर दिँदा घाइते माई नगरपालिका ४ कि तुलसा पाँचकोटीको ज्यान नै गयो । शहरको बीच भागमा यात्रुबाहक बसले ठक्कर दिएको घटनालाई सामान्य मान्न हुदैन । यो बस चालकको हदैसम्मको लापरबाही हो ।
शहरी क्षेत्र होस या बजार क्षेत्रमा सवारी चलाउदा ध्यान दिनैपर्छ । विद्यालय, मन्दिर क्षेत्रमा पनि ख्याल गर्नैपर्छ । अर्थात, सवारी चलाउदा सबैतिर ध्यान दिनैपर्छ । अझ, संवेदनशिल क्षेत्रमा ख्याल गरेर कुदाउनुपर्छ । बिर्तामोडको बजार क्षेत्रमा सवार बसले ठक्कर दिनु भनेको हदैसम्मको लापबारही हो । लापरबाही गर्ने चालकले बजार क्षेत्रको ख्याल गरेका थिए भने यो दुर्घटना हुने थिएन । बजारमा सवारी चलाउदा बस व्यवसायीहरुको लापरबाहीकै कारण धेरैले ज्यान गुमाएका छन् । ज्यान लिने गरी सवारी चलाउनेहरुका कारण धेरैको परिवार विक्षिप्त छ ।
बिर्तामोड बिहानैदेखि व्यस्त हुन्छ । यहाँको अस्पताल, बजार, शैक्षिक संस्थाहरुको कारणले सवारी चाप धेरै नै हुन्छ । व्यवस्थापनको दायित्व ट्राफिक प्रहरीलाई छ । ट्राफिक प्रहरीले कम्तिमा बिर्तामोड प्रवेश गर्ने सवारी र बाहिरिने सवारीलाई सुरक्षित रुपमा पास गराउन सक्नुपर्छ । बिर्तामोड प्रवेश गरेपछि गति घटाउन अनिवार्य गर्नैपर्छ । बजारभित्र पनि तीब्र गति हुँदा दुर्घटना झेल्नु परेको अवस्था छ । अब ट्राफिक प्रहरीले मुक्ति चोकमा डोरी टाँगेपछि त्यसको असरले भीड हुने ठाउँमा पनि निगरानी गर्नैपर्छ । बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन लठिबद्र भएको छ । अब, चाडवाड पनि आइसक्यो । कम्तिमा चाडवाड लक्षित गरेर भए पनि आम नागरिकको सुरक्षाका लागि विशेष सतर्कता अपनाऔं । शनिवारको घटना र आगामी संभावित जोखिमलाई ख्याल गरेर ट्राफिक प्रहरीले बजार क्षेत्रको सुरक्षामा ख्याल गरोस् ।