बैशाख २४, २०८२ बुधबार

स्वरोजगारको रकम नबुझाउने सहकारीलाई कारबाही गर

सम्पादकीय

केही वर्षदेखि सहकारी क्षेत्र समस्यामा छ । कतिपय सहकारीहरु आफ्नै कारणले समस्यामा छन् भने कतिपय सहकारीहरु परिस्थितिजन्य समस्याले समस्या झेलिरहेका छन् । अहिले सहकारी र सदस्यहरुबीच राम्रो व्यवहार भइरहेको सुन्न अपवादमा मात्र पाइन्छ । अधिकांश बचतकर्ताहरुले बचत फिर्ता नपाएको जस्ता समस्याहरु राखिरहेका छन् । सहकारीहरु पनि कर्जा उठाउन नसकेको प्रतिक्रिया दिदैं आएका छन् । सहकारी र बचतकर्ताबीचको समस्या एकातिर छ भने अर्कातिर सहकारीले युवा स्वरोजगार कोषको रकम फिर्ता नगरेको विषय बाहिर आएको छ । झापाको आठ वटा सहकारीले कोषलाई बुझाउनुपर्ने रकम बुझाइरहेका छैनन् ।

०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको थियो । कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकासमार्फत् परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको थियो । तर, उद्देश्य बमोजिम कोषले काम गर्न सकेन । जहाँ राजनीतिक दबाब हुन्छ, त्यहाँ परिणाम पनि सकारात्मक पाउन कठिन हुन्छ । त्यसै कारण परिणाम अपेक्षाकृत प्राप्त हुन सकेन । सँगै, सहकारीहरुले पनि इमान्दारिता देखाउन सकेनन् ।

सहकारीको माध्यमबाट कोषले लगानी गरेको हो । कोषको लगानी कर्जा लिनेहरुले बुझाए पनि सहकारीहरुले फिर्ता नगर्नु दुखद् हो । राज्यको लगानीमा सहकारीहरुले इमान्दारिता देखाउनुको बदलामा बद्मासी गरेका छन् । झापाको लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था, पहिलो पाइला बहुउद्देश्य सहकारी संस्था, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था, बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था, पूर्वाद्र्ध कृषि सहकारी संस्था,संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था, त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्था र लक्ष्मीपुर कृषि सहकारी संस्थाले कोषको रकम बुझाएका छैनन् । आठ वटा सहकारीले चार करोड २८ लाख तीन हजार नौ सय ३६ रुपैयाँ ४४ पैसा रकम तिरेका छैनन् । कोषको लगानी नबुझाउने सहकारीलाई तत्काल कारबाही गरियोस् ।

प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार  ४ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]