‘नाङ्लो नबिक्ला भन्ने पीर छैन’
गगन ढकाल
झापा । घरमा कलङ्मलङ् आवाज बाटोबाटै सुन्न सकिन्छ । उत्साह भरिएको त्यो आवज मिठास भरिएका गफहरुको भन्ने पत्ता लगाउन कत्ति समय लागेन । त्यो काठको पुरानो शैलीमा बनेको टाँडे घरको केही नजिक पुग्दा अघि सुनिएको आवाजको उत्साह अझैं मजाले सुनियो । त्यहाँ देखिन्छ, केही महिला र पुरुषहरु आफ्नो हातलाई छिटो–छिटो चलाई रहेका छन् ।
उनीहरुका निम्ति अपरिचित यो पङ्तिकार घरमै पुग्दा पनि उनीहरुलाई खास वास्ता छैन । एक जना महिलाले घरको टाँडमा उत्रिएर बस्न आग्रह गर्दै कुर्सी दिन्छिन् । कामका मानिसहरु अघि झैं निरन्तर कामै छन् ।
रमाइलो माहोलका गफका किस्साहरुमा हाँस्दै उनीहरु काम गरिरहन्छन् । निक्कै धेरै पावरको चस्मा लगाएका एक अधवैशे लोग्ने मान्छे हातमा बाम्फोक बोकेर बाँसका भाटा तिखारिरहेको देखिए । ति लोग्ने मान्छे आफूले नाङ्लोको बिटका रुपमा प्रयोग हुने कुडलो तिखारेको बताउँछन् ।
त्यहाँ उपस्थित सबै जना नाङ्लो बनाउने कामको लागि आएका रहेका छन् । उनीहरुमध्येका एक नाङ्गो जिउ भएका गहुँगोरो वर्णको लोग्ने मान्छे हातमा बीड नभएको सानो सिक्कल जस्तो हतियार बोकेर चित्रामा कुडलो लगाउने काम गरिहेका छन् । यसैगरी थप एक पुरुष र तीन महिला बलियो डोरीले नाङ्लो बाधिरहेका छन् ।
पावरवाला चस्मा लगाउने अधवैशेले भने ‘बसिबियालो गरेको सर । गर्मी छ सित्तल ताप्दै काम गरेको नि ।’
ति चस्मावाल यस नाङ्लो बनाउने घरेलु उद्योगका सञ्चालक रहेछन् । उनको नाम नेत्र बहादुर पुलामी मगर । नेत्रलाई आफूले कहिले नाङ्लो बनाउने सीप सिके भन्ने थाहा रहेनछ । उनी भन्छन्, ‘पहिले बुबा पनि यहीँ काम गर्नु हुन्थ्यो । बुबालाई काम सघाउँदा सघाउँदै काम सिके ।’,
४० वर्ष उमेर पुगेका नेत्र आफूले जान्दा देखि नै यो पेशामा छन् । हाल उनी प्रत्येक १५ दिनमा एक सय वटा नाङ्लो उत्पादन गर्छन् । नाङ्लो उत्पादन गर्न कठिन भएको छ । तर, बजारलाई समस्या नभएको उनको अनुभव छ । उनी भन्छन्, ‘मेरो स्थाई बजार छैन । म बिर्तामोड, धुलाबारी जहाँ पनि बेच्छु । नाङ्लो सजिलै बिक्रि हुन्छ । बिक्रि नहोला की भन्ने पीरै छैन । बरु उत्पादन गर्न चाहिँ गाह्रो मिहेनत अनुसारको दाम दिनै मुस्किल पर्छ ।’
नेत्र नाङ्लो बनाउने उद्योग काम गर्न सजिलो तर निक्कै मेहेनतको काम भएको बताउँछन् । उनी भन्छन्, ‘सबै भाटा र चोया एकदमै नापमा काटेर काम गर्नुपर्छ । फिनिसिङ् दिएन भने बिक्री हुँदैन । मेहेनतको काम हो । तर, आम्दानी खासै छैन । त्यही दालभात मात्र हो ।’
नेत्रले एक छोरा र छोरी दुवैलाई यही सीपको बलमा पढाएका छन् । उनका छोरा एक वर्ष अगाडि कक्षा १२ उत्तिर्ण गरेर वैदेशिक रोजगारीमा गएका छन् भने छोरी धुलाबारी स्थित धुलाबारी माविमा कक्षा ११ पढिरहेकी छिन् ।
नेत्रले कहिलेकाँही बिरक्तिएर अन्य पेशा रोज्न नखोजेका हैनन् । तर, अन्य पेशाले खासै राम्रो नभएको उनको अनुभव छ । उनी भन्छन्, ‘कति बाँस खिपेर बस्ने भनेर विदेश गए त्याँ पनि राम्रो कम्पनी परेन । केही समय अगाडि कुखुरा फर्म पनि खोले त्यसले त उल्टो ५० हजार ऋण लगायो । बरु यही पुर्खाको पेशाले टिकाइरहेको छ ।’
नाङ्लो बनाउनका लागि नेत्रले तेलपानी तथा इलामका तल्लो भागहरुबाट एक पटकमा २५ घनाका दरले बाँस ल्याउने गरेका छन् । उनले पहिले काम गर्दा २५ रुपैयाँ घना भएको बाँसको दाम अहिले सयमाथि पुगेको उनी बताउँछन् । पहिले–पहिले काँधमा बाँस बोकेर ल्याउँदा निक्कै दुःख भोगेको अनुभव भएको नेत्र हाल ट्याक्टरमा बाँस ल्याउँछन् ।
उनीहरु बाँस ल्याएर पानीमा डुबाएर राख्दा रहेछन् । बाँस नसुकोस भनेर पानीमा डुबाएको नेत्रले बताए । उनीहरुले १० दिनमा पाँच घना बाँसको नाङ्लो बनाउने गरेका छन् । नेत्रका अनुसार पाँच घना बाँसको ५० देखि ६० वटासम्म नाङ्लो बन्दछ ।
दैनिक ज्यालादारीमा नेत्रले आफ्नो नाङ्लो कारखानामा सात जनालाई रोजगार दिएका छन् । नेत्र नाङ्लोको दाम सामान हेरी फरक हुने बताउँछन् । उनी भन्छन्, ‘मेहेनत र प्रयोग गरिएको बाँसको गुणस्तर अनुसार बाँसको मुल्य १५० देखि ५०० सम्म हुन्छ ।’
कसरी बन्छ नाङ्लो ?
बाँस ल्याएपछि उनीहरु सर्वप्रथम बाँसलाई आवश्यक नापको आधारका टुक्राउछन् । साथै मसिना कप्टेरा बनाउँछन् । कप्टेराबाट चोया झिकी उनीहरु नाङ्लो बनाउने प्रक्रिया स्वरुप थलीया बनाउँछन् ।
थलीयालाई उनीहरु भट्टीमा धुवाँ लगाउँछन् । त्यसले नाङ्लोको बीच भाग मजबुत बन्दछ । त्यस भागमा धुलियाँ लाग्दैन ।
धुवा लगाएको थलीयालाई उनीहरु छेउ लगाउँछन् र क्रमिक रुपमा निमार्ण हुन्छ नाङ्लोको चित्रा । दरोगरी बनेको चित्रालाई कुडलोमा चेप्ने काम हुन्छ । त्यसपछि उनीहरु नाङ्लो बान्दछन् । यति प्रक्रिया सकेपछि सुन्दर र मजबुत नाङ्लो बजार जानका निम्त तयार हुन्छ ।