बैशाख २३, २०८२ मंगलबार

अर्जुनधाराका १० जना विरामीमा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला

प्रदीप परियार

बिर्तामोड । झापाको अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेहरुमध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले आज गरेको दिसा परीक्षणबाट किटाणु फेला परेको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए ।

यस्तै, थप १५ जना विरामीको दिसाकोे कल्चर जाँच गर्न मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको चिमरियाको भनाई छ । उनका अनुसार इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु काँचो कचिलो खानेकुरा र पानीको कारण देखापर्ने गरेको छ ।

विरामीहरु अर्जुनधारा ९ स्थित रिता निरौलाको घरमा पुजाको प्रसाद खाएपछि विरामी भएका थिए । दिउँसो १२ बजे खानेहरुलाई खासै समस्या नभएको र २ बजेपछि प्रसाद खानेहरु ९९ प्रतिशत विरामी भएको बताइएको छ । पुजामा प्रसाद खाएकै कारण विरामी पर्नेहरु आज ७३ जना शनिश्चरे अस्पतालमा भर्ना गरिएको थियो । त्यसमध्ये ३८ जनालाई मेची प्रादेशिक अस्पताल रेफर गरिएको छ । उपचार पश्चात बुधबार ५१ जना घर फर्किएका थिए । त्यसमध्ये ४८ जना बिहीवार पनि पुनःअस्पताल भर्ना भए ।

विरामीहरुलाई २४ घण्टासम्म उपचार नगरी फिर्ता पठाउन नमिल्ने अस्पतालले जनाएको छ ।
बिरामीहरुमा १०४ डिग्रीसम्म ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने समस्या देखिएको छ । विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा नगर प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्यको टोली अस्पताल पुगेको थियो ।

शनिश्चरे अस्पतालले ५० जनाभन्दा बढि स्वास्थ्यकर्मी परिचालन गरेर विरामीहरुको उपचार गरिरहेको छ । स्वास्थ्य जनशक्ति अभाव भएपछि सबै वडाबाट बोलाइएको थियो ।

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]