बैशाख २३, २०८२ मंगलबार

अर्जुनधारामा फुड पोइजनले विरामी बढे, पुजाको सबै खाद्य वस्तु भारतबाट आयात

बिर्तामोड । झापाको अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेको संख्या बढेर गएको छ । विरामीहरुलाई उपचारका लागि शनिश्चरे अस्पतालमा राखिएको छ भने केही बिरामीलाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उपचारमा संलग्न चिकित्सहरुले फुड पोइजन भएको प्रतिक्रिया दिएका छन् ।

विरामीहरुले गत मङ्गलबार अर्जुनधारा–९ स्थित रिता निरौलाको घरमा पूजाको प्रसाद खाएका थिए । पुजा लगाउने निरौला परिवार पनि विरामी भई अस्पताल भर्ना भएका छन् । पुजामा प्रयोग गरिएको अधिकांश खाद्य सामग्री भारतीय बजारबाट खरिद गरेर ल्याएको बुझिएको छ ।

बुधबार डिस्चार्ज भएका ५२ जनामध्ये ४९ जना आज विहान पुनः भर्ना भएका छन् । विरामीको संख्या बढ्दै गएको बताइएको छ ।

हालसम्म ७२ जना विरामी भर्ना भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए । विरामी आउने क्रम जारी रहेको छ । ६ देखि ७७ वर्ष सम्मका बिरामी रहेको उनको भनाई छ ।

बिरामीहरुमा १०४ डिग्रीसम्म ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने समस्या देखिएको छ । बिरामीलाई जटिलता आउने सम्भावना हुने भएकाले १५–२० जनालाई मेची प्रादेशिक अस्पताल रेफर गर्ने तयारी भइरहेको चिमरियाले बताए । उनका अनुसार बिरामीलाई जटिलता आए अन्यत्र लैजान ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।
विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा नगर प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी पुगेका छन् ।

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार  २ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]