बिर्तामोडले गर्यो एकैदिन ६ वटा बाटोको शिलान्यास
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आज एकैदिन ६ वटा बाटोको शिलान्यास गरेको छ । एक सामुदायिक भवनसहित ७ वटा योजनाको एकसाथ शिलान्यास गरिएको हो ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले एक कार्यक्रमकाबीच उक्त ७ वटा योजनाको एक साथ शिलान्यास गरेका हुन् । देशभरका १३ जना महिला मेयरका लागि सरकारले विनियोजन गरेको जनही १३ करोड रुपैयाँबाट उक्त योजना निर्माण गर्न लागिएको हो । महिला मेयरलाई विकास निर्माणमा प्रोत्साहित गर्न उपलब्ध गराइएको बजेट पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालय मार्फत पठाइएको छ ।
महिला मेयर प्रोत्साहन अन्तर्गत प्राप्त बजेटलाई नगर प्रमुख प्रसाईले सडक पूर्वाधार निर्माणमा खर्च गर्ने निर्णय बमोजिम ठेक्का लगाएर काम सुरु गरेको बताइन् । ६ वटा कालोपत्रे सडक र सामुदायिक भवन निर्माण गर्न शान्ति उद्देश्य निर्माण सेवाले ठेक्का पाएको छ ।
६ वटा बाटोमा एभरेष्ट स्कुल हुँदै हरिहर आश्रमदेखि मियावारी बिर्ताबजारसम्म १२४० मिटर, करेलावारी माधव न्यौपानेको घर हुँदै वडा नं १० को विराट आधारभूत स्कुल जोड्ने सडक १३०० मिटर , पूर्वपश्चिम राजमार्ग उत्तर अतिथि सदन हुँदै मनकुमार गौतमको घर अर्जुनधारा नगरपालिकाको सिमाना जोड्ने सडक ९०० मिटर , सांगवेद खादोसरी मार्ग हुँदै पूर्व गौरव पेट्रोलपम्पबाट दक्षिण बानालाल मार्गसम्म ९४० मिटर, गरामनी त्रिवेणी चौकबाट कटहरवारी हुँदै हल्दिवारीसम्म १२३७ मिटर ,पंचकन्या धर्मकाँटा उत्तर सिर्जना इन्दिरा खवासको घर हुँदै अर्जुनधारासम्म १२०० मिटर कालोपत्रे बाटो निर्माण हुने बताइएको छ । सामुदायिक भवन तर्फ हरियाली सामुदायिक वन पार्कभित्र निर्माण हुने जनाइएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै बिर्तामोड नगर प्रमुख प्रसाईले निर्माण व्यवसायीलाई गुणस्तर पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरिन् । उनले बिर्तामोडमा काम गर्दा विशेष ध्यान दिन आग्रह गरेकी हुन् । जिल्लाका अन्य पालिकाहरुभन्दा विकासमा अगाडि रहेको बताउँदै उनले अन्य सडकहरु पनि बजेट र प्राथमिकताका आधारमा निर्माण गर्दै जनो बताइन् ।
नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बिर्तामोडमा काम नभएको भन्दै भ्रम फैल्याउने काम भइरहेको बताए । उनले काम भए नभएको बुझ्न नगरमै आउन समेत आग्रह गरेका छन् । जनताको आश्यकता र बजेटको सुनिश्चितता भएसम्म काम गरिरहेको उनको भनाई थियो ।
यस्तै, नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले विकासमा कुनै राजनीतिक दलहरुले अवरोध गर्न नहुने बताएका छन् । दलहरुले विकासमैत्री वातावरण निर्माण गरेर जानुपर्ने बताए । उक्त योजनाहरु सम्झौताको क्रममा रोक्नका लागि स्थानीय दलका अगुवाहरु लागेको स्मरण गराउदै विकासमा सहयात्रा गर्न सूझाव दिएका छन् । अध्यक्ष भट्टराईले निर्माण व्यवसायीलाई गुणस्तर निर्माण र समयमै सक्न ध्यानाकर्षण गराएका छन् ।
शिल्यान्यासमा शान्ति उद्धेश्य निर्माण सेवाका सञ्चालक नयन बरालले उक्त योजनाहरु बजेटमा कुनै कठिनाई नभए समय अगावै काम सक्ने प्रतिवद्धता जनाएका छन् । गुणस्तरीय काम गर्ने प्रतिबद्वता जनाउदै उनले सहयोगका लागि अपील समेत गरेका छन् ।
शहरी विकास कार्यालयका इन्जिनियर सुरेशकुमार चौधरीका अनुसार भ्याटबाहेक ६ करोड ३१ लाखको लागतमा शान्ति उद्धेश्यले ठेक्का लिएको छ । ३५ प्रतिशत बिलोमा ठेक्का लिएका छन् ।
बिर्तामोड नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन घनश्याम भण्डारीले गरेका थिए ।