विषादीदर उच्च भएको काँचो केरा क्वारेन्टाइनमा राखियो
बिर्तामोड । इलाम दानाबारीबाट विक्रीका लागि बिर्तामोड ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको पुष्टि भएपछि क्वारेन्टाइमा राखिएको छ । एक हप्तासम्म क्वारेन्टाइमा राख्ने र त्यसपछि परीक्षण गरेर मात्रै उपभोग गर्न मिल्ने नमिल्ने थाहा हुने बताइएको छ ।
विषादीको मात्रा उच्च भएको पुष्टि भएपछि उक्त काँचो केरा विक्रीका लागि प्रतिवन्ध गरिएको थियो ।
आज विहान विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरा उपभोग अयोग्य फेला परेको थियो । विषादीको मात्रा उच्च भएपछि नष्ट गर्ने तयारी गरिएको थियो, विषादी जाँचकर्ता एक प्राविधिकले भने, एक हप्ता क्वारेन्टाइन राखेर विषादी विश्लेषण गर्ने निर्णय भएपछि नष्ट गरिएन ।
दानाबारीका कमल मगरले ल्याएको काँचो केरामा कार्वामेट ५३.१११० र अर्गानो फस्फेट ३२.४४२० प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।
प्रयोगशालाका अनुसार ४५ प्रतिशतभन्दामाथि विषादी भेटिए नष्ट गर्नुपर्ने हुन्छ । मगरकै ३० घरी काँचो केरा भने उपभोगका लागि पर्खनुपर्ने भनिएको छ । पर्खनुपर्ने काँचो केरामा कार्वामेट ४४.७६ प्रतिशत र अर्गानो फस्फेट २७.६७ प्रतिशत भेटिएको बताइएको छ ।